धरानः प्रहरीले धरान-८ तीनकुनेमा भन्सार छलेर ल्याएका सामान बरामद गरेको छ ।
भन्सार छली ल्याइएका करिब १ लाख ६२ हजार ६१० रुपैयाँ बराबरको किराना सामान बरामद भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
बुधबार अस्थायी प्रहरी चौकी तीनकुने र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले ती सामान बरामद गरेको जनाएको छ । यात्रुबाहक बस चेकजाँच गर्ने क्रममा सो सामान बरामद गरेको प्रहरीे जनाएको छ । प्रहरीका अनुसार चेकजाँचका क्रममा बिल तथा भन्सारसम्बन्धी आवश्यक कागजातबिनाका किराना सामान फेला परेपछि बरामद गरेर आवश्यक कानुनी कारवाहीका लाग सुनसरी भन्सार कार्यालय पठाइएको छ ।
यस्तै, प्रहरीले लागूऔषधसहित पक्राउ गरेको छ ।
इटहरी उपमहानगरपालिका वडा नं. ४ भेटघाट चोकमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र वडा प्रहरी कार्यालय इटहरी सुनसरीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले भेटघाट चोक भित्री बाटोमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को१५प ६३८९ नम्बरको मोटरसाइकल चालक इटहरी उपमहानगरपालिका वडा नं.४ बस्ने वर्ष ३० को अनिस श्रेष्ठलाई शंका लागि खानतलासी तथा चेकजाँच गर्दा ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ । उनको साथबाट १.५२ मिलीग्राम ब्राउन सुगर भेटिएको प्रहरीले जनाएको छ ।
इटहरी उपमहानगरपालिका वडा नं. १७ बस्ने शेलिस शेर्पाको घरमा तास खेलिरहेको छ भन्ने प्राप्त सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पकली सुनसरीबाट खटिएको प्रहरी टोलीले तास खेलिरहेको अवस्थामा १ बुङ तास र नगदसहित पाँचजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धादिङ ज्वालामुखी गाउँपालिका वडा नं. २ बस्ने वर्ष २७ को नारायण श्रेष्ठ, रामधुनी नगरपालिका वडा नं. १ बस्ने वर्ष ३६ को प्रेम विक, वर्ष ४७ को गौरीशंकर लुइँटेल, वर्ष ४२ को महेशलाल धामी, इटहरी उप–महानगरपालिका वडा नं. १७ बस्ने ४३ को लोकबन्धु कार्कीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी डिएसपी चन्द्रबहादुर खडकाले जानकारी दिए ।