धरानः धरानमा शिक्षक माग्दै आमरण अनसनमा बसेका एक युवाले फिनेल सेवन गरेका छन् ।
धरान उपमहानगरपालिकाको कार्यवाहक मेयर मेयर अइन्द्रविक्रम बेघाको कार्यकक्ष अगाडि ढोकामा आमरण अनसनमा बसेका रोजन शंकरले फिनेल सेवन गरेका हुन् । विज्ञापनको माग गर्दै हिजोदेखि आमरण अनशन बसेका उनले फिनेल सेवनपछि उनलाई तत्काल धरानस्थित बीपी प्रतिष्ठानमा उपचारका लागि लगिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी भीषणबाबु राईले जानकारी दिए ।
अहिले सामाजिक सञ्जालभरी फिनेल ल्याउनेलाई पनि कारवाही गर्नुपर्ने भन्दै माग उठेको छ । सिसी क्यामेरा हेरेर प्रहरीले यस विषयमा अनुसन्धान अगाडि बढाउन माग गर्न थालिएको छ । प्रहरीले भने आफैंले फिनेल ल्याएर खाएको पाइएको जनाएको छ ।
उपमहानगरपालिका भवन परिसरमा रहेको शौचालयभित्र पसेर लुकाएर ल्याएर रोजनले फिनेल सेवन गरेको पाइएको उनले जानकारी दिए । ‘उनी आफैंले उपहानगरपालिकाभित्रैको शौचालयबाट लुकाएर ल्याएर फिनेल पिएको पाइएको छ’, उनले भने, ‘उनलाई अस्पताल भर्ना गरिएको छ, अवस्था सामान्य छ ।’ उनले भने ।
शिक्षक नियुक्तिको माग गर्दै धरानका दुई सामुदायिक विद्यालयका विद्यार्थीले कार्यवाहक मेयर बेघाको कार्यकक्ष बिहीबारदेखि नै कब्जा जमाउँदै आएका छन् भने तालाबन्दी समेत गरेका छन् ।
धरान-११ स्थित ज्ञानोदय माध्यमिक विद्यालय र धरान-६ स्थित सरस्वती माध्यमिक विद्यालयका कक्षा १० मा अध्ययनरत विद्यार्थीले बिहीबार नगर प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका थिए । शिक्षकको पदपूर्तिका लागि पटक-पटक ध्यानाकर्षण गराउँदा पनि नगरपालिकाले बेवास्ता गरेको विद्यार्थीको आरोप छ ।
सरस्वती माविमा सामाजिक शिक्षक र लेखापाल रिक्त धरान-६ स्थित सरस्वती माविमा सामाजिक विषयको शिक्षक पद करिब आठ महिनादेखि रिक्त छ । विद्यालयले रिक्त पदमा विज्ञापन खोल्न नगरपालिकासँग अनुमति मागे पनि अनुमति नपाएको जनाएको छ । व्यवस्थापन समितिले विज्ञापन गरी आवेदन संकलन गरे पनि परीक्षा र नियुक्ति प्रक्रिया अघि बढ्न सकेको छैन । धरान-११ स्थित ज्ञानोदय माविमा पनि रिक्त शिक्षक पदपूर्ति हुन सकेको छैन ।
शिक्षक नियुक्ति गर्न नगरपालिकाले जानाजानी रोकेको आरोप कार्यवाहक नगर प्रमुख बेघाले अस्वीकार गर्दै आएका छन् । उपमहानगरपालिकाले रिक्त पदमा नियमअनुसार सार्वजनिक सूचना जारी गरी योग्य व्यक्ति छनोट गर्नुपर्ने बताउँदै आएको छ । विद्यालयभित्रको आन्तरिक विवाद समाधान गरेर शिक्षक नियुक्तिको प्रक्रिया अघि बढाउनुपर्ने बेघाको भनाइ छ ।