तस्वीरः रुटिन अफ धरान बन्द
धरानः विद्यार्थीले धरान उपमहानगरपालिकाको परिसरमा नाराबाजी गरेका छन् ।
शिक्षक नियुक्ति नगरेको र शिक्षक सरुवा गरिएको भन्दै धरान–११ स्थित ज्ञानोदय मावि र धरान–६ स्थित सरस्वती माविका विद्यार्थीहरूले धरान उपमहानगरपालिकामा पुगेर नाराबाजी गर्दै घेराउ समेत गरेका हुन् । उनीहरूले धरान उपमहानगरपालिकाका कार्यबाहक मेयरको कार्यकक्ष घेराउ गरेका थिए ।
सामाजिक, नेपाली, अर्थशास्त्रलगायत विषयमा शिक्षक नभएको र पठनपाठन प्रभावित भइरहेको भन्दै विद्यार्थीको ठूलो समूह धरान उपमहानगरपालिका पुगेको थियो । कार्यवाहक मेयर अइन्द्रविक्रम बेघा खोज्दै उपमहानगर पुगेका विद्यार्थीले जबसम्म शिक्षक पठाइँदैन आन्दोलन गरिरहने भन्दै विद्यार्थीले नाराबाजी समेत गरेका छन् ।
असल शिक्षकलाई ल्याउन माग गर्दै आफूहरु आन्दोलित बनेको विद्यार्थी सागर तामाङले बताए । उपमहानगरपालिकाका कार्यवाहक मेयर बेघाले शिक्षक नियुक्ति गर्दा सही गरेर पठाइएको समेत विद्यार्थीको आरोप छ । विद्यार्थी तामाङले शिक्षक नियुक्तिमा राजनीतिक चलखेल हुन नहुने बताए । उनले असल शिक्षकको सरुवा हुन नहुने समेत बताए ।