Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

अब स्वास्थ्य बीमा नवीकरण स्थानीय तहबाटै डिजिटल माध्यमबाट गर्न सकिने

हाम्रो कोशी आवाज
कार्तिक १८ २०८३, बुधबार
अब स्वास्थ्य बीमा नवीकरण स्थानीय तहबाटै डिजिटल माध्यमबाट गर्न सकिने

धरानः स्वास्थ्य बीमा कार्यक्रममा नागरिकको सामूहिक आबद्धता तथा नवीकरण अब प्रदेश र स्थानीय तहबाटै डिजिटल माध्यमबाट गर्न सकिने भएको छ ।
स्वास्थ्य बीमा बोर्डले प्रदेश र स्थानीय तहबाटै अनलाइन माध्यमबाट यस्तो सेवा लिन सकिने व्यवस्था सुरु गरेको छ ।
बोर्डले एचआईबी ई–पोर्टलमार्फत प्रदेश तथा स्थानीय तहका लागि डिजिटल सामूहिक आबद्धता र नवीकरण सेवा सञ्चालनमा ल्याएको हो ।
यसअघि प्रदेश तथा स्थानीय तहले आफ्नो बजेटबाट लक्षित वर्ग, विपन्न नागरिक, कर्मचारी वा अन्य लाभग्राहीलाई निःशुल्क स्वास्थ्य बीमामा आबद्ध गराउँदा कागजी प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्था थियो ।
स्थानीय तहले दर्ता सहयोगीमार्फत नागरिकको विवरण संकलन गरी फारम भर्ने, जिल्ला कार्यालयमा बुझाउने र त्यसपछि योगदान रकम भुक्तानी गर्ने प्रक्रिया अपनाउँदै आएका थिए ।
नयाँ व्यवस्थाअनुसार अब स्थानीय तहले बोर्डबाट प्राप्त प्रयोगकर्ता पहुँच (युजर आईडी)मार्फत आफ्नै ड्यासबोर्डबाट नागरिक तथा परिवारको विवरण प्रविष्ट गरी सामूहिक रूपमा बीमामा आबद्ध गराउन सक्नेछन् । विवरण अनलाइनबाटै पेस गरेपछि बीमा कार्डसमेत प्रणालीबाटै तयार हुनेछ । योगदान रकमको हिसाब र भुक्तानी पनि सोही पोर्टलबाट गर्न सकिनेछ ।
बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार यस प्रणाली विशेषगरी प्रदेश तथा स्थानीय तहले आफ्नै स्रोतबाट नागरिकलाई स्वास्थ्य बीमामा आबद्ध गराउँदा सहज होस् भन्ने उद्देश्यले विकास गरिएको हो ।
‘पहिला स्थानीय तहले नागरिकको विवरण संकलन गरेर फारम भर्ने, जिल्ला कार्यालयमा बुझाउने र भुक्तानीका लागि छुट्टै प्रक्रिया पूरा गर्नुपर्ने अवस्था थियो । अब पालिकालाई पोर्टलको पहुँच दिएपछि आफ्नै ड्यासबोर्डबाट विवरण भर्न, आबद्ध गर्न र कार्ड तयार गर्न सकिन्छ,’ मल्लले भने ।
उनका अनुसार नयाँ प्रणालीले दुर्गम क्षेत्रका स्थानीय तहलाई थप सहज हुनेछ । यसअघि योगदान रकम जम्मा गर्न जिल्ला सदरमुकामसम्म पुग्नुपर्ने वा बैंकमार्फत भुक्तानी गर्नुपर्ने अवस्था थियो । अब डिजिटल प्रणालीबाटै भुक्तानी गर्न सकिने भएकाले प्रशासनिक झन्झट र समय घट्ने बोर्डले जनाएको छ ।
प्रदेश तथा स्थानीय तहले आफ्ना लक्षित वर्गलाई स्वास्थ्य बीमामा आबद्ध गराउने कामलाई पनि यसले सहज बनाउने मल्लले बताए ।

प्रकाशित मिति: कार्तिक १८ २०८३, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend