धरान: धरान-१२ स्थित पब्लिक हाईस्कुलमा कक्षा-११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीलाई कक्षा-१२ का विद्यार्थीले स्वागत गरेका छन्।
विद्यालयको प्राङ्गणमा शनिबार आयोजित स्वागत कार्यक्रममा विद्यालयका प्रधानाध्यापक डा. इन्द्रमोहन झाले नवआगन्तुक विद्यार्थीलाई स्वागत गर्दै उनीहरूको शैक्षिक विकास र उज्ज्वल भविष्यका लागि विद्यालय हरतरहले लागिपरेको बताए।
विद्यालय व्यवस्थापन समिति (विव्यस) का अध्यक्ष राजमनी निरौलाले कक्षा-११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत गर्दै सफल शैक्षिक यात्राका लागि शुभकामना व्यक्त गरे। कक्षा-११ का विद्यार्थीका तर्फबाट तमन्ना वान्तवा राईले स्वागत कार्यक्रम आयोजना गरेकोमा कक्षा-१२ का विद्यार्थीलाई धन्यवाद दिइन्।
कार्यक्रममा प्रधानाध्यापक डा. इन्द्रमोहन झा, विव्यस अध्यक्ष राजमनी निरौला, विव्यसका निवर्तमान अध्यक्ष हरिबहादुर कार्की, शिक्षक-अभिभावक संघका निवर्तमान अध्यक्ष राजेन्द्र किराँती लगायतले नवआगन्तुक विद्यार्थीलाई अबिर र खदा लगाएर स्वागत गरेका थिए।
सोही अवसरमा अध्ययन, खेलकुद तथा विभिन्न अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई सम्मानसहित पुरस्कार तथा छात्रवृत्ति वितरण गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरूले विभिन्न गीत तथा नृत्य प्रस्तुत गरी मनोरञ्जनात्मक वातावरण सिर्जना गरेका थिए ।
कार्यक्रमको संयोजन शिक्षक दिलीप चौधरीले गरेका थिए ।







