धरानः उदयपुरमा पिकअप जिप र सिटी सफारी आपसमा ठोकिँदा २ वर्षीया बालिकाको मृत्यु भएको छ। दुर्घटनामा अर्की एक वृद्धा घाइते भएकी छन्।
त्रियुगा नगरपालिका-११ फिल्म हल नजिक मदन भण्डारी लोकमार्गमा पिकअप जिपको पछाडि सिटी सफारी ठोक्किएको प्रहरीले जनाएको छ।
शुक्रबार बिहान साढे १० बजे आँखा अस्पतालबाट मेनचोकतर्फ आउँदै गरेको पानी बोकेको को.प्र.०५-००१ च ०१९० नम्बरको पिकअपमा सोही दिशाबाट आउँदै गरेको को.प्र.०५-००१ ह ०८७६ नम्बरको सिटी सफारी पछाडिबाट ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा त्रियुगा नगरपालिका-११ बस्ने शिवकुमार सदाकी छोरी २ वर्षीया रागिनी सदा गम्भीर घाइते भएकी थिइन्। उनलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर लगिएको थियो। शुक्रबार दिउँसो १ बजेतिर उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा ७० वर्षीया कन्नि सदा घाइते भएकी छन्। उनको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको छ। घटनापछि दुवै सवारीसाधन र चालक नियन्त्रणमा रहेका प्रहरीले जनाएको छ। सिटी सफारी चालकले मादक पदार्थ सेवन गरेको पाइएको प्रहरीले जनाएको छ।
उनको आवश्यक कागजातसमेत साथमा नभएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।