धरानः धरान–२० स्थित कुसुम डाँडा संयुक्त सामुदायिक दाहसंस्कारस्थलमा लायन्स क्लब अफ धरान क्यालिबरले महिला तथा पुरुषका लागि छुट्टाछुट्टै शौचालय निर्माण गरी हस्तान्तरण गरेको छ । क्लबले सोही अवसरमा उदय आधारभूत विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक तथा खेलकुद सामग्री र जुससमेत वितरण गरेको छ ।
लायन्स क्लब अफ धरान क्यालिबरको स्थायी सामाजिक सेवा परियोजनाअन्तर्गत निर्माण गरिएको शौचालयको शिलालेख अनावरण तथा हस्तान्तरण कार्यक्रम लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ सी नेपालका डिष्ट्रिक्ट गभर्नर लायन लीला प्रसाद चिमारियाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष लायन पूर्णप्रसाद राईले गरेका थिए । कार्यक्रममा धरान उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख लायन नरेश इवारम, पास्ट डिष्ट्रिक्ट गभर्नर लायन धिरज गुरुङ, क्याबिनेट सेक्रेटरी लायन रेखा गुरुङ तथा एरिया–५ का एरिया चिफ लायन प्रेमराज शाक्यलगायतको उपस्थिति थियो ।

कुसुम डाँडा संयुक्त सामुदायिक दाहसंस्कार स्थल स्थानीय समुदायको पहलमा विकास हुँदै आएको महत्वपूर्ण सामाजिक पूर्वाधार हो । धरान–२० का आँपटार, कालिमाटी, गुरुङछाप, चिण्डेडाँडा, पीपलडाँडालगायतका बस्तीका स्थानीयवासीलाई लक्षित गरी व्यवस्थित दाहसंस्कारस्थल निर्माणको अभियान अघि बढाइएको छ ।
स्थानीयवासीको श्रमदान तथा आर्थिक सहयोगसँगै विभिन्न व्यक्ति, समाजसेवी र संघ–संस्थाको सहयोगबाट दाहसंस्कार स्थलमा मलामी विश्रामालय भवनलगायतका संरचना निर्माण हुँदै आएका छन् । नयाँ शौचालय निर्माणसँगै दाहसंस्कार स्थलमा आउने मलामी तथा स्थानीयवासीका लागि आधारभूत सुविधा थप भएको निर्माण समितिले जनाएको छ ।
कार्यक्रमकै अवसरमा उदय आधारभूत विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको थियो । विद्यार्थीलाई अध्ययनसँगै खेलकुद गतिविधिमा प्रोत्साहित गर्ने र उनीहरूको शैक्षिक तथा शारीरिक विकासमा सहयोग पुरयाउने उद्देश्यले सामग्री वितरण गरिएको क्लबले जनाएको छ ।
समुदायको आवश्यकता पहिचान गरी सामाजिक पूर्वाधार निर्माण तथा विद्यार्थी सहयोगमार्फत लायन्स क्लबले गरेको योगदानप्रति स्थानीयवासीले आभार व्यक्त गरेका छन् ।
