Hamro Koshi Aawaj

बिहिबार, असोज २९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा लागूऔषधको मुद्दा सबैभन्दा बढी

हाम्रो कोशी आवाज
असोज २९ २०८३, बिहिबार
धरानमा लागूऔषधको मुद्दा सबैभन्दा बढी

धरानः प्रहरी र स्थानीयस्तरबाट लागूऔषध नियन्त्रणका लागि अभियान सञ्चालन भइरहे पनि धरानमा यसको प्रयोग र कारोबार नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको छ । पछिल्लो तीन आर्थिक वर्षको प्रहरी तथ्याङ्कले धरानमा लागूऔषधसम्बन्धी मुद्दा सबैभन्दा बढी रहेको देखाएको छ ।
इलाका प्रहरी कार्यालय धरानका अनुसार आर्थिक वर्ष २०८१/८२ देखि चालु आर्थिक वर्ष २०८३/८४ को असोजसम्म विभिन्न कसुरका एक हजार १७२ मुद्दा दर्ता भएका छन् । तीमध्ये लागूऔषधसम्बन्धी मात्रै ४०६ मुद्दा छन् ।
प्रहरीको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ मा विभिन्न कसुरका ५१७ मुद्दा दर्ता भएका थिए । उक्त अवधिमा ५८१ पुरुष र ६८ महिला पक्राउ परेका थिए । त्यसैगरी, आर्थिक वर्ष २०८२/८३ मा ४९४ मुद्दा दर्ता हुँदा ५०९ पुरुष र ४७ महिला पक्राउ परेका थिए ।
चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि असोजसम्म विभिन्न कसुरका १६१ मुद्दा दर्ता भएका छन् । यस अवधिमा १०३ पुरुष र आठ महिला गरी १११ जना पक्राउ परेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख भीषणबाबु राईले जानकारी दिए । लागूऔषधसँगै अभद्र व्यवहार, बैङ्किङ कसुर, कर्तव्य ज्यान, चोरी, बहुविवाह, भवितव्य ज्यान र जबर्जस्ती करणीका मुद्दासमेत दर्ता भएका छन् ।
प्रमुख राईका अनुसार लागूऔषधको प्रयोग तथा कारोबारमा ज्याला मजदुरी गर्ने र बेरोजगार युवाको संलग्नता बढी देखिएको छ । उमेर समूहका आधारमा १५ देखि ५५ वर्षसम्मका व्यक्ति बढी संलग्न रहेको प्रहरीको भनाइ छ ।
लागूऔषध कारोबारीले सवारीसाधनमा लुकाएर, फल्स बटम बनाएर तथा शरीरका विभिन्न भागमा लुकाइछिपाइ लागूऔषध ओसारपसार र बिक्री वितरण गर्ने गरेको पाइएको छ ।
प्रहरीको तथ्याङ्कमा लागूऔषधसम्बन्धी मुद्दा सबैभन्दा बढी देखिनुले धरानमा यसको नियन्त्रणका लागि थप प्रभावकारी अभियान र निरन्तर निगरानी आवश्यक रहेको सङ्केत गर्छ ।

प्रकाशित मिति: असोज २९ २०८३, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend