Hamro Koshi Aawaj

आइतबार, मंसिर ६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

मुन्धुम पाठशाला सञ्चालनमा आउने, चुलाचुलीमा मंसिर १० गते किरात धर्म संरक्षक गुरुको जन्मोत्सव मनाइने

हाम्रो कोशी आवाज
मंसिर ६ २०८३, आइतबार
मुन्धुम पाठशाला सञ्चालनमा आउने, चुलाचुलीमा मंसिर १० गते किरात धर्म संरक्षक गुरुको जन्मोत्सव मनाइने

धरानः मुन्धुमविद तथा किरात सत्यहाङमा धर्म संरक्षक गुरु लाफयङ देवबहादुर तुम्बापोको ८३ औं जन्मजयन्ति भव्यरुपमा मनाइने भएको छ ।
आउँदो मंसिर १० गते जन्मजयन्ति साथै राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको पहिलो जीवनी लेखक, सम्पादक, संकलन तथा प्रकाशक सानो गुरु बद्रीनन्द तुम्बापोको शालिक अनावरण समेत गरिने भएको हो । सोहीदिन किराती समुदायको भाषा, सभ्यता, संस्कार, संस्कृति साथै धर्म, दर्शन साथै मुन्धुमको संरक्षण तथा पुस्तान्तरण गर्ने उद्देश्यले ‘मुन्धुम पाठशाला’ स्थापना हुने फाल्गुनन्द नोमाङगेना सेवा संघका अध्यक्ष डम्बरकुमार तुम्बापोले जानकारी दिए ।
मुन्धुम पाठशाला उद्घाटन साथै सारा सकल प्राणीको रक्षार्थ विश्वशान्तिको कामना गर्दै माङ्गेना चोत्लुङ कार्यक्रम सम्पन्न हुने संस्थाका सचिव पूर्णकुमार चेम्जोङले जानकारी दिए । कार्यक्रम कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विदुर लिङथेपको प्रमुख आतिथ्यतामा सम्पन्न हुनेछ ।
किरात धर्म, दर्शन र मुन्धुमको अध्ययन तथा अनुसन्धानका लागि इलाममा ‘मुन्धुम पाठशाला’ सञ्चालन हुन लागेको फाल्गुनन्द लाफयङ बहुभाषिक पाठशालाका उपाध्यक्ष नाम्लिहाङ चेम्जोङले जानकारी दिए । ‘विशेषतः पूर्वमा रहेका किरात समुदायको मौलिक ज्ञान, दर्शन, संस्कार, संस्कृति र परम्परासँग जोडिएको मुन्धुमको खोज, अध्ययन तथा अनुसन्धानलाई संस्थागत गर्ने प्रयास पनि हो’, उनले भने, ‘यो प्रयासलाई धेरैले अहिले सह्रानीय काम पनि भनिरहनुभएको छ र नैतिक साथै आर्थिक सहयोग पनि गरिररहनुभएको छ ।’
किरात धर्मावलम्वीहरूको उदगमस्थल र आस्थाको केन्द्र फक्ताङलुङ यात्राको क्रममा तीर्थयात्राको टोली निस्किएको थियो । सोही अवसरमा यो कन्सेप्ट आएको संस्थाका अध्यक्ष तुम्बापो बताउँछन् । ‘वैशाख २२ गते ६३ जनाको टोली पैदलयात्रापछि फक्ताङलुङ पुगेका थियौं, त्यही दिन मुन्धुम पाठशाला घोषणा गरिएको थियो, भनौं फक्ताङलुङ यात्राले जुराएको यो सपना हो ।’ अध्यक्ष तुम्बापो बताउँछन् ।
मुन्धुम पाठशाला नेपालकै पहिलो हुन सक्ने आयोजकले दाबी गरेको छ । ‘मुन्धुम केवल धार्मिक अनुष्ठानसँग सम्बन्धित विषय मात्र नभई किरात समुदायको सामाजिक जीवन, प्रकृति, मानव सभ्यता, संस्कार, इतिहास, नैतिकता र जीवनदर्शनसँग जोडिएको मौखिक ज्ञानपरम्परा भएकाले यसको संरक्षण र अध्ययन आवश्यक रहेको छ’, उनी भन्छन् ।
पाठशालामार्फत मुन्धुमका विभिन्न पक्षलाई विज्ञ, मुन्धुमविद्, अध्येता, गुरु तथा सम्बन्धित समुदायका जानकार व्यक्तिहरूमार्फत खोज तथा अध्ययन गर्ने योजना रहेको बताइएको छ । विशेषगरी नयाँ पुस्तामा आफ्नो भाषा, संस्कृति, मौलिक इतिहास र पुख्र्यौली ज्ञानप्रति चासो बढाउने तथा लोप हुँदै गएका मौखिक परम्परालाई अभिलेखीकरण गर्ने कामलाई पाठशालाले प्राथमिकतामा राख्ने अपेक्षा गरिएको छ ।
जन्मजयन्त्रिका अवसरमा दुईदिने सांस्कृतिक, धार्मिक साथै शैक्षिक मिनी महोत्सवको पनि आयोजना गरिने आयोजकले जनाएको छ । महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको पनि उपस्थिति साथै बेजोड सांगीतिक कार्यक्रम रहने आयोजकले जनाएको छ ।
इलामको चुलाचुली गाउँपालिका–१ स्थित फाल्गुनन्द लाफयङ बहुभाषिक पाठशालामा वर्षेनी यो कार्यक्रम हुँदै आइएरहेको छ । सो दिन स्थानीय सरकारले एकदिने बिदा समेत दिँदै आइरहेको छ ।
इलामको चुलाचुली–१ स्थित फाल्गुनन्द लाफयङ बहुभाषिक पाठशाला पनि याक्थुङ भाषा तथा संस्कृतिको संरक्षण र शिक्षाका क्षेत्रमा लामो समयदेखि क्रियाशील रहेको छ । पाठशालामा वर्षेनी हुने कार्यक्रममा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी, सो बेलाका सभामुख स्व. सुभासचन्द्र नेम्वाङ, शिक्षामन्त्री धनीराम पौडेललगायत, प्रदेशका मन्त्रीको सहभागिता भइसकेको छ ।

प्रकाशित मिति: मंसिर ६ २०८३, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend