धरानः धरान-८ को स्मार्ट बसपार्कबाट धरानको भानुचोकमा यात्रु ओराल्न दिनुपर्ने यातायात व्यवसायीले माग गरेका छन् ।
स्मार्ट बसपार्कदेखि आउँदा धरानमा बसोबास गर्ने सर्वसाधारण, तीर्थयात्री, पर्यटक, उपचारका लागि आउने बिरामी, व्यापारी र विद्यार्थीसमेत प्रभावित भएको जनाइएको छ ।
स्मार्ट बसपार्क सञ्चालन तथा व्यवस्थापनमा सहजीकरण गरिदिन माग गर्दै धरानका विभिन्न यातायात व्यवसायी तथा मजदुर पक्षले धरान उपमहानगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएका छन् । पूर्वेली यातायात व्यवसायी सेवा (कम्पनी) धरान, बस व्यवसायी तथा उपभोक्ता प्रदर्शन केन्द्र इटहरी, सप्तकोशी यातायात व्यवसायी प्रबन्ध प्रतिष्ठान धरान र संयुक्त यातायात प्रा.लि. धरानसहितका पक्षले नगर प्रमुखसमक्ष पत्र बुझाउँदै यात्रुबाहक सवारी सञ्चालन तथा आवागमनमा सहजीकरण गरिदिन माग गरेका हुन् ।
पत्रमा उपमहानगरपालिकाबाट विभिन्न मितिमा बसपार्क व्यवस्थापनका लागि मूल समिति तथा उपसमितिहरू गठन गरी सरोकारवाला पक्षसँगको छलफलबाट स्मार्ट बसपार्कलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने प्रयास गरिएको उल्लेख छ । स्मार्ट बसपार्क उदघाटनपछि सञ्चालनमा ल्याइएको र यातायात व्यवसायी, मजदुरलगायतको सहयोगमा विवादरहित ढंगले सञ्चालन हुँदै आएको उनीहरूको दाबी छ ।
यातायात व्यवसायीहरूले बसपार्क सञ्चालनसँग सम्बन्धित समस्याका कारण यात्रु तथा यातायात मजदुरसमेत आर्थिक भारमा परेको बताएका छन् । साथै, यातायात क्षेत्रमा लगानी गरेका व्यवसायी र आश्रित परिवारका सदस्यको रोजगारी तथा आम्दानीमा समेत असर पर्ने अवस्था सिर्जना भएको उनीहरूको भनाइ छ ।