Hamro Koshi Aawaj

आइतबार, असोज ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

प्रहरीलाई छल्दै भागेको स्कारपियो कारसँग ठोक्कियो, ३९८ किलो गाँजा फेला

हाम्रो कोशी आवाज
असोज ११ २०८३, आइतबार
प्रहरीलाई छल्दै भागेको स्कारपियो कारसँग ठोक्कियो, ३९८ किलो गाँजा फेला

धरानः प्रहरीलाई छल्दै भाग्दै गरेको स्कारपियो गाडी अन्ततः दुर्घटनामा परेको छ । दुर्घटनामा परेको स्कारपियो गाडीबाट प्रहरीले ३९८ किलो गाँजा बरामद गरेको छ ।
विराटनगरस्थित आयल निगम अगाडि शनिबार राति दुर्घटनामा परेको को १ च ७३९९ नम्बरको स्कारपियोेबाट १३ वटा प्याकेटमा राखिएको अवस्थामा गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।
इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको स्कारपियो शनिबार राति करिब १० बजे आयल निगम अगाडि अर्को कारसँग ठोक्किएर दुर्घटनामा परेको थियो । दुर्घटनापछि प्रहरीले गाडी जाँच गर्ने क्रममा गाँजा फेला पारेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक लेखनाथ दाहालले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा स्कारपियोको अगाडिको भागमा क्षति पुगेको छ । दुर्घटनापछि चालक गाडी छाडेर फरार भएका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
बरामद गाँजा कहाँबाट ल्याइएको र कहाँ लैजान लागिएको थियो भन्ने खुलेको छैन । गाँजा ओसारपसारमा संलग्न व्यक्तिको पहिचान तथा घटनाको थप विवरण पत्ता लगाउन अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार कोशी प्रदेशका पहाडी जिल्लाबाट उत्पादन तथा संकलन गरिएको गाँजा विभिन्न माध्यमबाट तराईका सीमावर्ती क्षेत्रसम्म ल्याउने र त्यहाँबाट भारततर्फ तस्करी गर्ने गरिएको छ । पहाडी क्षेत्रमा तुलनात्मक रूपमा सस्तोमा पाइने गाँजा भारतमा महँगो मूल्यमा बिक्री हुने भएकाले यसको अवैध ओसारपसार हुने गरेको प्रहरीको भनाइ छ ।
दुर्घटनामा परेको सो गाडी अहिले प्रहरीको नियन्त्रणमा छ । प्रहरीले फरार चालकको खोजी गर्नुका साथै गाँजा ओसारपसारमा संलग्न अन्य व्यक्तिबारे समेत अनुसन्धान अघि बढाएको जनाएको छ ।

 

 

प्रकाशित मिति: असोज ११ २०८३, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend