ताप्लेजुङः ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ स्थित दोभान बजारमा बिहीबार भएको आगलागीबाट १४ करोड ५६ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक विन्देश्वर यादवका अनुसार आगलागीबाट ८ जना घरधनीका १० वटा घर जलेका छन्। आगलागीका कारण घरधनी र डेरामा बस्ने गरी १७ परिवार विस्थापित भएका छन्।
प्रहरीका अनुसार सबैभन्दा ठूलो क्षति चन्द्र पौडेलको पक्की घर र त्यसमा रहेको किराना पसलमा भएको छ। घर तथा पसलमा गरी करिब ५ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।
त्यस्तै, घनश्याम खरेलको अर्धपक्की घर, पसल तथा अलैँची गोदाममा २ करोड रुपैयाँ र डण्डु शेर्पाको अर्धपक्की घरमा २ करोड रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।
राजेन्द्र पौडेलको पक्की घर तथा किराना पसलमा १ करोड ३० लाख रुपैयाँ बराबरको क्षति भएको छ। भीम लिम्बूका दुईवटा अर्धपक्की घरमा ९० लाख रुपैयाँ तथा याम लिम्बूको घर र त्यसमा सञ्चालित होटलमा ८० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीको विवरण छ।
आगलागीबाट राजु शेर्पा भनिने आङमिङमा शेर्पाको अर्धपक्की घरमा ३५ लाख रुपैयाँ, सुकविर लिम्बूको अर्धपक्की घरमा ३१ लाख ५० हजार रुपैयाँ तथा श्याम लिम्बूको होटलमा २५ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
त्यस्तै, सुकराज गहतराजको सुनचाँदी पसलमा ५० लाख रुपैयाँ, लाक्पा शेर्पाको होटलमा ३० लाख, सुमन लिम्बूको २५ लाख, सविन चुँडालको २० लाख, योगेन शेर्पाको १० लाख र लक्ष्मी लिम्बूको १० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।
आगलागीमा अनुष्का आङवुहाङको ९ लाख, कमल बर्देवाको कपडा पसलको ३ लाख, मोहन आङवुहाङको मासु पसलको २ लाख, पवन लिम्बूको मासु पसलको १ लाख ५० हजार, फुर्वा शेर्पाको १ लाख ५० हजार, घनश्याम खरेलको १ लाख ५० हजार र हरि तामाङको १ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक विवरणमा उल्लेख छ।
आगलागीबाट भएको क्षतिको विवरण प्रहरीले संकलन तथा मूल्यांकन गरी सार्वजनिक गरेको हो।