गोविन्दराज ओझा (राजन)
तिमी नै प्रेमको ऋतु
प्रेममा डुबेको मनले
संसारभरि भीड देखेपनि
आफ्नो आँखाको आकाशमा
एउटै जुन मात्र राख्छ
त्यो जुन तिमी हौ,
मेरो धड्कनको मौन सङगीत तिमी हौ
तिम्रो एउटा मुस्कानले
थाकेको साँझलाई बिहान बनाउँछ,
तिम्रो एउटा बोलीले
उदास मनमा दीप बाल्छ ।
तिम्रा शब्दहरू अक्षर मात्र होइनन्,
मनले बारम्बार पढिरहने
कुनै पवित्र मन्त्रजस्ता छन् ।
तिमी आएपछि
वसन्तले आफ्नो हरियाली बिर्सियो,
गुलाफले आफ्नो सुवास तिमीसँग साट्यो,
पहाडले शीतलता तिमीबाट सिक्यो,
र नदीले बग्ने अर्थ
तिम्रो आँखाबाट बुझ्यो
तिम्रा हातमा
निष्कलङ्क बिहानको उज्यालो छ,
औंलाहरूमा स्नेहका रेखा छन्,
ओठमा लुकेको मुस्कान छ,
र लाजले झुकेको अनुहारमा
अझै नलेखिएको प्रेमकथा छ
तिमी नजिक हुँदा
हावा पनि सुगन्ध बोकेर आउँछ,
तिमी टाढा हुँदा
त्यही हावा विरहको सन्देश बन्छ
दुरीले शरीर छुटाएपनि
स्मृतिले मन कहाँ छुटाउँछ र ?
म तिम्रो सिउँदोमा
सिन्दूरको उज्यालो देख्न चाहन्छु,
तिम्रो जीवनको यात्रामा
आफ्नो नाम होइन,
आफ्नो निस्वार्थ साथ
सधैं लेख्न चाहन्छु
सरस्वतीले कलम दिइन् भने
तिम्रो रूप मात्र कहाँ लेखूँला र ?
तिम्रो सरल हृदय,
तिम्रो ममताको गहिराइ,
तिम्रो मौनताभित्र लुकेको प्रेम—
यी सबैलाई शब्द दिन
सायद एउटा जीवन पनि कम पर्ला
कहिलेकाहीँ प्रेम
मिलनको फूल मात्र हुँदैन,
विछोडको काँडा पनि बन्छ
आँखाबाट झरेको आँसु
कहिलेकाहीँ गीत बनेर आउँछ,
र मुटुको गहिरो घाउ
कुनै धुनमा संसारभरि सुनिन्छ
जसले साँचो प्रेम गरेको छ,
उसलाई प्रेम प्रमाणित गर्न
हजार शब्द चाहिँदैनन—
एउटै अनुहार पर्याप्त हुन्छ,
एउटै सम्झना पर्याप्त हुन्छ,
एउटै धड्कन पर्याप्त हुन्छ
तिमी मेरो गीतको स्वर होइनौ मात्र,
तिमी त गीत जन्मिने कारण हौ
तिमी मेरो कविताको उपमा होइनौ,
तिमी त कविता लेखिनुको अनुभूति हौ
ऋतु फेरिए पनि
यो मनको मौसम फेरिने छैन,
फूल ओइलाए पनि
तिम्रो स्मृति ओइलाउने छैन
नदीले बाटो बदले पनि
मेरो प्रेमको दिशा बदलिने छैन
किनकि मेरो संसारमा
प्रेमको अर्को नाम नै तिमी हौ
-मेलमार्फत्