Hamro Koshi Aawaj

आइतबार, असोज ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

एमालेमा विद्यादेवीको ‘कमब्याक’ !

हाम्रो कोशी आवाज
असोज ९ २०८३, शुक्रबार
एमालेमा विद्यादेवीको ‘कमब्याक’ !

धरानः नेकपा एमालेमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिक ‘कमब्याक’ भएको छ। लामो समय सदस्यता नवीकरणको विषयमा रोकिएको उनको राजनीतिक यात्रा अब पार्टीको वरिष्ठ नेताको भूमिकातर्फ अघि बढेको हाे ।
एमालेको सचिवालय बैठकले भण्डारीलाई पार्टीको वरिष्ठ नेता बनाउने प्रस्ताव अघि बढाएको थियाे। सचिवालयको निर्णयपछि बसेको केन्द्रीय कमिटी बैठकले भण्डारीको नाम वरिष्ठ नेताका रूपमा पारित गरेकाे छ।
०७२ कात्तिकमा राष्ट्रपति निर्वाचित भएसँगै भण्डारीले पार्टी नेतृत्व छाडेकी थिइन् । उनी २०७२ कात्तिकमा पहिलोपटक राष्ट्रपतिमा निर्वाचित भएकी थिइन्। २०७४ मा उनी फेरि दोस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएकी थिइन्।
२०७९ फागुन २५ गते रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि भण्डारीले एमालेको सक्रिय राजनीतिमा फर्कन चाहँदै सदस्यता नवीकरणको प्रक्रिया अघि बढाए पनि लामो समयसम्म उनको सदस्यता नवीकरण हुन सकेको थिएन। त्यसबेला एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति भइसकेको व्यक्ति पुनः सक्रिय दलीय राजनीतिमा आउन नमिल्ने तथा सदस्यता नवीकरणका लागि आवश्यक प्राविधिक प्रक्रिया पूरा नभएको तर्क गरेका थिए।
यसै कारण एमालेको ११औँ महाधिवेशनका बेला समेत भण्डारी सक्रिय पार्टी राजनीतिमा फर्कन सकेकी थिइनन्। पछि पार्टीभित्रको बदलिँदो राजनीतिक परिस्थिति र नेतृत्व तथा संगठन पुनर्गठनबारे बहस तीव्र हुँदै गएपछि एमालेले भण्डारीको सदस्यता नवीकरण गर्ने बाटो खोलेको थियो।
पार्टीभित्र भण्डारीको सदस्यता रोक्नुको पछाडि नेतृत्वसम्बन्धी राजनीतिक समीकरण पनि कारण रहेको दाबी हुँदै आएको छ। विशेषगरी भण्डारी सक्रिय राजनीतिमा फर्किए अध्यक्ष ओलीमाथि नेतृत्व परिवर्तनका लागि दबाब बढ्न सक्ने भएकाले उनको सदस्यता रोकिएको केही एमाले नेताहरूको दाबी छ। यद्यपि, ओली पक्षले यस्तो दाबी स्वीकार गरेको छैन र सदस्यता रोक्नुको कारण पार्टीले यसअघि दिएको औपचारिक तर्क नै रहेको बताउँदै आएको थियो।
पछिल्लो समय ओली र भण्डारीबीचको राजनीतिक दूरी घट्दै गएको देखिएको छ। उनीहरूबीच भेटवार्ता भएको केही समयपछि एमालेले भण्डारीलाई पुनः पार्टी सदस्यता दिने निर्णय गरेको थियो। त्यसपछि भण्डारी एमालेका केही औपचारिक राजनीतिक गतिविधिमा समेत देखिन थालेकी थिइन्।
एमालेभित्र नेतृत्व परिवर्तन, पार्टी पुनर्गठन तथा विभिन्न कम्युनिस्ट शक्तिबीच सहकार्य र एकताको विषयमा बहस भइरहेका बेला भण्डारीको भूमिकालाई लिएर पनि पार्टीभित्र र बाहिर चर्चा हुँदै आएको छ। भण्डारी वरिष्ठ नेता भएसँगै एमालेको आगामी आन्तरिक राजनीति र नेतृत्व समीकरणमा उनको भूमिका कस्तो रहने भन्ने विषयमा पनि चासो बढेको छ।

प्रकाशित मिति: असोज ९ २०८३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend