धरानः नेपालमा गाँजा खेतीलाई वैधानिकता दिने विषयमा नीतिगत बहस र छलफलहरू चुलिए तापनि व्यावहारिक रूपमा भने अवैध उत्पादन, प्रशोधन र तस्करी दिनानुदिन भयावह बन्दै गएको छ ।
पछिल्ला वर्षहरूमा गैरकानुनी गाँजा ओसारपसार र कारोबारमा व्यापक तीव्रता आएको छ भने यसले सुरक्षा निकायका सामु आन्तरिक तथा सीमा सुरक्षाको ठूलो चुनौती खडा गरेको छ ।
नेपालमा गाँजा खेतीलाई व्यावसायिक वा औषधीय प्रयोजनका लागि वैधानिकता दिने चर्चा चले तापनि तत्काल सरकारबाट आधिकारिक स्वीकृति लिएर व्यवस्थित रूपमा उत्पादन गरिएको उल्लेख्य तथ्यांक भने पाइएको छैन ।
सरकारले गाँजा खेतीको वैधानिकता दिने जनाए पनि त्यसको व्यावहारिक कार्यान्वयन र कानुनी ढाँचा कतिसम्म अघि बढेको छ भन्ने विषय अझै अध्ययनकै घेरामा सीमित छ । यही कानुनी अन्योल र नियामक ढाँचाको अभावका बिच पहाडी तथा दुर्गम भूभागमा अवैध खेतीले निरन्तरता पाइरहेको छ ।
पहाडी तथा दुर्गम क्षेत्रमा हुने अवैध गाँजा खेती, प्रशोधन र तराईका सीमावर्ती क्षेत्र हुँदै छिमेकी मुलुक भारततर्फ गरिने अवैध तस्करीका घटना दैनिकजसो सार्वजनिक भइरहेका छन् । विशेष गरेर धादिङ, मकवानपुर, धनकुटा, भोजपुर र उदयपुरका पहाडी भूभाग गाँजा उत्पादनका मुख्य केन्द्रका रूपमा रहेका छन् ।
सुरक्षा निकायले यी जिल्लाहरूमा हरेक वर्ष हजारौँ रोपनीमा लगाइएको अवैध गाँजा फँडानी अभियान नै सञ्चालन गर्ने गर्छ । तर, बरामदको ठूलो परिमाण हेर्दा गाँजाको उत्पादनमा कुनै कमी आएको देखिँदैन । पहाडी जिल्लाहरूमा उत्पादित गाँजालाई तस्करहरूले सुरुमा धरान, बराहक्षेत्र तथा कटारी (उदयपुर) जस्ता व्यापारिक तथा संकलन केन्द्रहरूमा संकलन गर्ने गरेको जनाइएको छ ।
पछिल्लो समय उदयपुर गाँजा तस्करीको मुख्य ‘हब’का रूपमा देखिएको छ, जहाँ केही दिनअघि मात्रै १ हजार किलोभन्दा बढी गाँजा नियन्त्रणमा लिइएको थियो । संकलित गाँजालाई तराईका सीमावर्ती जिल्लाहरू पुर्याएर खुला सीमाको फाइदा उठाउँदै भारततर्फ तस्करी गर्ने गरिएको छ ।
सुरक्षा निकायहरूको पछिल्लो तथ्यांक अनुसार कोसी र मधेस प्रदेशका सीमावर्ती जिल्लाहरू गाँजा तस्करीका मुख्य ‘ट्रान्जिट’ बनेका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले विगत केही वर्षयता वार्षिक रूपमा देशैभरिबाट हजारौँ किलोग्राम गाँजा बरामद गर्दै आएका छन् । आर्थिक वर्ष २०८१/८२ को तथ्यांक अनुसार कोसी प्रदेशमा मात्रै २६ हजार ६८७ किलोभन्दा बढी गाँजा बरामद भएको छ, जसमध्ये आधाभन्दा बढी अर्थात् १२ हजार ३७६ किलो सुनसरी जिल्लाबाट मात्रै समातिएको थियो। यस्तै, मधेस प्रदेशका आठवटै जिल्लाहरू (सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा) बाट वार्षिक रूपमा १५ हजार किलोग्रामभन्दा बढी गाँजा बरामद हुने गरेको प्रहरी तथ्यांक छ ।
हालैका महिनाहरूमा पनि उदयपुर, सुनसरी, धादिङ र मकवानपुर जस्ता जिल्लाहरूबाट एकैदिन १,००० किलोभन्दा बढी गाँजा बरामद भएका शृंखलाबद्ध घटनाहरू दर्ता भएका छन् ।
