Hamro Koshi Aawaj

आइतबार, असोज १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान उपमहानगरपालिकाबाट राई गए, डा. शाही आउन मानेनन्, अदालत गए

हाम्रो कोशी आवाज
असोज १८ २०८३, आइतबार
धरान उपमहानगरपालिकाबाट राई गए, डा. शाही आउन मानेनन्, अदालत गए

धरानः धरान उपमहानगरपालिकाका प्रशासकीय अधिकृतको विदाइ गरिएको छ ।
प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत सहसचिव तीर्थराज राईको सरुवा भएपछि आइतबार उपमहानगरपालिकाले उनलाई विदाइ गरेको हो । उनलाई फिनेल प्रकरणकै कारण सरुवा गरिएको हल्ला चलेपनि त्यस्तो नभएको कार्यवाहक मेयर अइन्द्रविक्रम बेघाले जानकारी दिएका छन् ।
राईको विदाइसँगै धरान उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको पद रिक्त छ । सरकारले राईको स्थानमा सहसचिव डा. पुष्पराज शाहीलाई प्रमुख प्रशासकीय अधिकृतका रूपमा धरान खटाउने निर्णय गरेको थियो । तर, शाहीले आफ्नो सरुवा निर्णयविरुद्ध प्रशासकीय अदालतमा निवेदन दिएका छन् ।

सरकारले कर्मचारी व्यवस्थापनका क्रममा उनलाई धरान उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा खटाएको थियो । त्यसअघि उनी गृह प्रशासनबाट भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा आएका थिए । अतिरिक्त समूहबाट दरबन्दी रहेको कार्यालयमा खटाउने सरकारको निर्णयविरुद्ध शाहीले न्यायिक उपचारको बाटो रोजेका हुन् ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहबाट धरान उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा खटाइएका सहसचिव डा. शाही सरुवा निर्णयविरुद्ध प्रशासकीय अदालत पुगेका छन् ।
शाहीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारसमेतलाई विपक्षी बनाई सरुवा निर्णय बदरको मागसहित अदालतमा निवेदन दिएका हुन् । प्रशासनलाई प्राप्त प्रशासकीय अदालतको मुद्दासम्बन्धी विवरणअनुसार शाहीको निवेदन २०८३ असोज १५ गते दर्ता भएको छ । ०८३एआई००८३ दर्ता नम्बर रहेको मुद्दाको किसिम ‘अन्तरकालीन आदेशको निवेदन’ र विषय ‘सरुवा निर्णय बदर’ उल्लेख छ । अदालतको अभिलेखमा मुद्दाको स्थिति ‘चलिरहेको’ देखिन्छ । निवेदनमाथि असोज १६ गते न्यायाधीश डा. टेकबहादुर घिमिरे र आलोकचन्द्र श्रेष्ठको इजलासमा सुनुवाइ भएको हो ।
अदालतले ‘छलफलको लागि पेश गर्ने र सो अवधिसम्मका लागि अन्तरकालीन आदेश जारी गर्ने’ आदेश दिएको छ । यसको अर्थ शाहीको मागबमोजिम सरुवा निर्णय अन्तिम रूपमा बदर भइसकेको भने होइन । अदालतले अन्तरकालीन आदेशसम्बन्धी छलफलका लागि विपक्षीलाई समेत बोलाउने र उक्त अवधिसम्मका लागि अन्तरकालीन आदेश दिने निर्णय गरेको हो। अब हुने छलफल र त्यसपछिको आदेशले सरुवा कार्यान्वयनको तत्कालीन अवस्था थप स्पष्ट गर्नेछ । अहिले धरान उपमहानगरपालिका प्रशासकीय अधिकृतविहीन बन्न पुगेको छ ।

प्रकाशित मिति: असोज १८ २०८३, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend