धरानः धरानमा भोलि हुने ‘सुम्निमा रन २०८३’ को तयारी पूरा भएको आयोजकले जनाएको छ । स्वास्थ्य, संस्कृति तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले धरानमा रनको आयोजना भएको आयोजकले जनाएको छ ।
भोलि ठीक बिहान ७ बजे सिटी बजेपछि दौड शुरु हुनेछ । धरान-१३ स्थित जानकी चोक उत्तरतर्फ रहेको सर्दुखोलाको पुलबाट शुरु हुने दौड सुम्निमा पारुहाङ निर्माणस्थल चिन्डेडाँडामा पुगेर समापन हुने आयोजकले समितिकी रीता राईले जानकारी दिइन् । हालसम्म २६ सय ८३ जनाले फारक भर्दै डाटा इन्ट्री भइसकेको र उनीहरूलाई टिसर्ट पनि प्रदान गरिसकिएको आयोजकले जनाएको छ । रनमा ९० वर्षका वृद्ध पनि सहभागी बन्ने आयोजकले जनाएको छ ।
टिसर्ट लगाउनेबाहेक पनि अन्य व्यक्तिहरू पनि दौडका लागि नाम टिपाइरहेको राईले जानकारी दिइन् । दौड सकिएपछि चिन्डेडाँडामा समापन कार्यक्रम हुनेछ । समापन कार्यक्रममै पुरस्कार प्रदान गरिनेछ ।
धरान-२० चिण्डेडाँडामा निर्माणाधीन सुम्निमा–पारुहाङ प्रतिमाको सहयोगार्थ रनको आयोजना भएको हो । सुम्निमा रनका लागि दर्ता शुल्क ५ सय तोकिएको थियो । ४ किलोमिटर दुरी रहेको रनमा विभिन्न उमेर समूहमा विभाजन गरिएको छ । जसमा १७ वर्षदेखि ३९ वर्ष समूहलाई खुल्ला समूहमा राखिएको छ भने ४० वर्षदेखि ५९ वर्षसम्मलाई भेट्रान र ६० वर्षदेखि माथि उमेर समूहकालाई सुपर भेट्रान समूहमा राखिएको छ ।
दौडमा खुल्ला समूहका महिला, पुरुष प्रथम हुनेले जनही १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने दोस्रो र तेस्रो हुनेले जनही नगद १० हजार र ७ हजार ५ सयसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरी प्रतियोगितामा भेट्रानतर्फ महिला, पुरुष प्रथम हुनेले जनही नगद १० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने दोस्रो र तेस्रो हुनेले जनही ७ हजार ५ सय र ५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।
यसैगरी प्रतियोगितामा १६ वर्ष कम उमेर समूहले प्रतियोगितामा भाग लिन चाहे अभिभावकको अनुमति लिनुपर्ने व्यवस्था गरिएको रनका संयोजक गोपाल राईले जानकारी दिए । उनले १६ वर्ष उमेर मुनिका समूह फन रनमा मात्र समावेश हुने भएकाले पुरस्कारको हकदावी गर्न नपाउने समेत बताए । त्यस्तै, प्रतियोगितामा जातीय मौलिक तथा सांस्कृतिक भेषभूषामा पनि दौडिनेछन् भने आफ्ना आमाबुबालाई बोकेर दौडमा सहभागी हुने रनरले विशेष आकर्षक उपहार प्राप्त गर्ने संयोजक राईले बताए । उनले दौड पूरा गर्ने सहभागी रनरहरूलाई पनि प्रमाणपत्र र मेडलको व्यवस्था गरिएको बताउँदै सम्पूर्ण रनरहरुको लागि एकदिनको बिमा समेत गरिएको जानकारी दिए ।
मानव सभ्यताको सृष्टिकर्ता एवं किरातीहरुको आदिम पुर्खा सुम्निमा–पारुहाङको प्रतिमा निर्माणका लागि अहिले चिण्डेडाँडामा धमाधम निर्माण कार्य भइरहेको छ । करिब डेढ बिगाहा क्षेत्रफल रहेको जग्गा खरिदका लागि सुम्निमा– पारुहाङ प्रतिष्ठानले १२ करोडको हाराहारीमा खर्च गरिसकेको जनाएको छ । ५० करोड भन्दा बढीको लागतमा बनिन लागेको प्रतिमा निर्माणको शिलान्यास २०८२ मंसिर ९ गते प्रतिष्ठानका अध्यक्ष हर्क साम्पाङले गरेका थिए । सुम्निमा–पारुहाङको प्रतिमा शिलान्यास गर्नका लागि भोजपुरको शाल्पा पोखरीको पानी र सिलिचुङको माटो र ढुंगा ल्याएर शिलान्यास गरिएको थियो ।
सुम्निमा–पारुहाङ प्रतिमा निर्माणका लागि प्रतिष्ठानले गतवर्ष सांगीतिक साँझको आयोजना गरेको थियो भने यसवर्ष सुम्निमा रनको आयोजना गर्न लागिएको हो ।