Hamro Koshi Aawaj

सोमबार, असोज १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

इटहरीमा सेवाग्राहीसँग घुस माग्ने इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

हाम्रो कोशी आवाज
असोज १९ २०८३, सोमबार
इटहरीमा सेवाग्राहीसँग घुस माग्ने इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

धरानः इटहरीमा घुस माग्ने इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
नेपाल विद्युत प्राधिकरण इटहरी वितरण केन्द्रका इन्जिनियर कृष्णनारायण यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई मुद्दा दायर गरेको हो । सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको पुष्टि भएपछि आयोगले यादवविरुद्ध सोमबार विशेष अदालतमा आरोपपत्र दायर गरेको जनाइएको छ ।
विद्युत लाइन जडानका लागि सहजीकरण गरिदिएबापत घुस लिएको भन्दै यादवलाई ५० हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो । अनुसन्धानका क्रममा विद्युत लाइन जडान तथा सो कार्यमा सहजीकरण गरिदिएबापत सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको पुष्टि भएको अख्तियारले जनाएको छ । अख्तियारले यादवविरुद्ध ५० हजार रुपैयाँ बिगो मागदाबी गर्दै आरोपपत्र दायर समेत गरेको छ ।
इटहरी उपमहानगरपालिका–८ स्थित वितरण केन्द्रमा कार्यरत यादवले गार्मेन्ट उद्योगमा २० केभी क्षमताको विद्युत् लाइन जडानका लागि सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा अख्तियारको इटहरी कार्यालयबाट खटिएको टोलीले उनलाई ५० हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानका क्रममा यादवले विद्युत् लाइन जडानको काममा बदनियतपूर्ण ढिलासुस्ती गरी सेवाग्राहीलाई अनावश्यक दुःख–हैरानी दिएर घुस दिन बाध्य बनाएको पुष्टि भएको अख्तियारले जनाएको छ।

प्रकाशित मिति: असोज १९ २०८३, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend