धरानः धनकुटाको साँगुरीगढी गाउँपालिकाले व्यक्तिगत तथा व्यवसायका लागि आवश्यक पर्ने स्थायी लेखा नम्बर (प्यान) दर्ता तथा वितरण सेवा सुरु गरेको छ।
गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दाली राईले वडा नं. ६ बेल्बोटेस्थित सुब्बा ग्यारेजका सञ्चालक विवेक इवाहाङलाई प्यान हस्तान्तरण गर्दै सेवाको शुभारम्भ गरेका हुन्। पालिकामार्फत प्यान वितरण सुरु भएपछि करसम्बन्धी सेवा लिनका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता हटेको छ। यसअघि प्यान दर्ताका लागि सेवाग्राहीहरू धनकुटा सदरमुकाम जानुपर्ने बाध्यता थियो ।
पालिकाको ग्रामीण र भौगोलिक विकटता भएका क्षेत्रका नागरिकहरूलाई करसम्बन्धी सेवा लिन जान धेरै समस्या थियो। पालिकाबाट नै प्यान दर्ता र वितरण सुरु भएपछि अतिरिक्त समय र खर्च गर्नुपर्ने बाध्यता हटेको छ। प्यान मात्र लिनुपर्दा पनि वडाको सिफारिसलगायतका आवश्यक कागजात जुटाउनु पर्दा २–३ दिनको समय लाग्थ्यो। तर, अहिले पालिकाबाट सेवा सुरु भएपछि खर्च र समय दुवैको बचत भएको छ।
पूर्वीनेपालकै चर्चित भेडेटार रहेको साँगुरीगढी गाउँपालिकामा पर्यटनसँगै होटेल तथा रेस्टुरेन्ट, यातायात, खुद्रा व्यापार, कृषि क्षेत्रका साना तथा मझौला व्यवसायहरू सञ्चालनमा छन् । पालिकाबाट नै प्यानसम्बन्धी कार्य हुने भएपछि व्यवसायीसँगै आमनागरिक पनि खुसी भएका छन् ।