Hamro Koshi Aawaj

सोमबार, असोज २६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा मकै पोलेर महिनाको ८० हजार कमाउँदै महिला

हाम्रो कोशी आवाज
असोज २६ २०८३, सोमबार
धरानमा मकै पोलेर महिनाको ८० हजार कमाउँदै महिला

धरानः धरान उपमहानगरपालिका-१६ की ५९ वर्षीया शान्ति श्रेष्ठले मकै पोलेर बिक्री गर्दै तीन दशकदेखि घरखर्च चलाउँदै आएकी छन् ।
श्रीमानको निधनपछि घरको आर्थिक जिम्मेवारी सम्हाल्दै आएकी शान्तिका लागि मकै पोल्ने व्यवसाय जीविकोपार्जनको मुख्य आधार बनेको छ । उनको दैनिकी बिहानै मोरङको भावन्ने पुगेर हरियो मकै खरिद गर्नेदेखि सुरु हुन्छ ।
उनी बिहान घाम नउदाउँदै धरानबाट गाडी चढेर मकै खरिद गर्न भावन्ने पुग्छिन् र मकै लिएर फर्कँदा बिहानको १० देखि ११ बजिसकेको हुन्छ ।त्यसपछि धरान उपमहानगरपालिका–१३ स्थित लक्ष्मीचोक नजिकै सडकछेउमा मकै पोल्ने र बिक्री गर्ने उनको दिनचर्या सुरु हुन्छ ।
शान्तिले दैनिक करिब १६० देखि १८० घोगासम्म मकै पोलेर बिक्री गर्दै आएकी छन् । करिब तीन दशकदेखि यही पेसामा रहेकी उनका लागि मकै बिक्री गर्नु आम्दानीको माध्यम मात्र नभई जीवन चलाउने आधारसमेत बनेको छ ।
खुला आकाशमुनि सडकछेउमा बसेर काम गर्दा उनले घामपानीको सामना गर्दै आफ्नो पेसालाई निरन्तरता दिँदै आएकी छन् । “अरू काम गरौँ भने सकिँदैन, अर्कोतिर काम पनि पाइँदैन । मकै पोल्ने काम पनि सजिलो त छैन । कहिले पानी पर्छ, कहिले टन्टलापुर घाम लाग्छ । गाह्रो हुन्छ, तर अब त घामपानी सहन बानी परिसक्यो,” शान्तिले भनिन् ।
उनले मोरङका विभिन्न स्थानमा मकैबारी ठेक्कामा लिएर हरियो मकै धरान ल्याई बिक्री गर्दै आएकी छन् । उनका अनुसार मकैबारीको ठेक्का लिन ६० हजारदेखि एक लाख ५० हजार रुपैयाँसम्म खर्च हुने गरेको छ ।
यस काममा उनलाई अन्य साथीहरूले पनि साथ दिँदै आएका छन् । “साथीहरूसँग मिलेर ठेक्कामा लिँदा अलि सस्तो हुन्छ, तर सधैँ नाफा मात्रै हुँदैन । कहिले घाटा त कहिले फाइदा हुन्छ । व्यापारमा तलमाथि भइरहन्छ,” उनले भनिन् । शान्तिले मकैको आकारअनुसार प्रतिघोगा १५ रुपैयाँदेखि ५० रुपैयाँसम्ममा पोलेको मकै बिक्री गर्दै आएकी छन् ।
उनका अनुसार मकै पोल्न प्रयोग हुने कोइलाको खर्च कटाएर मासिक ७० हजारदेखि ८० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको छ । मकै बिक्रीबाट प्राप्त रकमबाटै उनले घरखर्च व्यवस्थापन गर्दै आएकी छन् ।
“काम गर्‍यो भने खानका लागि अभाव हुँदैन । मकै पोलेरै घरव्यवहार चलिरहेको छ । घरमा कमाउने मान्छे छैन, कमाउने मै हुँ । छोरी विवाह गरेर आआफ्नो घर गइसके । उमेर ढल्किँदै गयो, काम गर्ने बानी बस्यो । काम छाडेर घरमा बस्न मन लाग्दैन । दुःख हुन्छ भन्दैमा काम छोड्न पनि भएन,” उनले भनिन् ।
मकै बेचेर दैनिक घरखर्च जुटाउन सकेकामा शान्ति सन्तुष्ट छिन् । आफ्नो कमाइबाट जीवन चलाउँदै आएकी उनले शरीरले साथ दिएसम्म यही पेसालाई निरन्तरता दिने बताइन् ।
“यही काम गर्ने बानी परिसक्यो । एक दिन काममा निस्किनँ भने छटपटी हुन्छ । घरमा बसेर समय बिताउनै गाह्रो हुन्छ । बुढेसकाल लाग्यो भन्दैमा घरैमा बसेर हुँदैन । हातखुट्टा चलिरहेकै छन्, सकेसम्म काम गर्नुपर्छ,” उनले भनिन् । -रासस

प्रकाशित मिति: असोज २६ २०८३, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend