धरानः धरान–इटहरी सडकमा मोटरसाइकल दुर्घटना हुँदा एकजना प्रहरी घाइते बनेका छन् ।
कोशी लोकमार्गमा धरानबाट इटहरी जाँदै गरेको गरेको प्र.१–०१–०५१ प.३९२८ नम्बरको मोटरसाइकल खाडल जोगाउने क्रममा अनियन्त्रित भई दुर्घटना हुन पुगेको थियो । सडक बनेको धेरै वर्ष नभएपनि सो सडकमा अहिले खाल्डाखुल्डी देखिन थालेको छ । सेउतीबाट तरहरातर्फ जाने देब्रे लेनको सडक बढीजसो उप्किएको छ । २०८१ मा बनेको सो सडक यतिका वर्षमै भत्किन थालेको हो । सेउतीदेखि पानीपियाबीचको सडक धेरै स्थानमा भत्किएको छ ।
दुर्घटनामा चालक मोरङ बुढीगंगा गाउँपालिका १ घर भई नेपाल प्रहरी प्रधान कार्यालय विधिविज्ञान प्रयोगशाला धरानमा कार्यरत ४० वर्षीय प्रहरी नायव निरीक्षक अम्बरविनोद घिमिरे घाइते बनेको प्रहरीे जनाएको छ ।
इटहरी उपमहानगरपालिका २० पानीपिया सडकमा सो दुर्घटना भएको हो । प्रनानि घिमिरेको निधारमा चोट लागेको प्रहरी चौकी तरहरा प्रनानि भोजकुमार कट्टेलले जानकारी दिए । उनको विराट हस्पिटलमा उपचार भइरहेको उनले जानकारी दिए ।
सुनसरीमा यात्रुबाहक बस दुर्घटनामा
सुनसरीमा दुर्घटना हुँदा २८ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनसरीको कोशी गाउँपालिका–७ हरिपुरमा यात्रुवाहक बस नहरमा खस्दा २८ जना घाइते भएका छन् ।
सबै घाइतेको अवस्था सामान्य रहेको सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए ।

स्थानीय मेडिकल भाण्टाबारीमा उपचाररत घाइतेमा सप्तरीको खरजियाकी ३० वर्षीया सरोजकुमारी चौधरी, ४९ वर्षीय टुनाई राम, सप्तरी रुपनी नगरपालिका–६ का १९ वर्षीय विक्रम सरदार, सप्तरी बोदेबरसाइन नगरपालिका–१ का २० वर्षीय हरिशंकर सरदार, रुपनी–६ का १८ वर्षीय टेक सरदार, सप्तरीको राजविराज नगरपालिका–९ की शान्ति देवी यादव, कृष्णसरणका राम कुमार, शम्भुनाथ नगरपालिका–५ का पुन्य राम, बयलकोटीकी सरितादेवी राम, सन्तोषकुमार यादव, भारदहका हेमबहादुर लामा, सलमपुरका हनुमान राम र कृष्णसरणका राजेश अधिकारी रहेका छन् ।
त्यस्तै, सप्तकोशी न्युरो अस्पतालमा सिरहा बरियारपट्टि गाउँपालिका–३ का २१ वर्षीय सनक्षीकुमार यादव, ५२ वर्षीया शान्ति देवी, सिरहा धनगढीमाई नगरपालिका–१४ का ४४ वर्षीय होमबहादुर तामाङ, ३५ वर्षीया लक्ष्मी कुमारी लामा, सप्तरी भारदहका १३ वर्षीय फारुक मन्सुरी, १० वर्षीय अजसारुख मन्सुरी, ३० वर्षीय सबिरन खातुन, सिरहा विष्णुपुरकी ४० वर्षीय मन्जुकुमारी महत्तो, २५ वर्षीया निर्मला महतो, सप्तरी भारदहकी सुमेरा खातुन, सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका–९ का ७५ वर्षीय महेन्द्र ठाकुर लोहार, सिरहा सुखीपुरका ४५ वर्षीय भगवान राम, ३५ वर्षीया सरिता राम, सप्तरी सुरुङ्गा लक्ष्मीपुरकी २४ वर्षीया प्रमिताकुमारी मण्डल र ६५ वर्षीय जगदिश मण्डल रहेका छन् ।
विराटनगरबाट यात्रु लिएर सिरहाको लहानतर्फ जाँदै गरेको को १ ख ४७७७ नम्बरको बस मंगलबार साँझ करिब ५ः५० बजेतिर आफैँ अनियन्त्रित भएर सडकछेउको नहरमा खसेको प्रहरीले जनाएको छ । बस चालक र सहचालकको विवरण खुलेको छैन । दुर्घटनाको थप अनुसन्धान भइरहेको डीएसपी खड्काले बताए ।