धरानः भोजपुरमा झण्डै अढाई सय किलो गाँजासहित १९ वर्षे युवक पक्राउ परेका छन् । आमचोक गाउँपालिका-७, का एकराज मगरलाई प्रहरीले दुई सय ४४ किलो गाँजासहित पक्राउ गरेको हो । बिहान हतुवागढी गाउँपालिका-९, स्थित धिरिङ खोलाको बगरबाट उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनी सवार को.प्र.०१-०२-०४६ प ८६५१ नम्बरको मोटरसाइकलमा उक्त परिमाणमा गाँजा भेटिएको हो । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मोरङको जहदा गाउँपालिकाबाट सशस्त्र प्रहरीले २१० किलो गाँजा बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. ३ गण हेडक्वार्टर कंकालिनी मोरङ र बीओपी जहदा भुटाहाबाट खटिएको संयुक्त टोलीले सोमबार राति ९ बजेतिर गाँजा बरामद गरेको हो । विशेष सूचनाका आधारमा खटिएको टोलीले जहदा गाउँपालिका-१ नयाँ बस्तीस्थित धानबारीमा खोजतलास गर्ने क्रममा कालो प्लास्टिकमा प्याक गरेर लुकाइछिपाइ राखिएको अवस्थामा गाँजा फेला पारेको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी गेहेन्द्रबहादुर भण्डारीले बताए ।
उनका अनुसार २१० किलो गाँजा बरामद भएको हो । गाँजा कसले र कुन प्रयोजनका लागि उक्त स्थानमा लुकाएर राखेको थियो भन्ने यकिन छैन । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।