धरानः धरानको बसपार्क विवाद चर्किएको छ । नयाँ स्मार्ट बसपार्कमा सार्वजनिक बसहरू प्रवेश नै नगरी सिधै भानुचोकमा यात्रु झार्न थालेको भन्दै धरान–८ का वडाध्यक्ष र स्थानीयबासीले गाडी रोक्न थालेपछि विवाद बढेको हो । स्थानीयबासी लट्ठी समेत लिएर गाडी रोक्न बसेका थिए ।
नयाँ बसपार्कमा सवारी साधन सरेपछि पनि धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर अइन्द्रविक्रम बेघाले धरानबासीलाई आउजाउमा असहज भएको भन्दै एकाएक निर्णय गरी भानुचोकमा यात्रु झार्ने निर्णय गराइदिएपछि धरान–८ का वडाध्यक्ष र वडाबासी सडकमा सवारी साधन रोक्न पुग्दा केहीबेर झडपको स्थिति समेत बनेको छ ।
केहीदिनदेखि स्टेण्ड नै लागेर भानुचोकबाट बसहरू गुड्न थालेपछि जहाँ बसपार्क छ, त्यहीबाट यातायात सञ्चालन हुनुपर्ने माग राख्दै बुधबार दिनभरीजसो पनि धरान–८ बासीले सडकमा सवारी साधन रोक्दै आन्दोलनजस्तै नै गरेका थिए । नयाँ स्मार्ट बसपार्कमा सार्वजनिक बसहरू प्रवेश नगरी सिधै भानुचोक आउन थालेपछि रोक्न थालेको धरान–८ का वडाध्यक्ष धनबहादुर राईले बताए । धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर बेघाले अस्थायी हिसाबले भानुचोकमा सवारी सञ्चालन हुन थालेको बताएका छन् ।
बुधबार नै धरान उपमहानगरपालिकामा कार्यवाहक मेयर बेघा, वडाध्यक्ष, यातायात व्यवसायी, जग्गादाता, १५ वटा टोल विकास संस्थाका अध्यक्षहरू सम्मिलित बैठक बस्यो । बैठक निष्कर्षविहीन बनेको थियो ।
वडाध्यक्ष राईले आफूहरूको अडान कायमै रहेको र स्मार्ट बसपार्कबाटै यातायात सञ्चालन हुनुपर्ने बताए । कार्यवाहक मेयरले मंगलबार आफूखुशी भानुचोकबाट अस्थायी प्रकृतिले यात्रु झार्ने मात्रै भनेर निर्णय गरेपछि यो विवाद आएको उनले बताए । ‘इटहरी आउने बसहरूले भानुचोकमा सिधै यात्रु ल्याउने र झार्ने भनेर कार्यवाहकले निर्णय गरिदिएपछि यातायात व्यवसायीले पनि थपक्क यात्रु झार्ने भन्दै आजभोलि त्यहीँबाट यात्रु झार्ने र यात्रु ओसार्ने समेत काम गर्न थालेपछि विवाद बढेको हो’, उनले भने । वडाध्यक्ष राईले यातायात व्यवसायीकै मिलेमतोमा बसपार्क फेल गराउन खोजेको आरोप समेत लगाए । कार्यवाहक मेयर बेघाले भने अस्थायी प्रकृतिले १५ दिनसम्म इटहरीबाट आउने सवारीले यात्रु झार्ने शर्तमा पालो सिष्टममा त्यहाँबाट सवारी साधन सञ्चालनमा ल्याइएको बताए । उनले बसपार्कबाट बसहरू सञ्चालनको विकल्प नभएको बताउँदै १५ दिनभित्रमा नगरबस सञ्चालनमा ल्याउने बताए ।




