Hamro Koshi Aawaj

मंगलबार, असोज २० २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान हुँदै भेडेटारसम्म रेलजस्तै सेवा विस्तार गर्ने लक्ष्य

हाम्रो कोशी आवाज
असोज २० २०८३, मंगलबार
धरान हुँदै भेडेटारसम्म रेलजस्तै सेवा विस्तार गर्ने लक्ष्य

धरानः धरान हुँदै भेडेटारसम्म रेलजस्तै सेवा विस्तार गर्ने लक्ष्य राखिएको पोडवेको अहिले चर्चा छ । धरान हुँदै भेडेटारसम्म विस्तार गर्ने लक्ष्य अघि सारिएको पोडवेको चर्चा चुलिएसँगै उद्योगी-व्यवसायीले भने यसलाई रानी भन्सारदेखि विराटनगर बसपार्कसम्मको ७ किलोमिटरमा सीमित नगरी इटहरी, धरान हुँदै भेडेटारसम्म विस्तार गर्न सुझाएका छन् ।
अहिले यस परियोजना सम्भाव्यता अध्ययन र विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गर्ने चरणमा छ । पोडवे रेल प्रविधिमा आधारित सार्वजनिक यातायातको नयाँ साधन हो । पोडवे यन्त्रको सहायताले तारको लिकमा गुड्ने अत्याधुनिक प्रविधि हो । रेलको अत्याधुनिक स्वरूप भएकाले यसलाई सार्वजनिक यातायातका क्षेत्रमा विकास गरिएको नयाँ प्रविधिका रूपमा हेरिन्छ ।
सडकभन्दा माथि गुड्ने हुनाले ट्राफिक जाम कम हुनुका साथै वातावरण प्रदूषण न्यूनीकरण हुने गर्दछ । हाल दुबई र बेलारुसले सो प्रविधिमा आधारित पोडवे सञ्चालनमा ल्याइसकेका छन् । प्रतिघण्टा १५० किमी चल्ने मेट्रोरेलको जस्तै यसले सेवा दिनेछ । पोडवे कृत्रिम बौद्धिकता (एआई) ले नै नियन्त्रण गर्ने र सेवा अटोमेटिक हुनेछ । एउटा विशेष नियन्त्रण कक्षले त्यसको सञ्चालन गर्नेछ । त्यसका लागि हरेक दुई–दुई किलोमिटरमा पोल निर्माण गरिनेछ भने यात्रु चढाउन र ओराल्न अकाशेपुल जस्तै संरचना तयार हुन्छ । केबुलकारमा जस्तै पोडवे स्टेसनमा रोक्ने तथा झर्ने समयमा स्वचालित (अटोमेटिक) सुविधा प्राप्त हुने छ ।
काठमाण्डौं पोडवे कम्पनीले विराटनगरमा पोडवे यातायातमा लगानी गर्ने गरी त्यसको विस्तृत अध्ययनको काम थाल्ने तयारी गरिरहेको छ । ६ अर्ब रुपैयाँको लागत अनुमान गरेर विराटनगरको रानीदेखि बसपार्कसम्म सात किलोमिटर दुरीमा पहिलो चरणको पाइलट प्रोजेक्टको रुपमा पोडवे यातायातका लागि संरचना निर्माण गर्ने प्रक्रिया थालिएसँगै उद्योगी–व्यवसायीले दुरी र पाइलट प्रोजेक्टको लागि स्थान चयन सच्याउन माग गरेका छन् ।
नेपाल उद्योग परीसंघका अध्यक्ष पवन शारडाले यसको कार्य प्रारम्भ गर्दा नै विराटनगरको रानीदेखि धनकुटाको भेडेटारसम्मको दुरीको विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) तयार पार्न आवश्यक रहेको बताए ।
परीसंघका पूर्व अध्यक्ष भीम घिमिरेले पोडवेको पाइलट प्रोजेक्ट सञ्चालनमा आउँदा मुनाफा आर्जन कम हुने भएकोले धरानदेखि धनकुटाको भेडेटारसम्मको दुरीमा पहिले काम सिध्याउनु उचित हुने सुझाव दिए । घिमिरेले रानी–भेडेटारको दुरी ५८ किलोमिटरको डिपीआर तयार गरेर पहिलो चरणको काम धरान–भेडेटार गर्नुपर्ने सुझाव दिए । त्यसो गर्दा पर्यटकीय हिसाबले थप आकर्षण हुने र पोडवेमा भएको पहिलो चरणको लगानी जोखिम कम हुनसक्ने बताएका छन् ।
हुन त यो परियोजना धरान हुँदै भेडेटारसम्म विस्तार गर्ने लक्ष्य नै छ । यो परियोजना सफल भए विराटनगरको सहरभित्रको सार्वजनिक यातायातलाई पहाडी क्षेत्रसम्म जोड्ने ठूलो सञ्जालको परिकल्पना गरिएको छ । रानीदेखि धरानसम्मको दूरी करिब ४९ किलोमिटर छ । धरानदेखि धनकुटाको भेडेटारको दूरी १६ किलोमिटर छ । यसलाई रानी भन्सारदेखि विराटनगर बसपार्कसम्मको ७ किलोमिटरमा सीमित नगरी इटहरी, धरान हुँदै भेडेटारसम्म विस्तार गर्न उद्योगी–व्यवसायीले सुझाव दिएका हुन् ।
