Hamro Koshi Aawaj

मंगलबार, असोज २० २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको सर्दुखोला छेऊको नयाँ सब स्टेशनको लागि टेण्डर खुल्यो

हाम्रो कोशी आवाज
असोज १९ २०८३, सोमबार
धरानको सर्दुखोला छेऊको नयाँ सब स्टेशनको लागि टेण्डर खुल्यो

धरानः धरान-१७ (सर्दु पुल पारी) मा २२० बाइ ३३ केभीको सब-स्टेशनको लागि टेण्डर आहवान भएको छ । धरानस्थित २२० केभी जीआइएस, ३३-११ केभी सबस्टेशन (सर्दु सबस्टेशन) निर्माणका लागि नेपाल विद्युत् प्राधिकरणले टेण्डर आहवान गरेको हो । यसले धरानबासीलाई थप आशा जगाएको छ । धरानको दीर्घकालीन विद्युत् समस्या समाधान गर्दै भरपर्दो विद्युत् सेवा सुनिश्चित हुने अपेक्षा गरिएको छ ।
अबको १८ महिनादेखि २ वर्षभित्रमा काम सम्पन्न हुने गरी टेण्डर आहवान भएको नेपाल विद्युत प्राधिकरण धरान वितरण केन्द्रका कार्यालय प्रमुख रामहरि पोखरेलले जानकारी दिए । प्राधिकरणको प्रशारण निर्देशनालयअन्तर्गत उच्च भोल्टेज ग्रिड विकास विभागले सोमबार बोलपत्र आहवान गरेको उनले जानकारी दिए ।
सम्पन्न भइसकेपछि धरानमा भोल्टेजको समस्या दीर्घकालीनरुपमा हल हुने साथै झयाप्प झयाप्प बिजुली गइरहने समस्या हल हुने कार्यालय प्रमुख पोखरेलले जानकारी दिए । ‘नयाँ सब-स्टेशन सञ्चालनमा आएपछि विशेषगरी गर्मीको समयमा धरानका विभिन्न क्षेत्रमा देखिने विद्युत् ओभरलोड, फिडरमा हुने समस्या तथा आपूर्ति अवरोध घट्नेछ ।’
टेण्डरमा काम सम्पन्न गर्न सम्झौता प्रभावकारी भएको मितिले २१ महिना अवधि तोकेको छ । ‘अब एक वर्षसम्म धरानमा बिजुली गइरहँदा जनतालाई दुःख होला’ उनले भने, ‘त्यसपछि दुहवी सबस्टेशनबाट आउने बिजुली पनि यहाँ आइरहनुपर्दैन, बिजुली झ्याप्प झ्याप्प गइरहने समस्या स्वतः हटेर जान्छ ।’ उनका अनुसार दुहवीबाट सप्लाइ हुने विद्युतकै कारण पनि धरानमा झयाप्प झयाप्प बिजुली बत्ती गइरहने हुन्थ्यो । त्यहाँबाट सप्लाइ भएर धरान आपूर्ति हुने विद्युतले धरान–इटहरीको जंगल क्षेत्रमा आइसकेपछि बढीजसो दुःख दिने गरेको थियो । जंगलका कारण रुख ढल्ने, रुखका पातपतिङगर साथै हाँगाबिगा झर्ने कारणले विद्युत आपूर्तिमा समस्या थोपरिरहन्थ्यो ।

यो सब स्टेशन धरानकै लागि निर्माण हुन लागेकोले धरानको मुहार फेरिने सक्ने आशा गर्न सकिने उनको भनाइ छ । उनका अनुसार सब स्टेशन बने भोल्टेजमा समस्या नआउँदा औद्योगिक क्षेत्रलाई थप बढवा दिन सकिन्छ । उनका अनुसार सब स्टेशन बनेपछि धरानका चौबिसै घण्टा बिजुली उपलब्ध हुनेछ भने भोल्टेज समस्या पनि हुनेछैन । जसले गर्दा धरानमा निर्माण हुन लागेको औद्योगिक ग्राममा उद्योग, कलकारखानालाई राहत हुनेछ ।
अहिले धरान हुँदै गएको राष्ट्रिय प्रसारण लाइनको ३३ केभी क्षमताको मात्र सबस्टेशन रहेको र यो सब स्टेशन बने भोल्टेजको समस्यालगायत अन्य समस्या हल हुने उनको भनाइ छ । ‘यो सब स्टेशन धरानको भोल्टेजलाई सुधार गर्ने लक्ष्य लिएर नै बन्न लागेको हो’, उनी थप्छन्, ‘वर्षौवर्षसम्म धरानलाई पुग्छ ।’
सबस्टेशनको डिजाइन, आपूर्ति, जडान, परीक्षण तथा सञ्चालनमा ल्याउने गरी बोलपत्र आहवान भएको र अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्रअन्तर्गत सिङगल स्टेज–टु इनभेलप प्रक्रियाबाट ठेक्का अघि बढाइने प्राधिकरणले जनाएको छ ।
टेण्डरमा सहभागी हुन इच्छुक कम्पनीले पछिल्ला १० वर्षमध्ये उत्कृष्ट तीन वर्षको औसत वार्षिक निर्माण कारोबार कम्तीमा २ अर्ब १५ करोड रुपैयाँ बराबर भएको प्रमाण पेश गर्नुपर्नेछ । त्यस्तै, समान प्रकृतिको कम्तीमा एउटा १ अर्ब ५५ करोड रुपैयाँ बराबरको काम सम्पन्न गरेको अनुभव हुनुपर्नेछ । बोलपत्र दस्तुर २० हजार रुपैयाँ तोकिएको छ । इच्छुक कम्पनीले २०८३ कार्तिक १९ गतेसम्म बोलपत्रसम्बन्धी कागजात खरिद गर्न सक्नेछन् । बोलपत्र कार्तिक २० गते दिउँसो १२ बजेसम्म पेश गर्नुपर्नेछ । बोलपत्रसँग कम्तीमा ६ करोड ४० लाख रुपैयाँ बराबरको बोलपत्र जमानत पेश गर्नुपर्नेछ । प्रि–बिड बैठक भने २०८३ असोज ३० गते बिहान ११ बजे आयोजना हुने जनाइएको छ ।
केही हप्ताअघि धरानमा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री विराजभक्त श्रेष्ठले सबस्टेशनको स्थलगत अनुगमन गरेका थिए । उनले अनुगमनसँगै त्यतिबेलै काम छिटो अघि बढाउन तथा धरानवासीलाई नियमित र गुणस्तरीय विद्युत् सेवा उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिएका थिए । धरानको विद्युत् आपूर्तिलाई थप भरपर्दो र सुदृढ बनाउन नयाँ ट्रान्सफर्मर जडान तथा सबस्टेशन स्तरोन्नतिको काम समेत अघि बढिसकेको छ ।

प्रकाशित मिति: असोज १९ २०८३, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend