धरान: ९० दशकका लोकप्रिय गीत–संगीत र कलाकारहरूको सम्झना गराउँदै धरानमा आयोजना गरिएको विशेष सांगीतिक कार्यक्रम ‘नाइन्टिज धरान लाइभ कन्सर्ट’ भव्य रूपमा सम्पन्न भएको छ।
असोज १० गते शनिबार धरान–१५ स्थित भिन्टेज बार एन्ड क्लबमा आयोजित कार्यक्रम राति ११ः३० बजेसम्म सञ्चालन भएको थियो। सिल्भर इन्टरटेनमेन्टको आयोजनामा भएको कार्यक्रममा ९० दशकमा लोकप्रिय रहेका गीतहरू प्रत्यक्ष प्रस्तुत गरिँदा दर्शकहरू पुराना सांगीतिक सम्झनामा रमाएका थिए।
कार्यक्रममा मिक्स मेलोडी ब्यान्डका सञ्जीव लामाले सम्झनाहरुलाई अंगाल्दै ,‘बिर्सिएका यादहरू’,‘म सधैं लाई’, ‘‘घुम्दै आउनू धरान बजार’, ‘चिपुगुच्चा लगायतका चर्चित गीत प्रस्तुत गरे। उनका प्रस्तुतिमा दर्शकहरूले गीतसँगै गाएर तथा नाचेर साथ दिएका थिए।
त्यस्तै जेलर्स ब्यान्डका मनोज मोते ले ‘टाढा’, ‘जाने’, ‘हाम्रो जीवन’, ‘भेडेटार’ लगायतका अन्य पुराना गीतहरु प्रस्तुत गर्दै ९० दशकको सांगीतिक माहोललाई पुनः जीवन्त बनाए। रोहित मास्केले ‘दिउँला त्यो जोवन ’, ‘मेरी मायालु’, ‘चिसो चिसो’, ‘मर्छु कि क्या हो’ जस्ता लोकप्रिय गीतहरु प्रस्तुत गरे।
ओझेल ब्यान्डका दिलु राईले ‘माछी पर्यो’ , पुर्णिमाको जुनेली रात र उमेरले नौ डाँडा काटेछ’ लगायतका चर्चित गीत प्रस्तुत गरेका थिए। कलाकारहरूको प्रस्तुतिमा कार्यक्रमस्थलमा उपस्थित दर्शकहरूले उत्साहपूर्वक साथ दिएका थिए।
भिन्टेज बार एन्ड क्लबमा भएको कार्यक्रममा ९० दशकको संगीतसँग प्रत्यक्ष रूपमा जोडिएको पुस्ताका दर्शकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा प्रस्तुत भएका अधिकांश गीतमा दर्शकहरूले कलाकारसँगै गाएर र नाचेर मनोरञ्जन लिएका थिए।
सञ्जीव लामालाई सम्मान
कार्यक्रमकै अवसरमा मिक्स मेलोडी ब्यान्डका सञ्जीव लामालाई उनको सांगीतिक योगदानको कदर गर्दै आयोजक सिल्भर इन्टरटेनमेन्टद्वारा सम्मान गरिएको थियो।
सिल्भर इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक सौरभ श्रेष्ठ, धरान संगीत प्रतिष्ठानका अध्यक्ष रमेश राई, उपाध्यक्ष हेम सुब्बा, सचिव कृष्णराज श्रेष्ठ, वरिष्ठ संगीतकर्मी रोशन शर्मा तथा कार्यक्रमका कलाकारहरू मनोज मोते , रोहित मास्के र दिलु राईले संयुक्त रूपमा खादा तथा सम्मानपत्र प्रदान गर्दै लामालाई सम्मान गरेका थिए।
सञ्जीव लामाद्वारा मनोज मोते लाई ‘मायाको चियो’ प्रदान
कार्यक्रमको अन्त्यमा मिक्स मेलोडी ब्यान्डका सञ्जीव लामाले आफ्ना पुराना सहकर्मी तथा जेलर्स ब्यान्डका गायक मनोज मोते लाई आफ्नो तर्फबाट ट्रफी तथा नगदसहित सम्मान गरेका थिए। लामाले मोतेको सांगीतिक योगदानको कदर गर्दै सम्मान गरेपछि दुवैले पुराना सांगीतिक सहकार्यको सम्झना गर्दै आत्मीय क्षणसमेत साटेका थिए।
त्यसपछि सञ्जीव लामा र मनोज मोते ले संयुक्त रूपमा ‘मुसु मुसु हाँसी देऊ’ गीत प्रस्तुत गर्दै कार्यक्रमको सांगीतिक समापन गरेका थिए। दुई पुराना सहकर्मी कलाकार एउटै मञ्चमा उभिएर गीत गाउँदा दर्शकहरूले उत्साहपूर्वक साथ दिएका थिए। यससँगै ९० दशकका लोकप्रिय गीत–संगीतको सम्झना गराउँदै आयोजना गरिएको ‘नाइन्टिज धरान लाइभ कन्सर्ट’ भावुक र सांगीतिक माहोलबीच सम्पन्न भएको थियो।कार्यक्रमको सञ्चालन गोविन्द राजभण्डारीले गरेका थिए।
९० दशकका चर्चित गीत, कलाकार र ब्यान्डलाई केन्द्रमा राखेर आयोजना गरिएको कार्यक्रमले पुरानो पुस्ताको सांगीतिक सम्झनालाई पुनः ताजा बनाउनुका साथै नयाँ पुस्तालाई समेत नेपाली संगीतको पुरानो पुस्तासँग जोड्ने प्रयास गरेको आयोजकले जनाएको छ।
पूर्वका विभिन्न शहरमा सांगीतिक टुरको तयारी
सिल्भर इन्टरटेनमेन्टका अनुसार ‘नाइन्टिज धरान लाइभ कन्सर्ट’पछि पूर्वी नेपालका विभिन्न शहरमा समेत सांगीतिक टुर आयोजना गर्ने तयारी भइरहेको छ।
९० दशकका चर्चित गीत, कलाकार र ब्यान्डलाई केन्द्रमा राखेर आयोजना गरिने उक्त सांगीतिक टुरमार्फत त्यस समयका लोकप्रिय गीत–संगीतलाई पुनः दर्शकमाझ पुर्याउने र नयाँ पुस्तालाई समेत ती गीत तथा कलाकारसँग जोड्ने योजना रहेको आयोजकले जनाएको छ।
पुराना लोकप्रिय गीतहरूको सम्झना, प्रत्यक्ष प्रस्तुति र कलाकारहरूको सम्मानसँगै सम्पन्न ‘नाइन्टिज धरान लाइभ कन्सर्ट’ले धरानको सांगीतिक क्षेत्रमा ९० दशकको संगीतप्रतिको आकर्षण अझै जीवित रहेको सन्देश दिएको छ।
