धरानः बेलायत र हङकङमा रहेका पूर्वगोर्खा सैनिक तथा नेपालीहरूलाई लक्षित गरी रेमिट्यान्सको आवरणमा ‘दोहोरो ठगी’ गर्ने गिरोहमाथि कारबाही गर्न गृहमन्त्री सुधन गुरुङलाई गुहारिएको छ ।
आकर्षक विनिमय दरको प्रलोभनमा पारेर विदेशमै रकम असुल्ने र उल्टै नेपालमा वैदेशिक रोजगार ठगीको झूटा उजुरी हालेर फसाउने गरेको प्रमाणसहित गृहमन्त्रीको ध्यानाकर्षण गराइएको हो ।
सांसदहरू राजेन्द्र राई, ध्रुवराज राई, पूर्णप्रसाद लिम्बूसहितको प्रतिनिधिमण्डलले गुरुङलाई भेटेका थिए । गिरोहले सुरूमा बेलायत र हङकङमा रहेका नेपालीलाई आकर्षक रेमिट्यान्स दरको प्रलोभन देखाएर विदेशमै रकम लिने गर्छ । त्यसपछि नेपालमा रहेका स्थानीय एजेन्टमार्फत सम्बन्धित व्यक्तिको बैंक खातामा रकम जम्मा गरिदिन्छ ।
तर, रकम जम्मा भएपछि सोही बैंक कारोबारको प्रमाण देखाउँदै गिरोहले वैदेशिक रोजगार विभाग तथा प्रहरीमा ‘वैदेशिक रोजगारीका नाममा आफूलाई ठगी गरेको’ भन्दै रकम पठाउने व्यक्तिविरुद्ध नै उजुरी दर्ता गराउने गरेको छ ।
निर्दोष व्यक्तिलाई कानुनी झमेलामा फसाएर बार्गेनिङ गर्ने र रकम असुल्ने धन्दा चलिरहेकोले यस संगठित अपराधमा वैदेशिक रोजगार विभागका कर्मचारी र प्रहरीको समेत मिलेमतोको आशंका गरिएको छ ।
जवाफमा गृहमन्त्री गुरुङले संलग्न जो-कोहीमाथि तत्काल आवश्यक अनुसन्धान गरी कानुनी कारबाही अघि बढाउन सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।
गृहमन्त्रीले यस प्रकारको ठगीमा परेका अन्य पीडितहरूलाई पनि खुलेर उजुरी दर्ता गराउन आग्रह गरेका छन्