Hamro Koshi Aawaj

आइतबार, कार्तिक २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

दशैंमा मासु कति खाने ?

हाम्रो कोशी आवाज
कार्तिक २ २०८३, आइतबार
दशैंमा मासु कति खाने ?

चाडपर्वको बेलामा स्वास्थ्यको हेरचाह कसरी गर्ने ?
चाडपर्व आएसँगै हामीले आफ्नो स्वास्थ्यलाई विशेष ख्याल गर्नुपर्ने हुन्छ। मुख्यतः खानपानमा ध्यान दिनुपर्छ। हेभी खाना खाने र चिल्लो खानाका कारण पेट खराब भएर बिरामीहरु दशैं तिहारको बीचमा आउने गर्नुहुन्छ। यस्तै, हेभी खाना खाइ अपच भएर, डायरिया भएर आउने बिरामीहरुको संख्या धेरै हुने गर्छ। हामीले नियमित हेरिरहेका डायबेटिजका, कोलेस्ट्रोलका बिरामीहरु पनि दशैं, तिहार पछाडि आएर हामीलाई रिपोर्ट देखाउँदा सुगर बढेको, कोलेस्ट्रोलको मात्रा बढेको हामीले भेट्छौँ। युरिक एसिड बढेको हुन्छ। त्यसैले दशैंमा धेरै माछामासु खाएर आउने बिरामीहरु नै भेटेका छौँ। जसलाई स्वास्थ्य जोखिम भएको छ, उहाँहरुले ठिक्क मात्रामा मात्रै माछा–मासु खानुपर्छ। आवश्यकताभन्दा धेरै खाइयो भने रोगको जोखिम बढ्छ। खाँदाखेरी पनि घरमा पकाएको स्वस्थकर खानेकुराहरु खानुपर्छ।
खाना सँगसँगै पानीको मात्रा पनि बढाउनुपर्छ। कतिपय घाँटीहरु दुखेका, टन्सिलका बिरामीहरु पनि देख्छौँ। धेरैजसो दही, बाहिरका मिठाइहरु, चिल्लो खाएर, सिसीमा राखेको पुरानो अचारहरु खाएर आएका बिरामीहरु पनि देखेका छौँ। खाना त खानुपर्छ, तर चाडपर्वको बेला ठिक्क मात्रामा खानुपर्छ। स्वास्थ्यलाई नै हानी गर्ने गरी धेरै खानु भएन। खाना खाँदा सन्तुलन मिलाएर खानुपर्छ। चाडपर्व आउँदा धेरै नै खाएको पायौँ। अहिले चाहीँ विकृति बढेर जाँडरक्सी सेवन बढी भयो। त्यस्तो पनि हामीले देख्छौँ। चाडपर्वको बेला रक्सी खाएर गाह्रो भएर इमरजेन्सीमा आउनुभएका बिरामीहरु पनि हामीले भेट्छौँ। त्यो अलिकति कम गर्नुभयो भने स्वास्थ्यका लागि राम्रो हुन्छ।

मासु कति खाने ?
विश्व स्वास्थ्य संगठनले प्रतिदिन स्वस्थ आहारका लागि वयस्कहरूले प्रतिछाक लगभग ६० देखि ७० ग्राम मासु मात्र उपभोग गर्न सिफारिस गरेको छ । तर दशैंको समयमा मानिसहरूले २०० देखि ४०० ग्रामसम्म प्रतिदिन मासु उपभोग गरिरहेका हुन्छन ।
दशैंको समयमा मासु सजग भएर खाने हो भने बढीमा ८० ग्रामसम्म मासु खान उपयुक्त हुन्छ । मासुसँगै फाइबर खाएमा मासु पच्न सघाउ हुन्छ । मासुको मात्रा घटाउन फाइबरयुक्त फलफूल र सलादपछि मात्र मासु सेवन गर्नु उचित हुन्छ । यसरी खाँदा प्रोटिन सन्तुलित मात्रामा शरीरले पाउँछ । शरीरको फ्याट र कोलेस्टेरोललाई भार पुग्दैन ।
अत्यधिक मात्रामा मासु खाँदा हुनसक्ने जोखिम ?
अत्यधिक मासुको सेवनले यसै पनि पाचनप्रक्रियामा भार पर्छ । किनकि बिहान खाएको खाना नपच्दै पेटमा अर्को खानेकुरा पुग्दा पाचनप्रक्रियामा समस्या भइरहेको हुन्छ । मासुमा उच्च प्रोटिन हुने भएकाले पेट र कलेजोले राम्रोसँग काम गर्न सक्दैन ।
त्यसमा पनि रातो मासु धेरै खाँदा पेट फुल्ने, अपच हुने, कब्जियत हुने जस्ता सामान्यदेखि दीर्घकालीन रूपमा कोलेस्टेरोल, रक्तचापमा वृद्धिको जोखिम बढाउन सक्छ । कलेजोले मासु पचाउने काम गर्छ । समयको अन्तर नै नराखी खाँदा कलेजोलाई सक्रिय भई काम गर्नुपर्छ ।
सजिलो गरी बुझ्दा मासु पच्न समय लाग्ने होइन, बोसो पच्न समय लाग्ने हो । कार्बोहाइड्रेट, फाइबरयुक्त खाना खाएको केही घण्टामा पच्ने गर्छ भने मासुमा भएको बोसो पचाउन कलेजोबाट एउटा छुटै पित्त सानो आन्द्रामा आएपछि मात्र पच्छ ।
यति गर्दा पनि मासु नपचेर शरीरमा बोसो जम्मा हुँदै जान्छ । यसबाट मोटोपन, उच्च रक्तचाप, मधुमेह, ग्यास्ट्रिक, पेट गडबडी हुने र मलद्वारको समस्या कब्जियत लगायत समस्या निम्त्याउने सम्भावना हुन्छ । यसलाई हेलचेक्र्याइँ गरेमा अल्सर र मुटुरोगको जोखिम हुन्छ ।
शाकाहारी खानेकुरा पनि अत्यधिक खान हुँदैन
शाकाहारीले दशैंमा सबैभन्दा बढी पनिर खाने गर्छन् । ठिक्क खाँदा कुनै हानि गर्दैन । तर फाइदा गर्छ भन्दैमा लगातार बढी खाएमा भने यसले पनि समस्या निम्त्याउँछ ।
नियमित औषधि सेवन गरिरहेको बिरामीहरुले के-के कुरामा ख्याल गर्नुपर्छ ?
नियमित औषधि खाने बिरामीहरु मुख्यतः रक्तचाप र सुगर रोग, कोलेस्ट्रोलका बिरामीहरुले औषधि चाहीँ नियमित खानुपर्‍यो। यस्तै कतिपय बिरामीहरु त चिकित्सकको फलोअप (निगरानी)मा नगएको पनि हामीले देखेका छौँ। औषधि पनि नखाने, खाना पनि सन्तुलित रुपमा नखाने गर्दा स्वास्थ्य जोखिम आएको हामीले देखेका छौँ। दशैं, तिहारको बेला काठमाडौं (आफू बसेको शहर) बाहिर जादैँ हुनुहुन्छ, फलोअपमा आउनलाई त्यति सजिलो छैन भने पुग्नेगरी औषधि लिएर जानु उपयुक्त हुन्छ।
उच्च रक्तचाप, मधुमेह लगायतको समस्या भएकाले माछा मासु खाँदा विशेष ख्याल गर्नुपर्ला नि ?
माछा मासु खानै नहुने होइन। हामीले कोलेस्ट्रोल भएकाले रातो मासु अलिक कम गर्नु भन्छौँ। तर मासु खाँदै नखाने भन्ने होइन। रातो मासुमा पनि पौष्टिक आहारहरु हुन्छन्। भिटामिन–१२ त्यसमै हुन्छ। खाँदै नखाँदाखेरी कोलेस्ट्रोल व्यालेन्स गर्ने नाममा भिटामिन–१२ डिफिसियन्सी भएर कमजोरी हुन्छ। १५ दिनमा एकपटक रातो मासु खाँदा केही फरक पर्दैन। रातो मासु खान नहुनेलाई चिकेन, माछा पनि अप्सन छ। यस्तै, अण्डा, गेडागुडीहरु खान भन्छौँ। माछा–मासु खानै नहुने भन्ने होइन, तर सन्तुलित रुपमा ठिक्क गरेर खान मिल्छ। सकभर बाहिरको खाना नखानुहोस्। बाहिरको स्वस्थकर नहुन सक्छ। होटेलहरुको धेरैपटक तेलमा पकाएको खानाहरु नखानुहोस्। यसले स्वास्थ्य जोखिम बढाउँछ।

प्रकाशित मिति: कार्तिक २ २०८३, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend