धरानः चाडपर्व नजिकिएसँगै गाउँ फर्किने यात्रुको भीडले बिहानैदेखि व्यस्त बन्ने धरानको भानुचोक साँझपख भने खाजा पसल, साना ठेलाको व्यापार र किनमेल गर्ने सर्वसाधारणको चहलपहलले थप रौनकपूर्ण बन्छ ।
खोटाङ, भोजपुर, धनकुटा, ताप्लेजुङ, पाँचथर, विराटनगर र झापालगायतका जिल्लातर्फ जाने आउने यात्रुको आवतजावतले दिनभर व्यस्त रहने भानुचोकमा साँझपख फरक दृश्य देखिन्छ । ठूला सवारी साधनको चाप घट्दै जाँदा सडक छेऊमा ठेलागाडा राखेर मःम, चाउमिन र अण्डारोललगायत खाजा बेच्ने व्यापारीको चहलपहल बढ्छ । खाजा खान आउने र किनमेल गर्ने सर्वसाधारणको भीडले चोकको वातावरण थप रमाइलो बनाउँछ ।
धरान–८ की अनिता राई विगत १० वर्षदेखि साँझपख भानुचोकमा ठेलामा मःम, चाउमिन र अण्डारोल बेच्दै आएकी छन् । दिनभर घरको काम सकेर खाजाका सामग्री तयार पार्ने उनी साँझ ५ः०० बजे ठेला लिएर भानुचोक पुग्छिन् र राति ९ः३० बजेसम्म व्यापार गर्छिन् । उनलाई छोरीले व्यापारमा सहयोग गर्दै आएका छन् । ‘दिनभर घरको काम सकेर खाजाका सामग्री तयार पार्छु । साँझ ५ः०० बजे भानुचोक आएर ९ः३० बजेसम्म व्यापार गर्छु । छोरीले पनि सहयोग गर्छिन्,’ राईले भनिन् ।
विगतका दैनिक प्रतिप्लेट रु ३५–४० देखि मःम, चाउमिन बिक्री गर्न थालेको अहिले रु ७० पुगेको छ । यही व्यवसायबाट छोराछोरीको पढाइ र घरखर्च धान्न सहज भएको उनले बताइन् । राई जस्तै धरान–१५ की निरा मगरले पनि विगत नौ वर्षदेखि साँझपख भानुचोकमा मःम, चाउमिन र अण्डारोल बिक्री गर्दै आएकी छन् ।
खाजाको व्यापार शुरु गर्नुअघि चार वर्ष मकै पोल्ने र आलु चप बेच्ने काम गरेको उनी सुनाउँछिन् । त्यसबाट सोचे जस्तो आम्दानी नभएपछि खाजाको व्यापार सुरु गरेको उनले बताइन् । ‘महिला भएर साँझपख ठेला लिएर सडकमा निस्कँदा सुरुमा डर लाग्थ्यो, अप्ठ्यारो पनि हुन्थ्यो । अहिले बानी परिसक्यो । चाडपर्व सुरु भएकाले व्यापार पनि राम्रो भइरहेको छ,’ मगरले भनिन् । दिनभर घरमै खाजाका सामग्री तयार पारेर साँझ ६ः०० बजेतिर भानुचोक पुग्ने उनी राति १०ः०० बजेसम्म व्यापार गर्छिन् । चाडपर्वका बेला ग्राहकको चहलपहल बढ्दा व्यापार राम्रो हुने गरेको उनको भनाइ छ ।
साँझपख भानुचोकका सडकछेउमा रहेका साना चिया पसल र ठेलामा खाजा खाने, कुर्सीमा बसेर चिया गफ गर्ने तथा किनमेल गर्ने सर्वसाधारणको भीड देखिन्छ । साँझपख ठेला व्यापारी र ग्राहकको चहलपहल बढेसँगै भानुचोकमा ट्राफिक व्यवस्थापनमा चुनौती थपिने गरेको छ । चाडपर्व नजिकिएसँगै बिहानैदेखि यात्रुको भीड बढ्ने भएकाले यात्रुको सुरक्षा र सवारी व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम गरिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी निरीक्षक अनिल माबोहाङले लिम्बूले बताए ।
‘चाडपर्व सुरु भएकाले बिहानैदेखि अत्यधिक भीडभाड हुने भानुचोकलाई विशेष प्राथमिकतामा राखेर ट्राफिक व्यवस्थापन गरिरहेका छौं,’ उनले भने । गाउँ फर्किने सर्वसाधारणको सुरक्षाका लागि यात्रुले टिकट पाए नपाएको र सवारीसाधनको व्यवस्थापनको अवस्थाबारे सोधपुछ तथा जाँच गर्ने गरिएको उनले जानकारी दिए ।
साँझपख ठुला सवारीसाधनको चाप कम भए पनि मोटरसाइकल, ट्याम्पो र सफारीको आवतजावत तथा जथाभाबी पार्किङका कारण सडक साँघुरिदा समस्या हुने गरेको उनको भनाइ छ । ट्राफिक व्यवस्थापन सहज बनाउन वडा कार्यालय तथा नगरपालिकासँग समन्वय गरी व्यवस्थापन गरिँदै आएको उनको भनाइ छ ।
दिनभरको गर्मी, धूलो, कोलाहल र हतारबाट थाकेका मानिसका लागि साँझपख भानुचोक भेटघाट र साथीभाइ रमाइलोको गफगाफ गर्ने ठाउँ बन्ने गरेको छ । सडकछेउका चिया पसल र फुटपाथमा राखिएका कुर्सीमा बसेर खाजा खाँदै गफिने सर्वसाधारणको दृश्य साँझपख सामान्य बनेको छ ।
चोकमा साँझपख युवाको जमघट बढ्ने गरेको छ । कोही मोबाइलबाट भिडियो खिचिरहेका हुन्छन्, कोही फोटो खिच्दै रमाइरहेका हुन्छन् भने कोही गीत गाएर मनोरञ्जन गरिरहेका देखिन्छन् । झिलीमिली बत्तीले उज्यालिएको चोक आफैंमा मनमोहक देखिन्छ ।
धरान उपमहानगरपालिका–२ धरानको मुख्य बजार भानुचोक व्यापारिक चहलपहलको केन्द्र मात्र नभई ऐतिहासिक महत्व बोकेको स्थान पनि हो । धरान–२ का स्थानीय बिर्खलाल तामाङ भन्छन्, ‘चोकमा भानुभक्त आचार्यको शालिक राखिएका कारण यस स्थानको नाम भानुचोक रहन गएको हो ।’
चोकमा भानुभक्तको सालिक छ । जनआन्दोलनका बेला नाराबाजी, रयाली तथा राजनीतिक र साहित्यिक गतिविधिका लागि चोक प्रमुख स्थल जस्तै थियो । ‘केही दशकअघि सम्म भानुचोकको आसपास क्षेत्रमा टिनले बेरेका साना घर मात्रै थिए । जहाँ चिया पसल थिए । चिया पिउँदै राजनीतिक तथा सामाजिक विषयमा छलफल गर्ने चलन थियो । त्यतिबेला अहिले जस्तो ठेलामा खाजा बेच्ने प्रचलन नै थिएन,’ उनी सम्झन्छन् ।
भानुचोकको इतिहाससँगै यसको स्वरूप पनि समयक्रममा बदलिँदै गयो । धरानमा लामो समयदेखि पत्रपत्रिका बिक्री गर्दै आउनु भएका ७५ वर्षीय कृष्णभक्त श्रेष्ठ भन्छन्, ‘विगतको तुलनामा अहिले चोक फेरियो ठुला ठूला घर बने मानिस र सवारी साधनको चाप उल्लेख्य बढ्दै गयो ।’
विसं २०४५ को भूकम्पपछि हङकङ र मकाउमा रहेका नेपालीको पहलमा रु ५६ लाखको लागतमा भानुचोकको छेवैमा घण्टाघर निर्माण सुरु भयो । विसं २०४८ मा निर्माण सम्पन्न भएको घण्टाघरले यस क्षेत्रको पहिचान थप स्थापित गर्न सहयोग पुरयाएको श्रेष्ठले बताए । घण्टाघर बनेपछि चोकको रौनक बढ्न थाल्यो । वरपर व्यापारिक गतिविधि बढे र सहरको चहलपहल पनि यही क्षेत्रमा केन्द्रित हुन थाल्यो ।
दैनिक हजारौं मानिसको आवतजावत हुने भानुचोक धरानका विभिन्न स्थान तथा बाहिरी जिल्लातर्फ जाने सवारीसाधनका लागि प्रमुख केन्द्र हो । ‘पहिले पत्रिका बेच्न धरानको छाताचोकतिर जानुपथ्र्यो, अहिले बिहानदेखि साँझसम्म भानुचोकमै ग्राहक भेटिन्छन् । पहिलेको तुलनामा अहिले यहाँ मानिसको चाप र चहलपहल निकै बढेको छ’, उनले भने । साँझपख ठेला तथा साना व्यवसायमा हुने चहलपहलले स्थानीय आर्थिक गतिविधि बढाउन र साना व्यवसायीको जीविकोपार्जनमा सहयोग पुरयाएको सुनसरी उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष किसन मास्केको भनाइ छ ।