Hamro Koshi Aawaj

आइतबार, असोज २५ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा अनाम नाट्य जमात सक्रिय बन्दै

हाम्रो कोशी आवाज
असोज २५ २०८३, आइतबार
धरानमा अनाम नाट्य जमात सक्रिय बन्दै

धरानः अनाम नाट्य जमातले सामाजिक विकृति, विसङ्गति, भ्रष्टाचार, बेरोजगारी तथा नागरिकका समस्या उजागर गर्ने उद्देश्यले तयार पारेको नाटक ‘देश खोजिरहेछु’ मञ्चन गर्ने भएको छ।
नाटकबारे जानकारी दिन आइतबार धरानमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार, असोज २८ गते बुधबार दिउँसो ३ बजे धरान-१९ स्थित हरियाली सामुदायिक भवनमा नाटक मञ्चन गरिनेछ।
विजय संयोक सुव्वाको लेखन तथा निर्देशन रहेको नाटकले किसानको पसिना, युवाको सपना, बेरोजगारीको पीडा, विदेशिन बाध्य युवाको कथा, सेवाग्राहीका दुःख, कर्मचारीतन्त्रको जटिलता, नेतृत्वप्रतिको प्रश्न तथा समाजमा देखिएका विकृति र विसङ्गतिलाई जीवन्त रूपमा प्रस्तुत गर्नेछ।
नाटकले कसैलाई दोषी ठहर गर्नुभन्दा पनि समाजका विद्यमान समस्यामाथि प्रश्न उठाउँदै दर्शकलाई सोच्न र समाधान खोज्न प्रेरित गर्ने लक्ष्य राखेको लेखक तथा निर्देशक सुव्वाले बताएका छन्। उनका अनुसार, मनोरञ्जनका माध्यमहरू विस्तार हुँदै गए पनि समाजका समसामयिक विषयमा बहस गर्ने र नागरिकलाई आफ्नो अधिकार तथा कर्तव्यप्रति सचेत बनाउने माध्यमका रूपमा रङ्गमञ्चको महत्त्व अझै उत्तिकै छ।
नाटकमा शारदा शाक्य, कुलचन्द्र न्यौपाने, कृष्ण तिम्सिना, सुजाता राई, स्वच्छता योगी र सत्कर्म योगीलगायत कलाकारले अभिनय गर्नेछन्। नाटकको प्रस्तुतिमा याक्थुङ चलचित्रकर्मी सङ्घ, नेपालको सहकार्य रहेको छ।
अनाम नाट्य जमातले यसअघि पनि रङ्गमञ्चमार्फत सामाजिक विषयवस्तु उठाउँदै आएको अनाम नाट्य रङ्गमन्चकी अध्यक्ष शारदा शाक्यले बताईन।। ‘देश खोजिरहेछु’ नाटकले पनि समाजका अनुत्तरित प्रश्नलाई उजागर गर्दै नागरिक र समाजबीच संवादको वातावरण निर्माण गर्ने अपेक्षा गरिएको याक्थुङ चलचित्रकर्मी सङ्घका केन्द्रिय अध्यक्ष नवीन सुब्बाले बताए।

प्रकाशित मिति: असोज २५ २०८३, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend