धरानः मितेरी डेभलपमेन्ट बैंकले शेयरधनीलाई ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
बैंक सञ्चालक समितिको गएको असोज १० गते बसेको बैठकले ५ प्रतिशत बोनस सेयर र करसहित ६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
बैंकले हाल कायम चुक्ता पुँजी १ अर्ब ३१ करोड ९१ लाख रुपैयाँका आधारमा लाभांश प्रस्ताव गरेको जनाएको छ। प्रस्तावअनुसार बोनस सेयरको मूल्य ६ करोड ५९ लाख ५५ हजार रुपैयाँ र नगद लाभांशको रकम ७ करोड ९१ लाख ४६ हजार रुपैयाँ हुन्छ ।
बैंकले नेपाल स्टक एक्सचेन्जलाई पठाएको पत्रअनुसार लाभांश वितरणका लागि नेपाल राष्ट्र बैंकको स्वीकृति लिन बाँकी छ। स्वीकृति प्राप्त भएपछि बैंकको आगामी २१ औँ वार्षिक साधारणसभाबाट प्रस्ताव पारित गर्नुपर्नेछ । त्यसपछि मात्रै शेयरधनीले लाभांश पाउनेछन् ।
