धरानः सुनसरी प्रहरीले विभिन्न स्थानबाट लागूऔषधसहित पक्राउ गरेको छ ।
सुनसरीमा प्रहरीले चेकजाँच गर्दा मोटरसाइकलमा हिँडेका चालकसहित तीनजनालाई लागूऔषध ब्राउन सुगरसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ रतुवामाई नगरपालिका वडा नं. ४ बस्ने वर्ष २९ को सन्तोष मोक्तान, पछाडि सवार जिल्ला सुनसरी बराहक्षेत्र नगरपालिका वडा नं. ६ बस्ने वर्ष २९ को चन्दनकुमार बहरदार, पछाडि सवार उदयपुर त्रियुगा नगरपालिका वडा नं. ३ बस्ने वर्ष २९ को दीपक दनुवार रहेका छन् ।
सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं. ९ स्थितमा इलाका प्रहरी कार्यालय महेन्द्रनगर, प्रहरी चौकी प्रकाशपुर र प्रहरी चौकी मधुवन सुनसरीबाट संयुक्तरुपमा खटिएको प्रहरी टोलीले लौकहीबाट चक्रघट्टीतर्फ आउँदै गरेको बाग्मती प्रदेश–०२–०५९ प १२८५ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा लागूऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । उनीहरुको साथबाट लागू औषध ब्राउन सुगर ८.११ ग्राम र प्रतिबन्धित औषधि एन्टिकोफ ३०० पिस ट्याब्लेट फेला परेको प्रहरीले जनाएको छ ।
यस्तै, इटहरी उपमहानगरपालिका वडा नं. ०५ स्थितमा लागूऔषध विक्री वितरण भइरहेको छ भन्ने प्राप्त सूचनाको आधारमा अस्थायी प्रहरी चौकी जनताबस्ती सुनसरीबाट खटिएको प्रहरी टोलीले २३ वर्षीय निशान सार्कीको घर कोठा खानतलासी तथा चेकजाँच गर्दा निजको कोठाबाट लागूऔषध स्पासपेन एक सय साठी पिस ट्याब्लेट र ट्रामोल १६० पिस क्याप्सुल फेला परेको प्रहरीले जनाएको छ ।
इनरुवा नगरपालिका वडा नं. ४ बसचोक स्थित अस्थायी प्रहरी पोष्ट बसपार्क इनरुवा सुनसरीबाट खटिएको प्रहरी टोलीले लौकहीबाट इनरुवातर्फ पैदल आउँदै गरेको वडा ७ बस्ने वर्ष २१ को अनुजकुमार सिंहलाई शंका लागि खानतलासी तथा चेकजाँच गर्दा निजको साथबाट लागू औषध ब्राउन सुगर ०.३६ ग्राम फेला परेको प्रहरीले जनाएको छ ।
यस्तै, देवानगंज गाउँपालिका वडा नं. ६ जिरोग्वा नहर स्थितमा इलाका प्रहरी कार्यालय देवानगंज सुनसरीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ अवैध रुपमा ल्याउँदै गरेको अन्दाजी मूल्य रू ४ लाख ३६ हजार बराबरको भन्सार छलीका लत्ता कपडा तथा कस्मेटिक सामानहरु बरामद गरी आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय देवानगंज सुनसरीमा ल्याई राखिएको प्रहरीले जनाएको छ ।