धरानः धरानमा ‘सुम्निमा रन २०८३’ भव्यताका साथ सम्पन्न भएको छ । धरानमा धरान रन, गोर्खा रनपछि यो पनि पहिलोपटक नै चर्चामा आएको रन बन्यो । सुम्निमा रनमा पनि उत्तिकै लय देखियो । यसले पनि के सन्देश छरयो भने जे होस् स्वास्थ्यका लागि दौडिन्छ धरान ।
स्वास्थ्य, संस्कृति तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना भएको प्रतियोगिताको भेट्रान पुरुषतर्फ रेशम लिम्बू २२ मिनेट ५८ सेकेण्डमा दुरी पार गर्दै प्रथम बने । विमनसिंह तामाङ द्वितीय र विजय राई तृतीय बनेका छन् ।
यसैगरी भेट्रान महिलातर्फ जमुना लिम्बू बिजेता बनिन् । जमुना राई दोस्रो बनिन् भने कुसुम लिम्बू तेस्रो बनिन् । ओपन क्याटोगोरी पुरुषतर्फ अमिर लिम्बू, फुर्वा लिम्बू, पुरुलाक्पा शेर्पा क्रमशः प्रथम, द्वितीय र तृतीय घोषित भए । ओपन क्याटोगोरी महिलातर्फ जुलिन राई बिजेता घोषित भइन् भने दीक्षा राई द्वितीय र लक्ष्मी राई तृतीय बनिन् ।
यस्तै, सुपर भेट्रान अर्थात् ६० वर्ष उमेरमाथितर्फ रकमसिंह राई बिजेता बने । अन्डर १६ तर्फ पुरुषोत्तम राजधामी पहिलो, अविशेक परियार दोस्रो र रिजम राई तेस्रो बने । उनीहरूलाई खदा ओढाएर सम्मान गरियो । संस्कृति झल्किने लिम्बू पोशाक लगाएर दौडमा सहभागी बनेकी दिव्या लिम्बू सुब्बालाई खदा लगाएर सम्मान गरिएको थियो ।
समापन कार्यक्रममै पुरस्कार प्रदान गरिएको थियो । सुम्निमा रनका लागि दर्ता शुल्क ५ सय तोकिएको थियो । ४ किलोमिटर दुरी रहेको रनमा विभिन्न उमेर समूहमा विभाजन गरिएको थियो । जसमा १७ वर्षदेखि ३९ वर्ष समूहलाई खुल्ला समूहमा राखिएको थियो भने ४० वर्षदेखि ५९ वर्षसम्मलाई भेट्रान र ६० वर्षदेखि माथि उमेर समूहकालाई सुपर भेट्रान समूहमा राखिएको थियो ।
दौडमा खुल्ला समूहका महिला, पुरुष प्रथम हुनेले जनही १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने दोस्रो र तेस्रो हुनेले जनही नगद १० हजार र ७ हजार ५ सयसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । यसैगरी प्रतियोगितामा भेट्रानतर्फ महिला, पुरुष प्रथम हुनेले जनही नगद १० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो भने दोस्रो र तेस्रो हुनेले जनही ७ हजार ५ सय र ५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र दिइयो ।
कार्यक्रमका प्रमुख अतिथि सांसद् हर्कराज राई (साम्पाङ), चर्चित गायक राजेशपायल राई, सांसद् पूर्ण लिम्बू, अम्बिकादेवी सङग्रौलालगायतले बिजेता धावकधाविकालाई पुरस्कार प्रदान गरेका थिए । कार्यक्रममा हाम्रो धर्ती हाम्रो आकाश बोलको गीतमा प्रतियोगिता गराइनुका साथै ५ हजार नगद पुरस्कार समेत प्रदान गरिएको थियो ।
बिहान ७ बजे सिटी बजेपछि दौड शुरु भएको थियो । धरान–१३ स्थित जानकी चोक उत्तरतर्फ रहेको सर्दुखोलाको पुलबाट शुरु भएको दौड सुम्निमा पारुहाङ निर्माणस्थल चिन्डेडाँडामा पुगेर समापन भएको थियो । २६ सय ८३ जनाले फारम भरेको र उनीहरू सबैलाई टिसर्ट प्रदान गरिएको थियो भने अन्य टिसर्टबिनै पनि दौडिएका थिए ।
कार्यक्रममा बोल्दै सांसद् साम्पाङले प्रतिमा निर्माण ढिलाइ भएकोबारेमा प्रष्टयाएका थिए । उनले भनेजस्तै र हेर्नलायक बनाउने कन्सेप्टका साथ आफूहरु लागिपरिरहेकोले प्रतिमा निर्माण कार्यमा ढिलाइ भएको जानकारी दिए । ‘पशुपतिनाथ, बौद्ध, लुम्बिनीजस्तै विश्व सम्पदा सूचीमा सूचीकृत गराउने लक्ष्यका साथ लागिरहेका छौं’, उनले भने, ‘त्यही भएर पनि निर्माण कार्यमा ढिलाइ हुन गएको हो ।’ उनले प्रतिमा निर्माणमा कुनै शंकाउपशंका नगर्न आग्रह समेत गरे । ‘बजारमा चिया पसलमा अनेकौं कुरा हुनसक्छन् तर त्यसो होइन’, उनले भने, ‘म र हाम्रो टिम पारदर्शी हिसाबले अघि बढिरहेका छौं ।’
कार्यक्रममा चर्चित गायक राईले धरान आफ्नो कर्मथलो भएकोले प्रतिमा निर्माणका लागि ३ दिन श्रमदानमा आउने उद्घोष गर्दै थोरै गीत सुनाएर दर्शकलाई पनि गीत गाउन लगाए ।
मानव सभ्यताको सृष्टिकर्ता एवं किरातीहरुको आदिम पुर्खा सुम्निमा–पारुहाङको प्रतिमा निर्माणका लागि अहिले चिण्डेडाँडामा धमाधम निर्माण कार्य भइरहेको छ । करिब डेढ बिगाहा क्षेत्रफल रहेको जग्गा खरिदका लागि सुम्निमा– पारुहाङ प्रतिष्ठानले १२ करोडको हाराहारीमा खर्च गरिसकेको जनाएको छ । ५० करोड भन्दा बढीको लागतमा बनिन लागेको प्रतिमा निर्माणको शिलान्यास २०८२ मंसिर ९ गते प्रतिष्ठानका अध्यक्ष हर्क साम्पाङले गरेका थिए । सुम्निमा–पारुहाङको प्रतिमा शिलान्यास गर्नका लागि भोजपुरको शाल्पा पोखरीको पानी र सिलिचुङको माटो र ढुंगा ल्याएर शिलान्यास गरिएको थियो ।
सुम्निमा–पारुहाङ प्रतिमा निर्माणका लागि प्रतिष्ठानले गतवर्ष सांगीतिक साँझको आयोजना गरेको थियो भने यसवर्ष सुम्निमा रनको आयोजना गर्न लागिएको हो ।















































































