धरानः धरानकी युमी राईले दुई स्वर्ण पदक जित्न सफल भएकी छिन् ।
मेची तेक्वान्दो झापाको आयोजनामा सम्पन्न ‘इन्डो–नेपाल तेक्वान्दो च्याम्पियनसीप–२०८३’ मा धरान–१६ स्थित युएन नवोदय कलेजकी छात्रा युमी राईले दुई स्वर्ण पदक जित्न सफल भएकी हुन् ।
कोशी प्रदेशका मुख्यमन्त्रीद्वारा उदघाटन गरिएको अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाल र मित्रराष्ट्र भारतका सयौं खेलाडीहरूको सहभागिता रहेको थियो । कडा प्रतिस्पर्धाकाबीच युमीले व्यक्तिगत पुम्सेतर्फ एक र जोडी (पेयर) पुम्सेतर्फ एक गरी कुल दुई स्वर्ण पदक आफ्नो नाममा गरेकी हुन् ।
कलेजका प्रिन्सिपल डम्बरकुमार तुम्बापोले युएन नवोदयमा अध्ययनरत विद्यार्थीहरू पढाइका साथसाथै खेलकुद तथा अतिरिक्त क्रियाकलापमा समेत निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएको बताए ।
त्यस्तै, कलेजका जनसम्पर्क अधिकृतराम बहादुर लिम्बूले कलेजमा अनुशासित शैक्षिक वातावरणका साथै विद्यार्थीहरूको रुचि र प्रतिभा अनुसार विभिन्न विधामा प्रोत्साहन र सहयोग पुरयाउँदै आएकाले नै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा विद्यार्थीहरूले सफलता हासिल गर्न सफल भएको धारणा व्यक्त गरे ।
अन्तर्राष्ट्रिय प्रतियोगितामा दुई स्वर्ण पदक जितेर कलेज र देशकै नाम उच्च राख्न सफल भएकी छात्रा राईलाई युएन नवोदय कलेजले एक विशेष कार्यक्रमको आयोजना गरी भव्य सम्मान तथा बधाई ज्ञापन गरेको छ ।


