Hamro Koshi Aawaj

आइतबार, असोज ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सांसद् हर्क साम्पाङले जेठी पत्नीले अंश मागेको फैसला ‘भाइरल’, भित्री वास्तविकता यस्तो

हाम्रो कोशी आवाज
असोज ११ २०८३, आइतबार
सांसद् हर्क साम्पाङले जेठी पत्नीले अंश मागेको फैसला ‘भाइरल’, भित्री वास्तविकता यस्तो

धरानः धरानका तत्कालीन मेयर तथा प्रतिनिधि सभा सदस्य सांसद् हर्कराज राई (साम्पाङ) की जेठी पत्नीले दायर गरेको अंश मुद्दामा अदालतले उनलाई अंश दिनुपर्ने फैसला गरेको फैसलाको पाठ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
यो अंश मुद्दाको फैसला २०७६ साल असार १२ गते भएको हो । जेठी पत्नी दिलमाया राईले दायर गरेको मुद्दाको फैसला आदेश बल्ल सार्वजनिक भएको हो । राईले दायर गरेको मुद्दामा अदालतले उनलाई अंश दिनुपर्ने फैसला गरेको हो । दिलमायाले कुटपिट गरी घर निकाला गरेको दाबी गर्दै अंश माग गरेकी थिइन् । अदालतले कुल सम्पत्तिलाई ५ अंशियार कायम गर्दै साम्पाङको भागमा पर्ने हिस्साबाट जेठी पत्नीलाई १–१५ भाग अंश छुटयाइदिनुपर्ने ठहर गरेको हो ।
सुनसरी जिल्ला अदालतका न्यायाधीश मणिराम न्यौपानेले श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका साम्पाङका नाममा जारी गरेको मुद्दामा पतिले कुटपिट गरेर घर निकाला गरेको भन्दै शुरुमा अदालत गुहार्न गएकी र पछि हर्कको रिटमा म्याद गुजारी बसेकी जेठी पत्नी दिलमायालाई अंश दिनुपर्ने अदालतको फैसला ०७६ साल असार १२ गते नै भएको देखिएतापनि दिलमायाले अदालती प्रक्रियाको म्याद गुजारेको आदेशमा उल्लेख छ । साम्पाङको मागबमोजिम नै सम्बन्धबिच्छेदका निम्ति पनि अदालतले सहमति जनाएको देखिन्छ ।
दिलमायाको फिराद पत्रमा वैवाहिक जीवन शुरु भएदेखि नै पति साम्पाङसँग झैझगडा र कुटपिट हुने गरेको फिराद गरेकी छन् । पत्नी दिलमायाले साम्पाङले परस्त्रीसँग नाजायज सम्बन्ध राखेको आरोप लगाएकी छन् । आफू विदेशबाट फर्किएपछि पनि साम्पाङले त्यस्तै सम्बन्ध कायम राखेको र उल्टै आफूलाई कुटपिट गरी ज्यानै जाने अवस्था सिर्जना गरेको दिलमायाको फिरादमा उल्लेख गरेकी छ । पतिको एक भागबाट आफू, पति साम्पाङ र छोरीबीच पुनः तीन भाग लगाएर त्यसको एक भाग आफूले पाउनुपर्ने माग गरेकी थिइन् ।
दिलमायाले हर्क सम्पाङसंग २०५४ पुस ८ गते प्रेम विवाह भएको र उनीहरूबाट एक छोरीको जन्म भएको छ । अदालतद्वारा सम्पत्ति पाँच भाग लगाएर साम्पाङको भागमा पर्ने एक हिस्सालाई उनी, पत्नी दिलमाया र छोरी एलिसाबीच ३ भाग लगाएर दिलमायालाई त्यसको एक भाग अंश दिनुपर्ने फैसलामा उल्लेख छ । अदालतले नाता, पुस्तावली तथा पेस भएका प्रमाणहरू अध्ययन गरी हर्क, उनका दाजुहरू आशयकुमार राई र एकराज राई, आमा जसमाया राई, धनकुमारी राई गरी ५ अंशियार कायम गरेको हो । दिलमायाले २०७३ असोज ६ गते सुनसरी जिल्ला अदालतमा मुद्दा दायर गरेकी थिइन् ।
उता साम्पाङले आफूहरूबीच कानुनबमोजिम सम्बन्धविच्छेद भइसकेको बताएका छन् ।  पुरानो फैसला यतिबेला सामाजिक सञ्जालमा भाइरल भएपछि उनले यस्तो स्पष्टीकरण दिएका हुन्। पत्रकारहरूसँगको कुराकानीमा उनले दिलमायाले नै सम्बन्ध विच्छेद गर्न चाहेको र आफूले पनि सोहीअनुसार गरेको बताए । घरेलु हिंसा गरेको भन्नेबारे मित्थ्या रहेको उनले बताए । दिलमाया विदेशमा रहेको र करिब १३ वर्ष आफूले पर्खिएको समेत बताएका छन् । उनले कक्षा–८ पढ्दै गर्दा नै विवाह गरेको पनि बताएका छन् । उनले एक पत्रकारले सोधेको प्रश्नमा भनेका भिडियोमार्फत् भनेका छन्– ‘मैले १२ वर्ष पखिंदा पनि डिभोर्स नै गर्न चाहेकाले उहाँको इच्छा अनुसार नै छुट्टिएका हौं । यो आजभन्दा करिब २० देखि २५ वर्ष अघिको कुरा हो ।’
१२ वर्षको लामो पर्खाइपछि पुनः मिलनको प्रस्ताव राख्दा जेठी श्रीमतीले अस्वीकार गर्दै मुद्दाहरू दर्ता दायर गरेको उनले बताए । साम्पाङले भने, ‘१२ वर्षको लामो पर्खाइपछि पुनः मिलनको प्रस्ताव राख्दा जेठी पत्नीले अस्वीकार गरी सम्बन्धविच्छेद नै चाहेकाले उनकै इच्छाअनुसार करिब २० देखि २५ वर्षअघि कानुनी रूपमा अलग्गिएको हौँ ।’ छोरीको हेरचाह नगरेको भन्ने चर्चालाई खण्डन गर्दै उनले विवाह नभएसम्म छोरीलाई आफैँले पालेको, पढाएको र हुर्काएको बताएका छन् । छोरीको जिम्मेवारी र हेरचाह नगरेको भनेर सामाजिक सञ्जालमा उठेका प्रश्नप्रति उनले छोरीलाई आफैंले पढाएको र विवाह नभएसम्म आफैंसँग राखेर हुर्काएको प्रष्टयाएका छन् । लामो समय वैदेशिक रोजगारीका क्रममा दुबई बसेकी दिलमाया हाल इजरायलमा छिन् भने उनकी छोरी धरानमा बस्दै आएकी छन् ।

पाँच अंशियार कायम
दिलमायाले विपक्षीहरूको सम्पूर्ण सम्पत्तिलाई चार भाग लगाई पतिको एक भागबाट आफू,पति हर्कराज र छोरी एलिसाबीच पुनः तीन भाग लगाएर त्यसको एक भाग आफूले पाउनुपर्ने माग गरेकी थिइन् ।
तर अदालतले नाता,पुस्तावली तथा पेश भएका प्रमाणहरू अध्ययन गरी पाँच अंशियार कायम गरेको छ । फैसलामा हर्कराज राई,उनका दाजुहरू आशय कुमार राई र एकराज राई,आमा जसामाया राई तथा मूल पुरुषतर्फकी जेठी पत्नी धनकुमारी राई गरी पाँच अंशियार रहेको उल्लेख छ। उनीहरूबीच यसअघि विधिवत् अंशबण्डा भएको प्रमाण नदेखिएको अदालतको ठहर छ ।
अदालतले प्रतिवादीहरूले पेश गरेको तायदाती फाँटवारीसमेत अध्ययन गरेको थियो । प्रतिवादीहरूको नाममा सम्पत्ति रहेको देखिए पनि ती सम्पत्तिमा अंशियारहरूको हक लाग्ने निष्कर्ष अदालतले निकालेको छ  ।
मुद्दामा आशय कुमार राईको नाममा रहेका कित्ता नम्बर ३९५, ९२५ र ९२९ का सम्पत्ति ब्रिटिस सेनामा काम गरी कमाएको रकमबाट खरिद गरिएको हुँदा निजी आर्जन भएको दाबी गरिएको थियो ।
तर ब्रिटिस सेनाबाट कमाएको रकम नेपालमा ल्याई ती सम्पत्ति खरिद गरिएको भन्ने दाबी पुष्टि हुने प्रमाण पेश भएको नदेखिएको अदालतले उल्लेख गरेको छ। त्यसैले ती सम्पत्तिलाई अंशबण्डाबाट अलग राख्ने आधार नदेखिएको फैसलामा उल्लेख छ ।
अदालतले दिलमायाको घरनिकाला तथा खानलाउन नदिएको दाबीमाथि पनि विचार गरेको छ। फैसलामा हर्कराजले दिलमायालाई खानलाउन दिएको भए उनी पति समेतलाई विपक्षी बनाई अंश मुद्दा लिएर अदालतसम्म आउनुपर्ने अवस्था किन आयो भन्ने सम्बन्धमा हर्क साम्पाङले अन्यथा पुष्टि गर्न नसकेको उल्लेख छ ।
अदालतले विभिन्न व्यक्तिको बयानसमेत हेरेको थियो । बयानमा साम्पाङ,उनका दाजुहरू आशयकुमार राई र एकराज राई तथा किताव सिंह राईकी श्रीमती धनकुमारी राईसमेत गरी पाँच अंशियार रहेको उल्लेख भएको फैसलामा छ ।
अदालतले पाँच अंशियार कायम गर्दै सम्पत्ति पाँच भाग लगाउने आधार लिएको छ । त्यसपछि हर्क साम्पाङको भागमा पर्ने एक हिस्सालाई हर्क साम्पाङ, दिलमाया र छोरी एलिसाबीच तीन भाग लगाएर दिलमायालाई त्यसको एक भाग अंश दिनुपर्ने ठहर गरेको थियो ।

प्रकाशित मिति: असोज ११ २०८३, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend