धरानः कोशी प्रदेश प्रहरी कार्यालय विरानगरले विजयादशमी, दीपावली, छैठलगायतका चाडपर्वहरुलाई सुरक्षित बनाउन चाडपर्व सुरक्षा कार्य योजना २०८३ निर्माण गरी प्रदेशका १४ वटै जिल्लाहरुमा कुनै किसिमको अप्रिय घटना तथा दुर्घटनाहरू हुन नदिई आम नागरिकलाई हर्सोलास तथा आपसी सदभावका साथ मर्यादित, सुरक्षित र भयरहित वातावरणमा चाड पर्व मनाउने वातावरण सृजना गर्न प्रदेशभरी ८ हजार १३३ जना प्रहरी जनशक्ति परिचालन गरिएको जनाएको छ ।
राजमार्गमा सुरक्षित आवागमनका लागि २२ स्थानमा स्कर्टिङको व्यवस्था गरिएको छ भने प्रदेशभर ९८ मोबाइल गस्ती र २१५ पैदल गस्ती परिचालन गरिने डीआईजी खनालले जानकारी दिए ।
चाडपर्वको समयमा यात्रुको सुविधा र सुरक्षालाई मध्यनजर गर्दै यात्राका क्रममा आइपर्ने समस्यालाई तत्काल सम्बोधन गर्न कोशी प्रदेशका १४ वटै जिल्ला स्थित रहेका बसपार्क, बस स्टेण्ड, मुख्य राजमार्ग तथा सहायक मार्गका विभिन्न स्थानहरुका ७२ स्थानमा यात्रु सहायता कक्षको स्थापना गरिएको छ । सीमा नाकाहरुमा पटकाजन्य विष्फोटक पदार्थ भित्रिन नदिन मुख्य नाका तथा शंकास्पद एरिया इलाकाहरुमा तालिम प्राप्त कुकुर सहितको प्रहरी टोली परिचालन गरी कडाईका साथ चेकजाँचको ब्यवस्था मिलाइएको छ ।
चाडपर्वका बेला हुन सक्ने चोरी, लुटपाट, ठगी, झैझगडा, सवारी दुर्घटना तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गरी नागरिकलाई सुरक्षित वातावरणमा चाडपर्व मनाउने व्यवस्था मिलाउन प्रहरीले विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको हो ।
कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी शेखर खनालका अनुसार चाडपर्वमा बजार, सार्वजनिक यातायात, राजमार्ग, धार्मिक स्थल तथा आर्थिक कारोबार हुने स्थानमा मानिसको चहलपहल बढ्ने भएकाले नियमित सुरक्षासँगै विशेष निगरानी र आकस्मिक प्रतिकार्यलाई प्राथमिकता दिइएको छ।
चाडपर्वका बेला यात्रु ठगिने, सामान हराउने, चोरी हुने तथा यात्राका क्रममा विभिन्न समस्या भोग्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै प्रदेशभर ७२ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरी सञ्चालनमा ल्याइएको छ। चाडपर्वका बेला दर्शनार्थीको चाप बढ्ने धार्मिक तथा पर्यटकीय स्थलको सुरक्षाका लागि ५० स्थानमा विशेष व्यवस्था गरिएको प्रदेश प्रहरी प्रवक्ता एसएसपी योगेन्द्रसिंह थापाले जानकारी दिए ।
मठमन्दिर, शक्तिपीठ तथा पर्यटकीय गन्तव्यमा दर्शनार्थी र पर्यटकको सुरक्षित आवागमन, भिड व्यवस्थापन तथा चोरी नियन्त्रणलाई प्राथमिकतामा राखिएको उनले बताए। चाडपर्वका बेला बैंक तथा वित्तीय संस्थाबाट रकम झिक्ने, किनमेल गर्ने र घरमा नगद तथा गरगहना राख्ने क्रम बढ्ने भएकाले चोरी, लुटपाट तथा ठगी नियन्त्रणमा प्रहरीले विशेष ध्यान दिएको छ।
चाडपर्वका बेला बैंक तथा वित्तीय संस्थाबाट रकम झिक्ने, किनमेल गर्ने र घरमा नगद तथा गरगहना राख्ने क्रम बढ्ने भएकाले चोरी, लुटपाट तथा ठगी नियन्त्रणमा प्रहरीले विशेष ध्यान दिएको छ।
-मानिसको बढी भिडभाड हुने स्थान, चोक बजारहरुमा CC TV को निगरानी तथा आवश्यकता अनुसार ड्रोन क्यामेरा समेत परिचालन गरी निगरानी बढाई सुरक्षा व्यवस्था प्रभावकारी बनाईएको छ ।
-यात्रु सहायता कक्ष -७२: यात्रुहरूलाई आवश्यक सहयोग, सहजीकरण तथा सुरक्षा प्रदान गर्न, गुनासो सुनुवाइ गर्न र यात्राका क्रममा हुन सक्ने ठगी तथा अन्य समस्याबाट जोगाउन ।
-क्युआरटी (QRT)-४५३ : आपराधिक गतिविधि, झैझगडा, दुर्घटना तथा अन्य आकस्मिक घटनामा शीघ्र प्रहरी प्रतिक्रिया र उद्धारका लागि ।
-स्ट्राइकिङ -१५ : सुरक्षा संवेदनशील क्षेत्र तथा सम्भावित जोखिमयुक्त स्थानमा शान्ति सुरक्षा कायम गर्न आवश्यकताअनुसार तत्काल परिचालनका लागि ।
-ट्राफिकसहित संयुक्त चेकिङ- १७९ : सवारी दुर्घटना न्यूनीकरण, ट्राफिक नियमको पालना, मादक पदार्थ सेवन गरी सवारी चलाउने कार्य नियन्त्रण तथा अवैध गतिविधि रोकथामका लागि ।
-सीमानाकामा चोरी–तस्करी नियन्त्रण -८३: चोरी–तस्करी तथा सीमावर्ती अपराधहरू नियन्त्रण गर्न सीमानाकामा चेकजाँच तथा निगरानीको व्यवस्था ।
-मोबाइल गस्ती -९८: शान्ति सुरक्षा कायम राख्न, चोरी तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न र नागरिकमा सुरक्षाको अनुभूति अभिवृद्धि गर्न गस्ती परिचालन ।
-राजमार्ग स्कर्टिङ- २२: विशिष्ट व्यक्तिहरुको आवागमनलाई सहज बनाउन, चाडपर्वका समयमा यात्रु तथा सवारी साधनको सुरक्षित आवागमन सुनिश्चित गर्न र राजमार्गमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न ।
-पैदल गस्ती-२१५: बजार, भीडभाडयुक्त क्षेत्र, मेला, जात्रा तथा अन्य संवेदनशील स्थानमा शान्ति सुरक्षा कायम गर्न र चोरी, पाकेटमारी तथा उच्छृङ्खल गतिविधि नियन्त्रण गर्न परिचालन।
-पिकेट -५०३: सुरक्षा संवेदनशील क्षेत्र, मुख्य चोक, बजार तथा सार्वजनिक जमघट हुने स्थानमा नियमित निगरानी र सुरक्षा उपस्थिति कायम गर्न ।
-धार्मिक तथा पर्यटकीय स्थलको सुरक्षा-५०: चाडपर्वका समयमा धार्मिक स्थल, मठमन्दिर, शक्तिपीठ तथा पर्यटकीय गन्तव्यहरूमा दर्शनार्थी एवं पर्यटकको सुरक्षित आवागमन सुनिश्चित गर्न, भीड व्यवस्थापन गर्न र चोरी तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न ।
-महत्त्वपूर्ण प्रतिष्ठान तथा सरकारी कार्यालयको सुरक्षा-३४: सार्वजनिक सम्पत्तिको संरक्षण गर्न तथा अन्य सम्भावित अवाञ्छित गतिविधि नियन्त्रण गर्न ।
-बैंक तथा वित्तीय संस्था, सुनचाँदी कारोबार हुने एवं आर्थिक कारोबारका स्थानको सुरक्षा-५६: आर्थिक कारोबारका स्थानमा हुन सक्ने चोरी, लुटपाट, ठगी तथा अन्य आर्थिक अपराध नियन्त्रण गर्न र नागरिकको धनसम्पत्तिको सुरक्षा सुनिश्चित गर्न ।