धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले ‘स्वचालित ल्याब रिपोर्ट प्रिन्टिङ मेसिन’ सञ्चालनमा ल्याएको छ ।
प्रतिष्ठानको सेन्ट्रल ल्याबमा जडान गरिएको सो अत्याधुनिक मेसिनको सोमबारका दिन प्रतिष्ठानकी उपकुलपति प्रा.डा. स्मृति कार्की र अस्पताल निर्देशक डा. इन्द्रकुमार लिम्बूले संयुक्तरूपमा शुभारम्भ गरे ।
बिरामी र सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै आफ्नो स्वास्थ्य सेवामा समय सापेक्ष प्रविधिमैत्री सुधारलाई निरन्तरता दिँदै आउने क्रममा सो प्रयोगशाला परीक्षणको रिपोर्ट संकलनका लागि आउने हजारौं बिरामीहरूलाई छिटो, छरितो र झन्झटमुक्त सेवा प्रदान गर्ने अस्पतालका प्रवक्ता प्रा.डा. शमशेर श्रेष्ठले जानकारी दिए ।
यो मेसिनको प्रयोग अत्यन्तै सरल र सहज बनाइएकाले सर्वसाधारणले बिना कुनै प्राविधिक कठिनाइ आफ्नो रिपोर्ट आफै निकाल्न सक्नेछन् । यसका लागि सेवाग्राहीले ल्याब परीक्षण गराउँदा प्राप्त भएको बिलको बारकोडलाई मेसिनको बायापट्टि बत्ती बलिरहेको सेन्सर भागमा देखाउनुपर्नेहुन्छ । बारकोड स्क्यान हुनासाथ मेसिनको प्रणालीले सोझै डाटा पहिचान गरी केही सेकेन्डभित्रै ल्याब रिपोर्ट प्रिन्ट गरेर बाहिर निकाल्ने गर्दछ ।
बिरामीहरुको दिनानुदिन बढ्दो चापका कारण यसअघि सेन्ट्रल ल्याब रिपोर्ट काउण्टरबाट रिपोर्ट लिनका लागि बिरामी तथा कुरुवाहरू घण्टौंसम्म लामोे लाइनमा बस्नुपर्ने बाध्यता रहेको थियो भने अत्याधिक भीडका कारण कर्मचारीहरूलाई पनि रिपोर्ट खोज्न र वितरण गर्न कठिनाइ भइरहेको थियो । अब भने यो प्रविधि भित्रिएसँगै लामो लाइन बसी रिपोर्ट लिकाल्नु पर्दाको समयको ठूलो बचत हुनुका साथै रिपोर्ट वितरण काउन्टरमा हुने भीडभाड, मानवीय त्रुटि कम हुने जस्ता समस्याहरु समेत उल्लेख्य रूपमा समाधान हुने अपेक्षा गरिएको अस्पताल प्रशासनले जनाएको छ ।
प्रतिष्ठानले पछिल्लो समय बिरामीको चापलाई सम्बोधन गर्न र गुणस्तरीय स्वास्थ्य सेवा पुरयाउन निरन्तर प्रविधि र पूर्वाधार विस्तार गर्दै आएको छ । अस्पताललाई क्रमैसँगै पूर्णरूपमा डिजिटल र प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत यो मेसिन जडान गरिएको हो, जसले दैनिक अस्पताल आउने हजारौं बिरामी तथा आफन्तहरूलाई ठूलो राहत पुरयाउनेछ भन्ने विश्वास लिइएको प्रवक्ता प्रा.डा. श्रेष्ठ बताउँछन् ।





