धरानः धरानमा लागूऔषधसहित एक युवा पक्राउ परेका छन् ।
धरान उपमहानगरपालिका वडा नं. ८ फलामे पुलमा लागूऔषध कारोबार भइरहेको छ भन्ने प्राप्त सूचनाको आधारमा अस्थायी प्रहरी चौकी बरगाछीबाट खटिएको प्रहरी टोलीले धरान–८ बस्ने ३२ वर्षीय विमलराज धामीलाई शंका लागेर खानतलासी तथा चेकजाँच गर्दा लागूऔषध ब्राउन सुगर २.८१ ग्राम फेला परेको प्रहरीले जनाएको छ । लागूऔषधसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरान सुनसरीमा ल्याई थप अनुसन्धान गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै, सुनसरीको इनरुवामा मध्यराति काउली (बन्दाकोपी) बोकेको ट्रकबाट बरामद गरिएको गाँजा २५ सय ६६ किलोभन्दा बढी भएको छ ।
तौल लिँदा गाँजा २ हजार ५ सय ६६ किलो ५ सय ६० ग्राम भएको सुनसरी प्रहरीका निमित्त सूचना अधिकारी इन्स्पेक्टर हेमराज ओलीले बताए । ट्रकमा लोड गरिएको बन्दाकोपीको बीचमा लुकाएर लैजाँदै गरिएको गाँजा बरामद गरेर ट्रक चालक र सहचालकलाई पक्राउ गरिएको जानकारी उनले दिए ।
यसअघि तौल लिनुभन्दाअघि प्रहरीले गाँजा २४ सय ९० किलो भएको हुन सक्ने अनुमान गरेको थियो । इनरुवा नगरपालिका–३ स्थित सखुवागाछी चोकमा चेकजाँच गर्ने क्रममा ना ७ ख १८२५ नम्बरको ट्रकबाट आइतबार राति ११ः५० बजेतिर ८३ वटा बोरामा प्याक गरिएको अवस्थामा गाँजा बरामद भएको इन्स्पेक्टर ओलीले बताए । उनका अनुसार धनकुटाको सहिदभूमि गाउँपालिका–२ का ३३ वर्षीय राजु राईले चलाएको उक्त ट्रक पूर्वबाट पश्चिमतर्फ जाँदै थियो ।
ट्रकको पछाडिको भागमा काउली राखिएको र त्यसको बीचमा लुकाएर ओसारपसार भइरहेको अवस्थामा गाँजा फेला परेको जानकारी ओलीले दिए । ट्रकलाई नियन्त्रणमा लिएर गाँजा बरामद गर्दै प्रहरीले चालक राईसँगै सहचालक सहिदभूमि गाउँपालिका–२ का १८ वर्षीय सदीप राईलाई पक्राउ गरेको छ ।
दुवै जनाविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ ।
धनकुटासमेतका पहाडी जिल्लामा उत्पादन हुने गाँजा भारततर्फ कटाउन तरकारी बोकेको ट्रकमा लुकाएर ल्याइएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । सब्जीको आडमा ठूलो परिमाणमा गाँजा ओसारपसार भइरहेको खुलेपछि प्रहरीले घटनाको विस्तृत अनुसन्धान अघि बढाएको थियो ।
