Hamro Koshi Aawaj

शनिबार, असोज १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको बीपी प्रतिष्ठानमा बालिकाको मृत्यु भएपछि तोडफोड

हाम्रो कोशी आवाज
असोज १४ २०८३, बुधबार
धरानको बीपी प्रतिष्ठानमा बालिकाको मृत्यु भएपछि तोडफोड

धरानः धरानको बीपी प्रतिष्ठानमा तोडफोड भएको छ । उपचारका क्रममा १४ वर्षीया दीपिका तामाङको मृत्यु भएपछि आक्रोशित आफन्तले बुधबार प्रतिष्ठानको कार्यालयमा तोडफोड गरेका हुन् ।
धरान उपमहानगरपालिका–१५ की दीपिका पेट दुख्ने समस्या भएपछि मंगलबार बिहान साढे ७ बजे प्रतिष्ठानमा भर्ना भएकी थिइन् । उपचारकै क्रममा मंगलबार राति साढे ८ बजे उनको मृत्यु भएको आफन्तले बताएका छन् । बिरामीको मृत्यु भएपछि आक्रोशित आफन्तले उपचारमा संलग्न चिकित्सकको लापरबाहीका कारण दीपिकाको मृत्यु भएको आरोप लगाउँदै प्रतिष्ठानको निर्देशक कार्यालय, बिल काउन्टर र आर्थिक प्रशासन शाखामा तोडफोड गरेका थिए ।
दीपिकाका दाजु भूपेन्द्र तामाङले बच्चा वार्डमा कार्यरत् चिकित्सकको चरम लापरबाहीका कारण बहिनीको मृत्यु भएको आरोप लगाएका छन् । प्रतिष्ठानका प्रवक्ता प्रा.डा.शमशेर श्रेष्ठले उपचारका क्रममा दीपिकाको मुटुमा समस्या देखिएपछि सिटी स्क्यान गर्नसमेत समस्या आएको र अस्पतालको स्वास्थ्य प्रोटोकलअनुसार नै दीपिकाको उपचार गरिएको दाबी गरेका छन् । उनले चिकित्सकको उपचारका कारण नभई बिरामीमा रहेको जटिल रोगका कारण मृत्यु भएको बताए ।
मृतकका आफन्त र प्रतिष्ठान प्रशासनबिच वार्ता भएको थियो । प्रतिष्ठानका निर्देशक इन्द्र लिम्बूले तत्कालका लागि छलफल भएपछि सहमति भएको बताए । उनले मृतकका आफन्तले उपचारमा संलग्न चिकित्सकको टोलीले सार्वजनिक रूपमा माफी माग्नुपर्ने, दीपिकाको सम्पूर्ण उपचार खर्च प्रतिष्ठानले व्यहोर्नुपर्ने माग राखेको बताए ।
आफन्तले राखेका मागबारे प्रतिष्ठान प्रशासनका प्रमुखलगायत सम्बन्धित पक्षसँग थप छलफल गर्ने सहमति भएको छ । दीपिकाको मृत्युको कारण तथा उपचारमा चिकित्सकीय लापरबाही भए नभएको विषयमा प्रतिष्ठानले छानबिन समिति गठन गर्ने जनाएको छ ।

प्रकाशित मिति: असोज १४ २०८३, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend