स्मार्ट बसपार्क फेल गराउने खेलमा लागेको आरोप
धरानः धरानको भानुचोकमा ‘बसपार्क सरेको हो कि’ भन्ने विषयले अहिले बजार तातेको छ । नभन्दै अहिले भानुचोकमा सार्वजनिक बसहरू गुड्न थालेका छन् । पूर्व र विराटनगर चल्ने यात्रुबाहक बस साथै पहाडी क्षेत्र जाने यात्रुबाहक बस स्टेण्ड लगाएरै अस्तव्यस्त पारामै यात्रु ओराल्ने र चढाउने गर्न थालेपछि यातायात सञ्चालन भएपछि धेरै चकित पनि परिरहेका छन् ।
कतिपयले अहिले सामाजिक सञ्जालमा धरान उपमहानगरपालिकाको असफल नेतृत्वको कारण बसपार्क पुनः भानुचोक आइपुग्यो भन्दै आरोप पनि लगाइरहेका छन् भने कतिपयले भानुचोकबाट बस गुड्नु विशेषतः स्थानीय यात्रुका लागि ठीक हो भन्दै आएका छन् । कतिपयले धरान उपमहानगरपालिकाले गरेको निर्णय कार्यान्वयन हुन नसक्नु दुःखद् समेत हो भन्दै आएका छन् ।
केहीदिनदेखि स्टेण्ड नै लागेर भानुचोकबाट बसहरू गुड्न थालेपछि जहाँ बसपार्क छ, त्यहीबाट यातायात सञ्चालन हुनुपर्ने माग राख्दै बुधबार दिनभरीजसो नै धरान–८ बासीले आन्दोलन नै गरे । उनीहरूले धरान–८ मै सार्वजनिक बसहरू रोकेर आन्दोलन थालेका थिए । नयाँ स्मार्ट बसपार्कमा सार्वजनिक बसहरू प्रवेश नगरी सिधै भानुचोक आउन थालेपछि रोक्न थालेको धरान–८ का वडाध्यक्ष धनबहादुर राईले बताए । आन्दोलनस्थलमा पुगेका धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर अइन्द्रविक्रम बेघाले अस्थायी हिसाबले त्यहाँ सवारी सञ्चालन हुन थालेको बताएपछि अवस्था केही साम्य भएको थियो । त्यसपछि धरान उपमहानगरपालिकामा कार्यवाहक मेयर बेघा, वडाध्यक्ष, यातायात व्यवसायी, जग्गादाता, १५ वटा टोल विकास संस्थाका अध्यक्षहरू सम्मिलित बैठक बस्यो । बैठक निष्कर्षविहीन बन्यो ।
नयाँ स्मार्ट बसपार्क फेल गराउन खोजेको वडाध्यक्षको आरोप
वडाध्यक्ष राईले आफूहरूको अडान कायमै रहेको र स्मार्ट बसपार्कबाटै यातायात सञ्चालन हुनुपर्ने बताए । वडाध्यक्षले कार्यपालिका बैठक हलमा आयोजित छलफलमा अबदेखि भानुचोकदेखि यातायात चल्न थाले ‘आगो बल्ने’ चेतावनी दिएपछि माहौल अर्कै बनेको थियो ।
कार्यवाहक मेयरले मंगलबार आफूखुशी भानुचोकबाट अस्थायी प्रकृतिले यात्रु झार्ने मात्रै भनेर निर्णय गरेपछि यो विवाद आएको उनले बताए । ‘इटहरी आउने बसहरूले भानुचोकमा सिधै यात्रु ल्याउने र झार्ने भनेर कार्यवाहकले निर्णय गरिदिएपछि यातायात व्यवसायीले पनि थपक्क यात्रु झार्ने भन्दै आजभोलि त्यहीँबाट यात्रु झार्ने र यात्रु ओसार्ने समेत काम गर्न थालेपछि विवाद बढेको हो’, उनले भने ।
वडाध्यक्ष राईले यातायात व्यवसायीकै मिलेमतोमा बसपार्क फेल गराउन खोजेको आरोप समेत लगाए । ‘पूर्वाञ्चलकै स्मार्ट बसपार्क भन्दै सञ्चालनमा आयो तर अहिले आएर यातायात व्यवसायी, उपमहानगरपालिका साथै केही व्यक्तिहरूको ग्रान्ड डिजाइन अर्थात् मिलेमतोमा धरानको बसपार्क नै फेल गराउने पक्षमा लागेको देखें’, उनले भने ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरी धरानका प्रमुख अनिल माबोहाङले कार्यवाहक मेयर बेघाले १५ दिनभित्र नगर बस सञ्चालनमा ल्याइछाड्छु भन्नुभएको र त्यतिन्जेलसम्मका लागि अस्थायी हिसाबले त्यहाँबाट बसहरू सञ्चालन हुन थालेको बताए ।
उता कार्यवाहक मेयर बेघाले भने अस्थायी प्रकृतिले १५ दिनसम्म इटहरीबाट आउने सवारीले यात्रु झार्ने शर्तमा पालो सिष्टममा त्यहाँबाट सवारी साधन सञ्चालनमा ल्याइएको बताए । उनले बसपार्कबाट बसहरू सञ्चालनको विकल्प नभएको समेत बताए ।


















