धरानः धरान उपमहानगरपालिकामा दशैंको भाग, तिहारको भाग भन्दै पैसा माग्ने गुनासो बढेपछि सूचना जारी गरेको छ ।
विगत वर्षहरूमा पनि यस्ता गुनासो आएपछि यसपटक बेलैमा सूचना जारी गरेको वरिष्ठ वातावरणविद भेषराज अधिकारीले जानकारी दिए । ‘विगत वर्षहरूमा यस्ता घटना भइसकेका छन्’, उनले भने, त्यही भएर यसपटक बेलैमा सचेत गराइएको हो ।’
चाडबाडको समयमा धरान उपमहानगरपालिकाको सरसफाइकर्मी हौं भन्दै समूह नै बनाई चाडपर्व खर्चका नाममा पैसा असुल्ने गरेको गुनासो बढेपछि सूचना नै जारी गर्नुपरेको उनले जानकारी दिए । विशेषतः ‘दशैं भाग’ भन्दै पैसा माग्ने गुनासो आउन थालेको पनि उनले जानकारी दिए ।
यसरी सरसफाइ कर्मचारीको नाम लिएर जोसुकबाट त्यस्तो किसिमको रकम माग गरेको पाइएमा रकम नदिन र आफ्नो घर वरिपरी तथा नगर क्षेत्रभित्रका जुनसुकै स्थानमा यस किसिमको गतिविधि गरे जानकारी दिन उपमहानगरपालिकाले आग्रह समेत गरेको छ ।