काठमाण्डौं पोडवेका उपाध्यक्ष निलराज भट्टराईले पहिलो चरणमा प्रस्तावित सात किलोमिटर दुरीको संरचनाको लागत छ अर्बबाट कम हुनसक्ने बताए । उनले पहिलो चरणमा विराटनगरको सात किलोमिटरको काम थालेसँगै दोस्रो चरणको काम समेत शुरु हुने बताए । उनले रानी–धरानको ४२ किलोमिटरको डिपीआर १०महिनाभित्रको अवधिमा सकिने, बाँकी प्रक्रियागत कामको लागि ६ महिना लाग्ने र त्यसपछिका १८ महिनाभित्र सात किलोमिटरको काम सम्पन्न हुने दावी गरे ।
कोशी प्रदेशमा ‘पोडवे’ सेवा सञ्चालनका लागि अध्ययन गर्न सम्झौता भइसकेको छ । वैशाख १८ र १९ गते कोशी प्रदेशमा भएको लगानी सम्मेलनमा कोशी प्रदेश सरकार र काठमाडौँ पोडवे कम्पनीबीच सम्झौता भएको थियो । सरकारले २०८० मङसिर ७ मा राजपत्रमा सूचना प्रकाशित गरी पोडवे सेवालाई कानुनी मान्यता दिइसकेको छ ।
भट्टराईले लगानी सम्मेलनमा पोडवे सञ्चालनको अध्ययन गर्न सम्झौता भइसकेको र अब विस्तृत अध्ययनको काम थाल्ने तयारी भएको बताउँछन् । पहिलो चरणमा सो सेवा सञ्चालन गर्नका लागि प्राविधिक, वातावरणीय रूपमा उपयुक्त छ, छैन भनेर अध्ययन गरिने उनी बताउँछन् ।
परियोजना अगाडि बढाउन कम्पनीले कुल लागतको ०.१ प्रतिशत अर्थात् ६० लाख रुपैयाँ बराबरको कार्यसम्पादन जमानत रकम प्रदेश सरकारलाई बुझाइसकेको कोशी प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. सरोज कोइरालाले जानकारी दिए । विराटनगर बसपार्कदेखि सीमावर्ती रानी–जोगबनी सडक खण्डको करिब सात किलोमिटर दूरीको पोडवेलाई कम्पनीले पाइलट प्रोजेक्टका रूपमा लिएको छ । यो परियोजना सम्पन्न भएलगत्तै विराटनगरदेखि धनकुटाको भेडेटारसम्मको करिब ८३ किलोमिटर दूरीमा पोडवे निर्माण शुरु गर्ने लक्ष्य रहेको उनले जानकारी दिए । विराटनगर–भेडेटार पोडवेका लागि कोशी राजमार्गको मिडियन स्ट्रिप प्रयोग गर्ने गरी स्वीकृति लिइसकेको उनले बताए । विराटनगर–भेडेटार पोडवे परियोजनाका लागि करिब ६५ अर्ब लागत लाग्ने प्रारम्भिक अनुमान छ ।
अहिले विराटनगर बसपार्कदेखि रानी–जोगबनीसम्म बस, टेम्पो, ई–रिक्सा, सिटी सफारीलगायत विभिन्न सवारीसाधन सञ्चालनमा छन् । पोडवे सञ्चालनमा आएपछि यो रुटमा बस, टेम्पो, ई–रिक्साको चाप स्वतः घट्ने बताइएको छ ।
‘रेलको जस्तै आकाशमा सेवा दिने पोडवेले रेलको आवातजावत तथा ढुवानीको सुविधा दिनेछ,’ उनले भने, ‘रेल सञ्चालनका लागि ठूलो जनशक्ति र पूर्वाधारको आवश्यकता पर्छ । तर, पोडवेमा जनशक्तिको आवश्यकता पर्दैन । त्यसमा न त ड्राइभर हुन्छ । न त सहचालक नै । पोडवे एआईमार्फत् स्वतः सञ्चालन हुनेछ ।’
पोडवेमा सामूहिक लगानी गर्ने हो भने करिब १० वर्षमा देशभर उक्त सेवा विस्तार गर्न सकिने उनको भनाइ छ । अन्य यातायातको पूर्वाधार विकास गर्न निकै खर्चिलो हुँदा उक्त लगानीको २० प्रतिशतमात्रै पोडवेमा लगानी गरे यातायात क्षेत्रमा ठूलो परिवर्तन आउने उनी बताउँछन् ।
पोडवे निर्माणका लागि जग्गा विवाद अर्थात् मुआब्जाको कुरा नआउने भएकाले निर्माणका लागि सबैभन्दा सहज हुने उनको दाबी छ । पोडवेमा एक पटकमा ४२ जना यात्रुले यात्रा गर्न सक्नेछन् । जसमा एक घण्टाको समयमा ५० हजारको संख्यामा आवतजावत गर्न सक्ने पोडवेका उपाध्यक्ष भट्टराईर्ल बताउँछन् ।
कम्पनीका अनुसार पोडवे सञ्चालन गर्दा दुर्घटनाको जोखिम कम हुनाका साथै समयमै सामान ढुवानी हुने तथा एकै पटक सय टन बराबरको सामान एक स्थानबाट अर्को स्थानमा लैजान सकिन्छ । बिजुलीबाट चल्ने हुँदा यो प्रविधिमा ढुवानी खर्च कम लाग्ने र कम समयमै पु¥याउन सकिनुका साथै पेट्रोल, डिजेलको खपत पनि कम हुने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: असोज २० २०८३, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend