Hamro Koshi Aawaj

शनिबार, असोज १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको भानुचोकमा भोलिदेखि उपमहानगरले निःशुल्क हायस बस सेवा सञ्चालन गर्ने

हाम्रो कोशी आवाज
असोज १५ २०८३, बिहिबार
धरानको भानुचोकमा भोलिदेखि उपमहानगरले निःशुल्क हायस बस सेवा सञ्चालन गर्ने

धरानः धरान उपमहानगरपालिकाले भोलि बिहानदेखि हायस (माइक्रो) गाडी सञ्चालन गर्ने भएको छ ।
धरानको भानुचोकदेखि नयाँ स्मार्ट बसपार्कसम्म यात्रुहरूको सहजताका लागि भोलिदेखि नै निःशुल्क हायस बस सेवा सञ्चालन हुने भएको हो । १५ दिनसम्मका लागि धरान उपमहानगरपालिकामै रहेको सो गाडी सञ्चालन गर्न लागिएको उपमहानगरपालिकाले जनाएको छ । बिहान ४ बजेदेखि साँझसम्म नै १४ सिट क्षमताको माइक्रोबस सञ्चालन गरिने भएको हो ।
नगर बस चलाउन यसअघिकै बजेटमा २५ लाख रुपैयाँ छुट्टिइसकेको र त्यसैबाट मेकअप गर्नेगरी तेल व्यवस्थापन गरिने उपमहानगरपालिकाले जनाएको छ ।
धरानको भानुचोकदेखि यात्रुको सहजताका लागि हायस गाडी सञ्चालन गरिने कार्यवाहक मेयर अइन्द्रविक्रम बेघाले जानकारी दिए । ‘अहिले तत्कालै नगर बस सञ्चालन गर्ने परिस्थिति छैन’, उनले भने, ‘त्यही भएर उपमहानगरपालिकाकै हायस गाडी सञ्चालनमा ल्याउने तयारीमा छु, भोलि बिहानदेखि नै यात्रुहरूले सो सुविधा पाउनु हुनेछ ।’ उनले सो निःशुल्क बस सेवा सञ्चालनमा आएपछि जाने, आउने यात्रुहरूले निःशुल्क सेवा पाउने पनि जानकारी दिए ।
‘खासमा धरानको नयाँ स्मार्ट बसपार्कदेखि आउँदा, जाँदा विशेषतः धरानबासी आमाबुबा, दाजुभाइ, दिदीबहिनी साथै बीपी प्रतिष्ठानमा उपचारका लागि बिरामीहरूले सारै दुःख पाएको महसुस गरेको छु, त्यही दुःख देख्न नसकेरै आजको भोलि नै त्यो सेवा द्रुत गतिमा सञ्चालन हुनेछ । अब स्मार्ट बसपार्कदेखि भानुचोकसम्म आउँदा निःशुल्क बससेवा पाउनु हुनेछ ।’ उनले भने ।
उनले कार्यपालिका बैठक १५ दिनभित्र नगर बस सञ्चालनमा ल्याउने दावी पनि गरे । ‘१५ दिनपछि फेरि नगरबस आइहाल्छ’, उनले भने ।
दुईदिनअघिदेखि धरानको बसपार्क विवाद चर्किएको छ । नयाँ स्मार्ट बसपार्कमा सार्वजनिक बसहरू प्रवेश नै नगरी सिधै भानुचोकमा यात्रु झार्न थालेको भन्दै धरान–८ का वडाध्यक्ष र स्थानीयबासीले गाडी बाटैमा छेकेका थिए ।
नयाँ बसपार्कमा सवारी साधन सरेपछि पनि धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर अइन्द्रविक्रम बेघाले धरानबासीलाई आउजाउमा असहज भएको भन्दै एकाएक निर्णय गरी भानुचोकमा यात्रु झार्ने निर्णय गराइदिएपछि धरान–८ का वडाध्यक्ष र वडाबासी सडकमा सवारी साधन रोक्न थालेका थिए । विवाद बढ्दै जाँदा बुधबार तनावको स्थिति समेत सिर्जना भएको थियो ।
वडाबासी र वडाध्यक्षले नयाँ बसपार्कमा सवारी साधन प्रवेश नै नगरी हिँड्न थालेपछि सवारी धमाधम सडकमा रोक्न थालेपछि मजदुरर वडाबासीबीच विवाद सिर्जना हुँदै झडपको स्थितिमा पुगेको थियो ।
विवाद सिर्जना भएपछि उपमहानगरपालिकामा बसेको बैठकले भानुचोकमा नभई स्मार्ट बसपार्कबाटै सवारी सञ्चालन गरिने निर्णय भएको धरान–८ का वडाध्यक्ष धनबहादुर राईले जानकारी दिए । उनले भानुचोकबाट भोलिदेखि यात्रुबाहक सवारी साधन नगुड्ने बताए ।

प्रकाशित मिति: असोज १५ २०८३, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend