धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्यान्सरसम्बन्धी अन्तर्राष्ट्रियस्तरको कार्यशाला सम्पन्न भएको छ ।
प्रतिष्ठानको अन्कोलोजी डिभिजनको आयोजना तथा बीपीकेआइएचएस् स्टुडेन्टस् अन्कोलोजीको संयोजकत्वका साथै हेल्थ भोलुन्टियर्स ओभरसिज संयुक्त राज्य अमेरिकाको सहयोग तथा नेपाल हस्पिस केयर सेन्टर धरानको आयोजनामा गरिएको अन्तर्राष्ट्रियस्तरको कार्यशाला आयोजना भएको थियो । कार्तिक १९ र २० गते सम्पन्न भएको कार्यशालामा समुदायलाई क्यान्सर उपचार सेवासँग जोड्दैः कोशी प्रदेशमा क्यान्सर स्क्रिनिङ तथा प्रारम्भिक पहिचानको प्रवद्र्धन मूल नारा रहेको थियो । कार्यशालाको प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. शिवेन्द्र झाले उद्घाटन गरेका थिए ।
कोशी प्रदेशमा क्यान्सरको बढ्दो चुनौतीलाई सम्बोधन गर्दै क्यान्सरको रोकथाम, समयमै पहिचान, स्क्रिनिङ तथा उपचार सेवामा समुदायको पहुँच विस्तार गर्ने उद्देश्यले आयोजित दुईदिने कार्यशालाले समुदायस्तरदेखि विशेषज्ञ उपचार सेवासम्म क्यान्सर नियन्त्रणका लागि आवश्यक सहकार्य र समन्वयलाई प्राथमिकता दिएको छ ।
कार्यक्रमको उदघाटन सत्रमा प्रतिष्ठानका रेक्टर प्रा.डा. शिवेन्द्र झा र प्रदेश सचिव डा किर्तिपाल सुवेदीले बोलेका थिए भने भने कार्यशालाको उद्देश्य तथा अपेक्षित उपलब्धिबारे प्रतिष्ठानकी अन्कोलाजी डिभिजनकी प्रमुख डा. सोनिया दुलालले प्रकाश पारिन् । पूर्वी नेपालमा अन्कोलोजी जनशक्तिको क्षमता अभिवृद्धिका लागि नीति, परोपकार र अग्रपंक्तिका स्वास्थ्यकर्मीबीचको सहकार्यको आवश्यकताबारे अमेरिकाबाट आएकी आयोजना निर्देशक डा. मेलानी थोमसले प्रस्तुति दिइन् ।
कार्यशालाको मुख्य उद्देश्य अग्रपंक्तिमा रहेर स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीहरूको क्यान्सरसम्बन्धी ज्ञान, सीप र क्षमता अभिवृद्धि गर्नुका साथै समुदायमा क्यान्सरका प्रारम्भिक लक्षण पहिचान, जनचेतना अभिवृद्धि र समयमै स्वास्थ्य संस्थामा प्रेषण गर्ने प्रणालीलाई सुदृढ बनाउनु हो । विशेषगरी महिला स्वास्थ्य स्वयंसेविका, नर्सिङ कर्मचारी तथा अन्य समुदायस्तरका स्वास्थ्यकर्मीहरूलाई सो कार्यशालामा सहभागी गराइएको थियो र क्यान्सरको प्रारम्भिक पहिचानमा सक्षम बनाउने विषयमा जोड दिइएको थियो ।
पहिलो दिन पाठेघरको मुखको क्यान्सर स्क्रिनिङसम्बन्धी सत्र डा. सूर्यप्रसाद रिमालले, स्तन क्यान्सर स्क्रिनिङसम्बन्धी सत्र प्रतिष्ठानकी ब्रेस्ट एण्ड इण्डोक्राइन सर्जन डा. शारदा खड्काले र फोक्सोको क्यान्सर स्क्रिनिङसम्बन्धी सत्र पल्मोनरी विभागका डा. अग्रज उप्रेतीले सञ्चालन गरे । यसैगरी, क्यान्सर स्क्रिनिङलाई कोशी प्रदेशभर प्रभावकारीरूपमा कार्यान्वयन गर्ने विषयमा आयोजित प्यानल छलफलको सहजीकरण नेपाल हस्पिस एण्ड पेलिएलिटभ केयरका प्रा.डा. विष्णुदत्त पौडेलले गरे । समुदायदेखि प्राथमिक स्वास्थ्य सेवा हुँदै बीपी प्रतिष्ठानसम्म बिरामीलाई समयमै प्रेषण गर्ने प्रभावकारी रेफरल प्रणालीबारे छलफल गरिएको थियो । सो छलफलमा प्रतिष्ठानकी परिक्षा डीन प्रा.डा. अन्जु प्रधान, डा. मेलानी थोमस, प्रदेश सरकारका प्रतिनिधि, धरान उपमहानगरपालिका स्वास्थ्य विभागका प्रमुख, सामाजिक संघसंस्था, फार्मेसी एसोसिएसन र सञ्चार क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
दोस्रो दिन ग्याष्ट्रिक तथा कलेजोको प्राथमिक क्यान्सर स्क्रिनिङसम्बन्धी सत्रमा ग्यास्ट्रोमेडिसिन विभागका डा. प्रकाश सापकोटा र जीआई सर्जरी विभागका डा. बरुणेन्द्र योगीले प्रस्तुति दिए । मुख तथा टाउको–घाँटीको क्यान्सर स्क्रिनिङसम्बन्धी सत्र इएनटी विभागका डा. दीपक पौडेल र हस्पिस् केयर धरानकी डा. कश्मिरा पोखरेलले सञ्चालन गरिन् । समुदायमा क्यान्सरको प्रारम्भिक पहिचान र बिरामीको उपचार यात्रामा फार्मासिस्टको भूमिकाबारे प्रा. डा. विष्णुदत्त पौडेल र डा. सोनिया दुलालले सहजीकरण गरिन् । साथै, समुदायमा गाँठो वा अन्य शंकास्पद लक्षण देखिएदेखि क्यान्सरको निदान र उपचारसम्मको बिरामीको यात्राबारे सामुदायिक नर्सिङ विभागले प्रस्तुति दिएको थियो ।
समग्रमा, यस कार्यशालाले क्यान्सर नियन्त्रण केवल अस्पताल वा विशेषज्ञ चिकित्सकको जिम्मेवारी नभई समुदाय, स्वास्थ्यकर्मी, स्थानीय सरकार, नीति निर्माता र सामाजिक संस्थाहरूको साझा दायित्व हो भन्ने सन्देश दिएको छ । कोशी प्रदेशमा समुदायमा आधारित क्यान्सर स्क्रिनिङ, प्रारम्भिक पहिचान, समयमै रेफरल र गुणस्तरीय उपचार सेवाबीच प्रभावकारी सम्बन्ध स्थापित गर्दै दिगो क्यान्सर नियन्त्रण प्रणाली विकास गर्नु यस कार्यशालाको दीर्घकालीन लक्ष्य रहेको जनाइएको छ ।
कार्यक्रम सहभागीहरूलाई प्रमाणपत्र लगायत मायाको चिनो वितरण गर्दै कार्यशाला समापन गरिएको थियो । कार्यक्रमले नेपालको क्यान्सर उपचार प्रणालीलाई तल्लो तहदेखि नै सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ भने सहभागी सम्पूर्णले कार्यशाला अत्यन्तै फलदायी रहेको बताउँदै भविष्यमा यस प्रकारका कार्यक्रमहरूलाई देशव्यापी बनाउनुपर्ने कुरामा जोड दिइएको प्रतिष्ठानका प्रवक्ता प्रा.डा. शमशेर श्रेष्ठले जानकारी दिए ।






