विराटनगर: विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको पहलमा अघि बढाइएको बृहत्तर खानेपानी परियोजना सञ्चालनको अन्तिम चरणमा पुगेको छ । परियोजना सम्पन्न भएपछि विराटनगरवासीले दशैंअघि नै नयाँ प्रणालीमार्फत दैनिक एक करोड लिटरभन्दा बढी खानेपानी पाउने भएका छन् ।
जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को करिब २ अर्ब ५४ करोड रुपैयाँ अनुदानमा सञ्चालित परियोजनाको मुख्य निर्माण कार्य सम्पन्न भइसकेको नेपाल खानेपानी संस्थान विराटनगरले जनाएको छ । परियोजना हस्तान्तरणका लागि अब करिब २५ दिन मात्र बाँकी रहेको संस्थानले जनाएको छ ।
परियोजनाको निर्माण अवधि सन् २०२६ अक्टोबरसम्म तोकिएको थियो । तर, अधिकांश निर्माण कार्य निर्धारित समयभन्दा अगावै सम्पन्न भएको हो । अहिले विद्युत् जडानलगायत केही प्राविधिक काम मात्र बाँकी छन् । ती काम पनि तत्काल सम्पन्न गरी दशैंअघि नै नयाँ प्रणाली सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।
नेपाल खानेपानी संस्थान विराटनगरका प्रमुख सन्तोष रौनियारका अनुसार परियोजनाको मुख्य निर्माण कार्य पूरा भइसकेको छ । ‘तोकिएको समयभन्दा अगावै अधिकांश काम सम्पन्न भएको छ । अहिले विद्युत् जडानलगायत केही प्राविधिक काम मात्र बाँकी छन् । ती काम पनि छिट्टै सक्ने गरी काम भइरहेको छ,’ रौनियारले भने, ‘दशैंअघि नै नयाँ प्रणालीबाट उपभोक्ताको घरघरमा पानी पुर्याउने तयारी छ ।’
९० लाखबाट एक करोड लिटरभन्दा बढी
परियोजना सञ्चालनमा आएपछि विराटनगरको खानेपानी उत्पादन तथा वितरण क्षमता उल्लेख्य रूपमा बढ्नेछ । अहिले दैनिक करिब ९० लाख लिटर पानी वितरण हुँदै आएकोमा नयाँ प्रणाली सञ्चालनमा आएपछि दैनिक एक करोड लिटरभन्दा बढी पानी वितरण गर्न सकिने संस्थानले जनाएको छ ।
परियोजनाअन्तर्गत खानेपानी उत्पादन, प्रशोधन र वितरण प्रणालीको क्षमता विस्तार गरिएको छ । पुराना संरचनाको सुधारसँगै नयाँ ओभरहेड ट्यांकी निर्माण, पाइपलाइन विस्तार तथा विद्युत् आपूर्ति क्षमता वृद्धि गरिएको छ ।
विराटनगरका देवकोटा चोक, तीनपैनी, मुनालपथ तथा विराटनगर–५ को कोचाखाल पश्चिममा रहेका संरचनाबाट खानेपानी वितरण गर्ने व्यवस्था मिलाइएको छ । कोचाखाल पश्चिममा परियोजनाअन्तर्गत नयाँ ओभरहेड ट्यांकी निर्माण गरिएको छ ।
पाइपलाइन र फिल्टर प्रणालीको क्षमता विस्तारसँगै खानेपानी वितरणमा देखिँदै आएको समस्या कम हुने र उपभोक्ताले नियमित तथा गुणस्तरीय पानी पाउने संस्थानको अपेक्षा छ ।
हाल विराटनगरमा नेपाल खानेपानी संस्थानका करिब १३ हजार २ सय ग्राहक छन् । परियोजना सञ्चालनमा आएपछि थप उपभोक्तालाई खानेपानीको पहुँचमा ल्याउन तथा तीव्र रूपमा बढिरहेको जनसंख्याको माग धान्न सहज हुने संस्थानले जनाएको छ ।
मेयर कोइरालाको पहलमा पूर्वाधार व्यवस्थापन
विराटनगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने मेयर नागेश कोइरालाको प्रतिबद्धताअनुसार परियोजना अघि बढाइएको हो । कोइरालाले सन् २०२६ सम्म विराटनगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए । परियोजना सञ्चालनको अन्तिम चरणमा पुगेसँगै उनको उक्त प्रतिबद्धता पूरा हुने क्रममा रहेको छ ।
परियोजना निर्माणका क्रममा आवश्यक जग्गा उपलब्ध गराउन सहजीकरणदेखि सडक र विद्युत् पूर्वाधार व्यवस्थापनसम्मका काममा महानगरपालिकाले सहजीकरण गरेको थियो । परियोजना कार्यान्वयनमा देखिएका स्थानीय तहसँग सम्बन्धित समस्या समाधान तथा आवश्यक पूर्वाधार जुटाउन मेयर कोइरालाले सक्रिय पहल गरेका थिए ।
मेयर कोइरालाकै पहलका कारण विराटनगरमा परियोजना सञ्चालनमा आएका नेपाल खानेपानी संस्थान विराटनगरका प्रमुख रौनियार बताउँछन् । ‘यदि मेयर साबले प्रभावकारी रुपमा पहल नगरेको भए जग्गा, विद्युत, सिक्सलेन सडक, समाजका विभिन्न क्षेत्रका व्यक्तिलगायतका समस्याले परियोजना फिर्ता पनि जान सक्थ्यो,’ प्रमुख रौनियारले भने, ‘यो परियोजना विराटनगरमा आउनुमा उहाँको ठूलो योगदान छ ।’
मेयर कोइरालाकै पहल र सहजीकरणका कारण परियोजनाका लागि आवश्यक संरचना निर्माण तथा पूर्वाधार व्यवस्थापनमा सहजता भएको उनको भनाइ छ ।
मेयर कोइरालाले पनि परियोजना सफल बनाउन निकै मेहनत गरेको बताए । ‘वडा–वडामा समस्या थियो । आफ्नो घर अगाडिको सडक भत्काउन नदिने अडान स्थानीयवासीसँगै सामाजिक अभियन्ताहरु थियो । तर उहाँहरुलाई कन्मिन्स गराएर सडक खन्ने वातावरण मिलायौं,’ उनले थपे, ‘सडक मात्रै होइन विद्युतको पनि समस्या थियो । सबै क्षेत्रसँग सहजीकरण गरेर परियोजना अगाडि बढाउने वातावरण निर्माण गरिएको थियो । आज परियोजनाको काम सकिँदा धेरै नै खुसी लागेको छ ।’
लामो समयदेखि खानेपानीको पर्याप्तता, नियमितता र गुणस्तरको समस्या झेल्दै आएका विराटनगरवासीका लागि परियोजना सञ्चालनसँगै ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ । दशैंअघि परियोजना सञ्चालनमा आएमा विराटनगरवासीले नयाँ प्रणालीबाट थप क्षमताको खानेपानी पाउनेछन् ।
यससँगै ‘शुद्ध खानेपानीसहितको व्यवस्थित विराटनगर’ बनाउने महानगरको योजनाले पनि मूर्त रूप लिने अपेक्षा गरिएको छ । अशुद्ध खानेपानीकै कारण विगतमा विराटनगरमा जन्डिससमेत फैलिएको थियो । जन्डिसका कारण १४ जनाको मृत्यसमेत भएको थियो ।