पूर्वी र मधेस प्रदेशबाहेक बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि गाँजा बरामद र खेती फँडानीको आँकडा उल्लेख्य रूपमा बढेको पाइन्छ । बागमती प्रदेशका विशेष गरी मकवानपुर, धादिङ, सिन्धुली, र काभ्रेपलाञ्चोक जिल्लाहरूबाट वार्षिक हजारौँ किलो गाँजा बरामद हुने गरेको छ ।
काठमाडौँ उपत्यका छिर्ने मुख्य नाकाहरू र बागमतीका पहाडी राजमार्गहरूमा जाँच कडा पारिँदा सवारी साधनभित्र लुकाएर काठमाडौँ तथा तराईतर्फ लैजाँदै गर्दा ठूलो मात्रामा गाँजा पक्राउ पर्ने गरेको छ । गण्डकी प्रदेशका कास्की, स्याङ्जा, तनहुँ र बागलुङका दुर्गम क्षेत्रहरूमा पनि प्राकृतिक रूपमा उम्रिने तथा व्यावसायिक रूपमा लगाइने गाँजा खेती फँडानी गर्न प्रहरीले वर्षेनि टोली परिचालन गर्ने गरेको छ ।
त्यस्तै लुम्बिनी प्रदेशका दाङ, बाँके, बर्दिया र कपिलवस्तु जस्ता भारतसँग सीमा जोडिएका जिल्लाहरूबाट समेत भारततर्फ लैजान लागिएका सयौँ किलो गाँजाका खेपहरू सशस्त्र प्रहरी र नेपाल प्रहरीले नियन्त्रणमा लिँदै आएका छन् ।
यसैगरी कर्णाली प्रदेशका सुर्खेत र जाजरकोट तथा सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर र डडेल्धुराका नाकाहरूमा समेत गाँजा ओसारपसारमा संलग्न गिरोहहरू निरन्तर पक्राउ परिरहेका छन् । सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी बल नेपालले भारतीय सीमा क्षेत्र नजिकैका सिरहा, मोरङ, धनुषा, सुनसरी, बाँके र कैलालीका बिओपी तथा गस्ती टोलीहरूमार्फत लगातार गाँजाको ठूलो परिमाण नियन्त्रणमा लिँदै आएको छ ।
सीमावर्ती नाकाहरूबाट तरकारी बोक्ने गाडी, एम्बुलेन्स, यात्रुबाहक बस, रिक्सा, मोटर साइकल र पैदलसमेत भारत लैजान लागिएको विभिन्न परिमाणको गाँजा बरामद गर्ने गरेको छ । केही दिनअघि प्रहरी चेकिङबाट भागेको स्कोरपियो जिप दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । सो जिपमा ३४१ किलो गाँजा भेटिएपछि मात्रै प्रहरी चेकिङबाट भाग्नुको कारण पत्ता लागेको थियो ।
सशस्त्र प्रहरीले हरेक दिनजस्तो विभिन्न परिमाणका गाँजातस्कर अथवा गाँजा र कतिपय अवस्थामा गाँजामात्रै नियन्त्रणमा लिएका उदाहरणहरू छन् । नेपाल प्रहरीले गाँजा ओसारपसारमा कडाइ गरेसँगै सम्बन्धित तस्कर तथा व्यावसायिक गिरोहहरूले तस्करीका नयाँ र चलाखीपूर्ण शैली अपनाउन थालेका छन् ।
छिमेकी भारतीय राज्य बिहारमा मदिरा बिक्री–वितरणमा पूर्ण प्रतिबन्ध रहेकाले त्यहाँ गाँजा तथा अन्य नशालु पदार्थको माग र बजार मूल्य अत्यधिक उच्च छ । यही उच्च आर्थिक लाभका कारण तस्करहरूले एम्बुलेन्स, फलफूल तथा तरकारी बोक्ने गाडी, वा मकै र धानको भुसभित्र गाँजाका पोकाहरू लुकाएर लैजाने नयाँ शैली अपनाएका छन् ।
नेपाल प्रहरीले अवैध गाँजा खेती नष्ट गर्न हजारौँ रोपनी जमिनमा खेती फँडानी गरेर र सशस्त्र प्रहरीले सीमा क्षेत्रमा कडाइका साथ निरन्तर अपरेसन चलाइरहेका छन् । यद्यपि, देशका दुर्गम पहाडी भेगको भौगोलिक कठिनता, नेपाल–भारतबिच रहेका अनगिन्ती खुला नाकाहरू र तस्करीबाट प्राप्त हुने उच्च आर्थिक लाभका कारण गाँजा नियन्त्रण अझै पनि सुरक्षा निकायका लागि ठूलो र जटिल चुनौतीका रूपमा उभिएको छ ।