Hamro Koshi Aawaj

आइतबार, असोज ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

इटहरीमा सीप तथा रोजगार मेला हुने

हाम्रो कोशी आवाज
असोज ८ २०८३, बिहिबार
इटहरीमा सीप तथा रोजगार मेला हुने

धरानः युवालाई सीप सिकाएर रोजगारीसँग जोड्ने उद्देश्यले इटहरीमा ‘सीप तथा रोजगार मेला, २०८३’ आयोजना हुने भएको छ।
युवा, श्रम तथा रोजगार मन्त्रालयले कोशी प्रदेशमा पहिलोपटक इटहरीमा असोज १४ देखि २० गतेसम्म मेला सञ्चालन गर्न लागेको हो। मेलामा रोजगारदाता र रोजगारी खोजिरहेका युवालाई एउटै मञ्चमा ल्याएर सीप, रोजगारी र श्रम बजारको मागबीच सम्बन्ध जोड्ने तयारी गरिएको छ।
मेलाको तयारीका विषयमा बिहीबार इटहरीस्थित सोल्टी वेस्टेन्ड होटलमा स्थानीय तहका प्रमुख तथा अध्यक्ष, उद्योगी, व्यवसायी र सरोकारवालासँग छलफल तथा अन्तरक्रिया गरिएको थियो। कार्यक्रममा मेलाको उद्देश्य, सञ्चालन हुने सीप तालिम, रोजगारदाताको सहभागिता तथा सहभागीलाई रोजगारीमा जोड्ने प्रक्रियाबारे छलफल भएको थियो।
मन्त्रालयका उपसचिव होमनाथ पराजुलीले रोजगारदाताले कामदार नभेट्ने र कामदारले रोजगारदाता नभेट्ने अवस्थाको अन्त्य गर्दै दुवै पक्षलाई एउटै मञ्चमा ल्याउने उद्देश्यले मेला आयोजना गर्न लागिएको बताए।
‘सीप र रोजगारी साझा जिम्मेवारी’ भन्ने नारासहित आयोजना हुने मेलामार्फत स्थानीयस्तरमै सीपमूलक तालिम प्रदान गरी युवालाई रोजगारीसँग जोड्ने र श्रम बजारको मागअनुसार दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य राखिएको उनले बताए।
मेलामा उद्यमशीलता विकास तथा व्यावसायिक योजनाअन्तर्गत वृत्ति तथा वित्तीय परामर्श, डिजिटल साक्षरता, संस्था दर्ता तथा सञ्चालन र बायोडाटा निर्माणसम्बन्धी सीप सिकाइनेछ।
त्यस्तै आधारभूत लेखा, एक्सेल तथा ट्याली, एआई तथा डिजिटल मार्केटिङ, आतिथ्य सत्कार तथा ग्राहक सेवा, मेकअप तथा नेल आर्ट, कुक तथा वेटर, बारिस्टा र अचार बनाउनेलगायतका तालिम सञ्चालन गरिनेछ।
मेलामा सिटी सफारीका विद्युतीय सवारीसाधन (ईभी) मर्मत तथा एयर कन्डिसन (एसी) मर्मतसम्बन्धी प्राविधिक तालिमसमेत सञ्चालन गरिने उपसचिव पराजुलीले जानकारी दिए। ईभी मर्मततर्फ ब्याट्री, मोटर, कन्ट्रोलर डायग्नोसिस तथा ब्रेक प्रणाली र एसी मर्मततर्फ ग्यास चुहावट, प्रेसर परीक्षण तथा विद्युतीय प्रणालीसम्बन्धी सीप प्रदान गरिनेछ।
दीर्घकालीन तालिम आवश्यक पर्ने सहभागीलाई व्यावसायिक प्रशिक्षण केन्द्र, इटहरी तथा सम्बन्धित स्थानीय तहसँग समन्वय गरी अप्रेन्टिससिप मोडलमार्फत रोजगारीमा जोड्ने तयारी गरिएको पराजुलीले बताए।
मन्त्रालयका सचिव डा. दीपक काफ्लेले श्रम बजारको माग, सीप तालिम र रोजगारीलाई एउटै प्रणालीमा जोडेर आवश्यकताका आधारमा तालिम सञ्चालन गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको बताए।
मेलामा उद्योग, सेवा, कृषि, निर्माणलगायत १० विधाका ६५ वटा स्टल रहनेछन्। कोशी प्रदेशका १३७ वटै स्थानीय तह, निजी क्षेत्र, तीनै तहका सरकार तथा विकास साझेदारको सहभागिता र सहकार्य रहने सचिव काफ्लेले जानकारी दिए।

प्रकाशित मिति: असोज ८ २०८३, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend