धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक डा. सञ्जीवकुमार शर्मा विश्वका प्रभावशाली वैज्ञानिकहरूको सूचीमा परेका छन् ।
विगत २६ वर्षदेखि विभिन्न रोगमा अनुसन्धान गर्दै आएका प्राडा शर्माले सर्पदंश उपचार पद्धति सुधार, बाथरोग, मुटुरोग, मृगौला रोगलगायतका विषयमा महत्वपूर्ण अनुसन्धान गर्दै आएका छन् । उनले विश्व स्वास्थ्य सङगठन ड्ब्लुएचओमा सर्पदंंशसम्बन्धी नेपालको प्रतिनिधित्व पनि गर्दै आएका छन् ।
अमेरिकाको स्ट्याण्डफोर्ड विश्वविद्यालयले तयार पारेको वार्षिक ग्लोबल रयाङकिङमा प्राध्यापक डा. शर्मा पनि परेका हुन् । स्टयाण्डफोर्डले हरेक वर्ष वैज्ञानिक तथा स्वास्थ्यसम्बन्धमा अनुसन्धान र प्रकाशन गर्ने एल्सेभियरसँग सहकार्य गरी सूची सार्वजनिक गर्छ । मुटु, मिर्गौला र सर्पदंशको उपचार विधिमा गरेको काम र अनुसन्धानका आधारमा प्रा.डा. शर्मा सो सूचीमा परेका हुन् ।
अमेरिकाको स्ट्याण्डफोर्ड विश्वविद्यालयले एल्सेभियरसँगको सहकार्यमा तयार पारेको वार्षिक विश्वव्यापी वैज्ञानिक तथा स्वास्थ्य अनुसन्धानकर्ताहरूको सूचीमा परेका प्रा.डा शर्मा यसअघि पनि सूचीमा परेका थिए ।
विश्वका शीर्ष २ प्रतिशत प्रभावशाली वैज्ञानिकको सूचीमा ३१ जना नेपाली वैज्ञानिक पर्दा उनी पनि परेका हुन् । प्रा.डा. शर्माले आफूले गरेको कामले स्वास्थ्य विज्ञान अनुसन्धानको क्षेत्रमा प्रतिष्ठानको नाम अघि आउनु गर्वको विषय भएको बताएका छन् । ‘स्वास्थ्य अनुसन्धानको क्षेत्रमा नेपाल र आफूले गरेको कामसँग प्रतिष्ठानको नाम अगाडि आएको कारण अत्यन्तै गर्व लागेको छ ।’ उनले भने ।
अमेरिकी युनिभर्सिटीको सूचीमा त्रिभुवन विश्वविद्यालयका ७ जना, नेपाल हेल्थ रिसर्च काउन्सिल एनएचआरसी, बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान, इसिमोड लगायतका संस्थाका वैज्ञानिकहरू समावेश छन् ।
यस वर्ष नेपालका ३१ जना वैज्ञानिक विश्वका सबैभन्दा बढी प्रभाव पार्ने शीर्ष २ प्रतिशतमा परेका हुन् । स्ट्यानफोर्ड–एल्सेभियरको वार्षिक सूची स्कोपस डाटाबेसमा आधारित वैज्ञानिक अनुसन्धान तथा बिब्लियोमेट्रिक प्रभावका सूचकहरूको विश्लेषणबाट तयार गरिन्छ ।
नेपालका ३० र नेपालसँग सम्बन्धित एक गरी ३१ वैज्ञानिक सन् २०२६ को विश्वका शीर्ष २ प्रतिशत वैज्ञानिकको एकवर्षीय सूचीमा परेका छन् । वैज्ञानिकहरूको अनुसन्धानमा प्राप्त उद्धरणका आधारमा तयार पारिएको सूचीमा नेपालका विभिन्न विश्वविद्यालय, अनुसन्धान संस्था तथा स्वतन्त्र अनुसन्धानकर्तासमेत समेटिएका छन् ।
टपसाइनेटमा प्रकाशित विवरणअनुसार सन् २०२६ को सूचीमा नेपालका ३१ वैज्ञानिक छन् । सूचीमा वैज्ञानिकको संख्याका आधारमा नेपाल विश्वमा ९२ औं स्थानमा रहेको विवरणमा उल्लेख छ । नेपालको सूचीमा सामान्य तथा आन्तरिक चिकित्सा, सूक्ष्मजीव विज्ञान, जनस्वास्थ्य, मनोचिकित्सा, औषधि विज्ञान, जैवप्रविधि, रसायनशास्त्र, भौतिकशास्त्र, वातावरणीय इन्जिनियरिङ, पारिस्थितिकी, कृषि तथा वन विज्ञानलगायतका अनुसन्धान विधाका वैज्ञानिक छन् ।
सूचीमा परेका ३१ वैज्ञानिक
टपसाइनेटमा प्रकाशित सन् २०२६ को एकवर्षीय सूचीमा उल्लेखित वैज्ञानिक, उनीहरूको विश्व वरीयता, आबद्ध संस्था र अनुसन्धान विधा यसप्रकार छन् ।
विश्वका शीर्ष २ प्रतिशत वैज्ञानिकको सूचीमा ३१ अनुसन्धानकर्ता
शीर्ष सूचीमा प्रा.डा. शर्मासहित मेघनाथ एल. धिमाल, भीष्म कार्की, रञ्जितकुमार साह, अजय भट्टराई, मार्क जे. डी. जोर्डन्स, दीपेन्द्र पराजुली, अरुणभक्त श्रेष्ठ, सन्तोष नेपाल, उत्तमबाबु श्रेष्ठ, सुनील के. श्रेष्ठ रहेका छन् । त्यसैगरी राजकुमार थापा, विष्णु खनाल, निरञ्जन कोइराला, सुदन झा, आलोक अत्रेय, प्रणिलमान सिंह प्रधान, पिटर आर. होब्स, गणेशकुमार अग्रवाल, उत्तम पौडेल, सुदीप पाण्डे, रामप्रसाद शर्मा, सौरवकुमार झा, निरञ्जन पराजुली, केशव देवकोटा, टी. आर. घिमिरे, समता नेपाल, गोविन्दप्रसाद ढुंगाना, किरण बम, अर्चना श्रेष्ठ र सुनील पोखरेल रहेका छन् ।
एलसेभियरको डेटाबेसमा वैज्ञानिकहरूको अनुसन्धान प्रभाव मापन गर्न उद्धरण संख्या, एच–इन्डेक्स, सहलेखन समायोजित सूचकाङ्क र संयुक्त उद्धरण सूचकाङ्क (सी-स्कोर) लगायतका मापदण्ड समावेश छन्। वैज्ञानिकहरूलाई २० प्रमुख अनुसन्धान क्षेत्र र १७४ उपक्षेत्रमा वर्गीकरण गरिएको छ ।
सन् २०२६ को संस्करणमा करिअरभरको अनुसन्धान प्रभावसम्बन्धी तथ्याङ्क सन् २०२५ को अन्त्यसम्मको हो भने एकवर्षीय सूची सन् २०२५ भरि प्राप्त उद्धरणमा आधारित छ । वैज्ञानिकलाई उद्धरणको संयुक्त सूचकाङ्कका आधारमा विश्वका शीर्ष एक लाखभित्र पर्नु वा आफ्नो अनुसन्धान उपक्षेत्रको शीर्ष दुई प्रतिशतमा पर्नुका आधारमा समेट्न सकिन्छ ।