Hamro Koshi Aawaj

शुक्रबार, मंसिर ४ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको बीपी प्रतिष्ठानमा वैज्ञानिक कार्यक्रम

हाम्रो कोशी आवाज
मंसिर ४ २०८३, शुक्रबार
धरानको बीपी प्रतिष्ठानमा वैज्ञानिक कार्यक्रम

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको वार्षिक वैज्ञानिक कार्यक्रम सम्पन्न भएको छ ।
प्रतिष्ठानमा कार्यरत शिक्षक, चिकित्सक तथा अध्ययनरत् विद्यार्थीहरूले गरेका विभिन्न प्रकारका अनुसन्धान कार्यहरू सबै माझ प्रस्तुत होस् भन्ने उद्देश्यले प्रतिष्ठानको वार्षिकोत्सवको अवसर पारेर सो कार्यक्रमको आयोजना गरिने गरिएको भएतापनि यसवर्ष भने देशमा गएको भोटेकोशी बाढी–पहिरोको महाविपद्लाई मध्यनजर गर्दै कार्यक्रम स्थगित गरी केही महिना ढिलो गरेर हाल सम्पन्न भएको हो ।
प्रतिष्ठानको संंयोजकत्वमा गत नोभेम्बर १८ देखि शुरु भएको कार्यक्रमको समुद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा प्रतिष्ठानकी उपकुलपति प्रा.डा. स्मृति कार्कीले पानसमा बत्ती बालेर गरेका थिए । प्रतिष्ठानको अडिटोरियममा सम्पन्न सो उद्घाटन कार्यक्रमका अवसरमा कार्यक्रमका प्रमुख वक्ता प्रतिष्ठानका पूर्व शिक्षाध्यक्ष तथा इन्टर्नल मेडिसिन विभागका प्रमुख प्रा.डा. सञ्जीवकुमार शर्मा, प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. शिवेन्द्र झा, रजिष्ट्रार धरणीधर बराल, अस्पताल निर्देशक डा. इन्द्रकुमार लिम्बू, प्रवक्ता प्रा.डा. शमशेर श्रेष्ठलगायतको उपस्थिति थियो ।
आयोजक समितिका अध्यक्ष तथा रिसर्च डीन प्रा.डा. आशिष सुवेदीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा प्रतिष्ठानका शिक्षक विद्यार्थीहरुले तयार गरेका अनुसन्धान शोधपत्रको अनावरण समेत गरिएको थियो ।


कार्यक्रमका मुख्य वक्ता प्रा.डा. शर्माले क्लिनिक अनुसन्धानसम्बन्धी व्यक्तिगत दृष्टिकोण शीर्षकमा ज्ञानवद्र्धक कुराहरु पस्किएका थिए । उनले चिकित्सा विज्ञानको विकासमा क्लिनिकल रिसर्चको अपरिहार्यतामाथि प्रकाश पारे । मुख्यतया उनले सैद्धान्तिक ज्ञानलाई बिरामीको प्रत्यक्ष उपचार र जीवनरक्षासँग जोड्न क्लिनिकल अनुसन्धान नै एकमात्र भरपर्दो माध्यम रहेको उल्लेख गरे । वर्षौँसम्म चिकित्सा अभ्यास र अनुसन्धानमा बिताउँदाका आफ्ना व्यक्तिगत अनुभव, चुनौती र सिकाइहरूलाई उनले सहभागीहरूमाझ सजीव रूपमा प्रस्तुत गरे । विदेशी अनुसन्धानको मात्र भर नपरी आफ्नै देशको परिवेश, हावापानी र बिरामीहरूको प्रकृति सुहाउँदो मौलिक अनुसन्धान गर्नुपर्नेमा उनले विशेष जोड दिए । उनले युवा चिकित्सक तथा शोधकर्ताहरूलाई केवल नियमित उपचारमा मात्र सीमित नभई नयाँ तथ्य पत्ता लगाउन र वैज्ञानिक लेखन तथा अनुसन्धानमा सक्रिय हुन अभिप्रेरित गरे ।
हरेक वर्ष प्रतिष्ठानको वार्षिकोत्सवका दिन आयोजना गरिने उक्त कार्यक्रम यस वर्ष भने भोटेकोशी विपद्का कारण वार्षिकोत्सवका सम्पूर्ण कार्यक्रम स्थगन गरिएसँगै भाषणको कार्यक्रम समेत रोकिएको थियो ।
विशेष आकर्षणका रुपमा रहेको २४ औं बीपी कोइराला स्मृति प्रवचन–२०२६ भव्यरूपमा सम्पन्न भएको थियो । कार्यक्रममा विशिष्ट वक्ताका रूपमा विश्व स्वास्थ्य सङ्गठनको दक्षिण–पूर्वी एसिया क्षेत्रीय कार्यालय, नयाँ दिल्ली (भारत) का निर्देशक प्रा.डा. सुमन रिजालको विशेष उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रा.डा. रिजालले उत्कृष्टता, प्रमाण र नवप्रवर्तन ः रोग निवारणतर्फको यात्रा विषयमा केन्द्रित रहेर आफ्नो विशेष प्रवचन दिए । उनले जनस्वास्थ्यका चुनौतीहरू समाधान गर्न र संक्रामक तथा अन्य घातक रोगहरूको पूर्ण निवारणका लागि चिकित्सा क्षेत्रमा गुणस्तरीय उत्कृष्टता, वैज्ञानिक तथ्य तथा प्रमाणमा आधारित अभ्यास र आधुनिक नवप्रवर्तन अपरिहार्य रहेकोमा जोड दिए ।
तीन दिन सम्म चलेको सो कार्यक्रमका लागि ११४ वटा मौलिक अनुसन्धान तथा ५६ वटा घटना विवरण गरी जम्मा १७० वटा सांरास पेश भए । जसमध्ये ८४ जनालले पोष्टर प्रस्तुति, गरे भने ८६ जनाले मौखिक प्रस्तुति दिएका थिए । सांरासहरू पेश गर्नेहरुमा ३२ जना शिक्षक, लेक्चरर सिनियर रेसिडेन्ट एवम् १३० जना स्नातकोत्तर र ८ जना स्नातकमा अध्ययनरत विद्यार्थीहरू रहेका थिए ।
प्रतिष्ठानको अडिटोरियममा नोभेम्बर २०, २०२६ का दिन आयोजना गरिएको समापन समारोहमा उपकुलपति, रजिष्ट्रारर आयोजक समितिका अध्यक्ष तथा अनुसन्धान डीनले सम्पूर्ण विजयी विद्यार्थी तथा शिक्षकलाई पुरस्कार वितरण गर्नुभएको थियो । उक्त समापन समारोहको प्रमुख अतीथि उपकुलपतिज्यू रहनु भएको थियो । उपस्थित सम्पूर्णलाई धन्यवाद मन्तव्य आयोजक समिति सदस्य प्रा.डा. राजिव महर्जनले दिनु भएको थियो ।
आयोजक समितिकी सदस्य तथा एनेस्थसियोलोजी विभागकी प्रा.डा. सिन्धु खतिवडाले सो उद्घाटन सत्रको सञ्चालन गरिन् । यस्तै, कार्यक्रमको सञ्चालन डा. शितल गुप्ता र डा. रेखा लिम्बूले गरिन् ।

प्रकाशित मिति: मंसिर ४ २०८३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend