धरानः भारीदेखि अति भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै धरान उपमहानगरपालिकाले उपमहानगर क्षेत्रका सबै विद्यालय एकदिन बन्द गर्ने निर्णय गरेको छ ।
मिनापचास बिदाबाट एकदिनको बिदा दिने निर्णय भएको जनाउँदै पठनपाठन नगर्न सबै विद्यालयलाई निर्देशन समेत दिइएको छ ।
शिक्षा महाशाखाका अधिकृतस्तर सातौं उमाकुमारी दाहालका अनुसार उपमहानगरपालिकाभित्र सञ्चालित सम्पूर्ण सामुदायिक, संस्थागत (निजी) तथा धार्मिक विद्यालयमा असोज ८ र ९ गते दुई दिन ‘मिनपचास’ (हिउँदे) बिदाबाट कट्टा हुने गरी बिदा दिइएको हो ।
महाशाखाले अभिभावक, विद्यार्थी तथा सरोकारवालालाई मौसमको सम्भावित जोखिमबाट सुरक्षित रहन र सतर्कता अपनाउनसमेत आग्रह गरेको छ ।
जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि असोज ११ गतेसम्म देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षा हुनसक्ने पूर्वानुमान गरेपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै विद्यालय बन्द गर्ने निर्णय गरिएको उपमहानगरपालिकाले जनाएको छ ।
देशभर प्रतिकूल मौसमका कारण हावाहुरी, चट्याङसहित भारी वर्षाको जोखिम बढ्ने जनाइएको छ ।