धरानः भेडेटारमा दुर्घटनामा परेको स्कारपियो गाडीमा गाँजा फेला परेसँगै प्रहरीले धरानका एक व्यक्तिलाई पनि पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धरान–१० का ३९ वर्षीय अमित विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका हेमन्त भण्डारी क्षत्रीले जानकारी दिए । भेडेटचार स्काइवाकनजिकै भित्री सडक खण्डमा ढुंगेबाट भेडेटारतर्फ अउँदै गरेको बा१३च ६२७५ नम्बरको स्कारपियो गाडी दुर्घटनामा परेको थियो । भेडेटारस्थित इलाका प्रहरी कार्यालय भेडेटारका सई प्रननि भीमबहादुर श्रेष्ठको कमान्डमा खटिएको प्रहरीले टोली दुर्घटनास्थल पुग्दा गाँजा फेला परेको थियो ।
स्कारपियो गाडीमा बोरामा प्याक गरी राखेको अवस्थामा ३ सय ४१ किलोग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार मंगलबार राति करिब ११ः५५ बजे सो दुर्घटना भएको हो । दुर्घटनाग्रस्त गाडीभित्र भने कोही फेला परेका थिएनन् । प्रहरीले घटनास्थल नजिकै शंकास्पद अवस्थामा रहेका मोरङको विराटनगर महानगरपालिका–९ घर भई हाल सुनसरीको धरान उपमहानगरपालिका–१० बस्ने विश्वकर्मालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
बरामद गाँजा र स्कारपियोसहित विश्वकर्मालाई जिल्ला प्रहरी कार्यालय धनकुटामा लगेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
