Hamro Koshi Aawaj

मंगलबार, असोज १३ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको गीता मन्दिरमा तनाव र चिन्ता हटाउने प्रयासस्वरुप शिविर हुने

हाम्रो कोशी आवाज
असोज १२ २०८३, सोमबार
धरानको गीता मन्दिरमा तनाव र चिन्ता हटाउने प्रयासस्वरुप शिविर हुने

धरानः बढ्दो तनाव, चिन्ता र पारिवारिक तथा सामाजिक चुनौतीका बीच मानिसलाई मानसिक शान्ति, सकारात्मक सोच र आत्मविश्वासतर्फ प्रेरित गर्ने उद्देश्यले धरानमा पाँचदिने राजयोग शिविर आयोजना हुने भएको छ ।
धरान-१ स्थित ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, धरानले आफ्नो ६० औं हिरक जयन्तीको शुभ अवसरमा यही असोज १५ गतेदेखि १९ गतेसम्म गीता मन्दिरमा राजयोग शिविर आयोजना गर्न लागेको हो । केन्द्रले आइतबार पत्रकार सम्मेलनमार्फत शिविरबारे जानकारी दिएको हो ।
केन्द्रकी प्रमुख सञ्चालिका नानीमैया श्रेष्ठले शिविरमा सहभागी भएर सकारात्मक सोच, मानसिक शान्ति तथा तनाव व्यवस्थापनसम्बन्धी ज्ञान र अभ्यासबाट लाभ लिन सबैलाई आग्रह गरिन् । उनका अनुसार दैनिक जीवनमा आइपर्ने तनाव, चिन्ता तथा पारिवारिक र सामाजिक चुनौतीलाई सहज रूपमा सामना गर्न राजयोग उपयोगी हुने विश्वास गरिएको छ ।
केन्द्रका ब्रह्मकुमार सुनिल श्रेष्ठका अनुसार असोज १५ गतेदेखि हरेक दिन दिउँसो ३ बजेदेखि ५ बजेसम्म हुने कार्यक्रममा नेपालका प्रसिद्ध मोटिभेसनल स्पिकर तथा आध्यात्मिक वक्ता ब्रह्मकुमार राजु घलेले प्रेरणादायी प्रवचन तथा मार्गदर्शन प्रदान गर्नुहुनेछ ।
राजयोग ध्यान, सकारात्मक सोच, आत्मिक शक्ति, आत्मविश्वास विकास, तनावमुक्त जीवन तथा सुखी र शान्त जीवनशैलीका विषयमा सहभागीलाई व्यावहारिक ज्ञान प्रदान गरिने उनले जानकारी दिए । कार्यक्रमलाई थप प्रभावकारी बनाउन हरेक दिन सन्देशमूलक नाटकसमेत प्रस्तुत गरिनेछ ।
शिविरमा समाजका विभिन्न क्षेत्रका समाजसेवी, व्यवसायी, शिक्षाविद्, युवा, महिला तथा सर्वसाधारणको सहभागिता रहने अपेक्षा गरिएको छ । कार्यक्रममा राजयोग ध्यानलाई दैनिक जीवनमा कसरी प्रयोग गर्ने भन्ने विषयमा समेत व्यावहारिक जानकारी प्रदान गरिने आयोजकले जनाएको छ ।
आयोजकका अनुसार राजयोग केवल ध्यानको अभ्यास मात्र नभई आफूभित्रको सकारात्मक शक्ति पहिचान गर्ने, सोचलाई सकारात्मक बनाउने र जीवनलाई सन्तुलित ढंगले अघि बढाउने अभ्यास हो । व्यस्त जीवनशैलीका कारण बढिरहेको मानसिक दबाब र तनावका बीच केही समय आफ्नै मनसँग जोडिएर आत्मिक शान्तिको अनुभूति गर्ने अवसरका रूपमा शिविरलाई लिइएको छ ।
कार्यक्रममा सहभागीहरूले राजयोग ध्यानको अभ्यास, तनावमुक्त जीवनका लागि सकारात्मक सोच, आन्तरिक शक्ति एवं आत्मविश्वास विकास तथा मनको शान्ति र सुखी जीवनको मार्गबारे जानकारी प्राप्त गर्ने केन्द्रका ब्रम्हकुमार शेरबहादुर भाइजीले बताए ।

प्रकाशित मिति: असोज १२ २०८३, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend